वैदेशिक रोजगारीमा महिलाको बिचल्ली
रोजगारीका लागि बिदेसिनेमा पुरुषमात्रै छैनन्, महिला पनि छन् । दुःख र हन्डर दुवैले पाएका छन् । महिलाका हकमा भने घरेलु कामदार बनाउनेदेखि विभिन्न खाले शोषण हुने गरेको छ । त्यसमा पनि नेपालबाट सबैभन्दा धेरै महिला वैदेशिक रोजगारीमा गएको जिल्ला सिन्धुपाल्चोकमा दुःखदर्दका अनेकौं आयाम देखिन्छन् । कुनै महिलाले विदेशमै ज्यान गुमाएका छन्, कोही अलपत्र परेका छन् त कोही ठगिएका छन् । १६ देखि ४५ वर्षका महिलाको संख्या धेरै छ विदेश जानेमा । साउनदेखि मंसिरसम्ममा मात्रै १ हजार ७५ जनाले श्रमस्वीकृति लिएर वैदेशिक रोजगारी गए । सरकारी तथ्यांक भन्छ— सिन्धुपाल्चोकका १८ हजार ५ सय जना महिला वैदेशिक रोजगारीका लागि बिदेसिएका छन् । मुलुकभरमै सबैभन्दा दोस्रो ठूलो संख्या हो यो महिलाका हकमा ।
गरिबी, बेरोजगारी र देखासिकी नै महिला वैदेशिक रोजगारीमा जाने प्रमुख कारण हो । पहिलो कारण पक्कै पनि स्वदेशमा रोजगारी नपाउनु नै हो । तर रोजगारी यता नपाएर छटपटिँदै उता पुग्नेहरूले जुन हन्डर र ठक्कर खान्छन् अनि तावाबाट उम्केको माछा भुंग्रोमा परेको हालत हुन्छ । कुबेत, बहराइन, साउदी अरेबियालगायत मुलुक सिन्धुपाल्चोकका महिलाको वैदेशिक रोजगारीको गन्तव्य सूचीमा छ । यी मुलुक आफैंमा मानवअधिकार नभएका मुलुक हुन् । जहाँ प्रजातन्त्र छैन र अभिव्यक्ति स्वतन्त्रताको अभाव छ । अन्यायमा पर्दा गुहार पाउन मुस्किल छ । त्यसमाथि पनि विदेशी अनि नेपाली र महिला हुँदा शोषण र ठगीबाट उन्मुक्ति पाउने उपाय निकाल्न मुस्किल छ ।
वैदेशिक रोजगारीका पीडा एकातिर छ, अर्काेतिर पारिवारिक बिखण्डन र अस्वीकार्यको पीडा पनि वैदेशिक रोजगारीमा ठगिने र शोषणमा पर्ने महिलाले भोग्नु परेको छ । अझ वैदेशिक रोजगारीमा जानेभन्दा यहीं स्वदेशमै दलालको फन्दामा परेर ठगिने पनि छन् । एक त महिला वा पुरुष जोसुकैलाई पनि सरकारले स्वदेशमै रोजगारी गर्ने अवसर दिलाउनुपर्ने हो । उद्यम, इलम धन्दा गर्ने वातावरण दिनुपर्ने हो । तै वैदेशिक रोजगारीमा जानुपर्ने खण्डमा सुरक्षित गन्तव्यको व्यवस्था गर्नुपर्ने हो । त्यसमा राज्य चुकेको छ । विदेशमा अलपत्र परेकाहरूको उद्धारमा पनि सरकार उतिसारो चुस्त छैन । राज्य र सरकारको अकर्मण्यताको परिणाम नै महिलाले स्वदेश र विदेश दुवैतिर बिचल्लीमा पर्नुपरेको छ । यस्तो दुष्चक्रबाट मुक्तिको उपाय छिटो निकालिनुपर्छ ।