जेएन.१ भेरियन्टबारे बेखबर, नाकामा छैन सतर्कता

जेएन.१ भेरियन्टबारे बेखबर, नाकामा छैन सतर्कता
कैलालीको गौरीफन्टा नाकाबाट स्वदेश आउँदै गरेका नेपाली । तस्बिर : शिवराज भट्ट

छिमेकी भारतमा फैलिएको ओमिक्रोनको नयाँ रूप (जेएन.१ भेरियन्ट)को संक्रमण नेपालमा पनि देखा परेको छ । तर, भारतसँगको खुला सीमा नाकामा यसबारे कुनै सतर्कता अपनाइएको छैन । आवातजावत निर्वाध छ । स्वास्थ्य परीक्षण छैन । परीक्षणका लागि आवश्यक किट पनि नभएको स्वाथ्यकर्मीहरू बताउँछन् । मास्क लगाउने, दूरी कायम राख्ने, सेनिटाइजर लगाउने, हात धुनेजस्ता स्वास्थ्य सतर्कता अपनाउने काम पनि भएका छैनन् ।

भारतमा जेएन–१ भेरियन्टको कोरोना बढिरहेको बेला नेपालगञ्जको जमुनाहा नाकामा न स्वास्थ्य परीक्षण गरिन्छ, न त स्वास्थ्यसम्बन्धी कुनै सतर्कता नै अपनाइएको छ । यसलाई भित्रिन नदिन के गर्ने भन्नेमा अझै अन्यौलता छ । हेल्थ डेस्कमा कार्यरत अहेव सावित्री शर्माले कोरोनाको नयाँ भेरियन्टबारे के गर्ने, के नगर्ने भन्नेबारे माथिबाट कुनै नीति, योजना र कार्यक्रम नआएको बताइन् । ‘गएको १० असोज यता कोरोना परीक्षण पनि भएको छैन । हामीसँग त्यो समयपछि किट नै आएको  छैन’, उनले भनिन्, ‘हेल्थ डेस्कमा मलेरिया, टिबी र एचआईभी एड्सको मात्रै परीक्षण मात्र भइरहेको छ ।’ 

मुलुकमा कोरोना महामारीका बेला संघीय सरकारको स्वास्थ्य विभागले सीमा नाकामा हेल्थ डेस्क स्थापना गरेर भारतबाट आउने व्यक्तिको अनिवार्य कोरोना परीक्षण गरेको थियो । कोरोना पुष्टि भएका व्यक्तिलाई आइसोेलेसनमा राखेर पठाइन्थ्यो । कोरोनाकाल भरी हेल्थ डेस्क प्रभावकारी पनि भए ।

हेल्थ डेस्कलाई नेपालगन्ज उपमहानगरपालिकाले पनि स्वास्थ्यकर्मी सहयोग गरेको थियो । अहिले नगरले पनि सहयोग छोडेको छ । यो हेल्थ डेस्क अब लुम्बिनी प्रदेश सरकार मातहत भएको छ । 

सुदूरपश्चिममा भित्रिए कोभिडका बिरामी 

पुसको ४ र ११ गते भारतको राजधानी नयाँ दिल्लीसहित चेन्नई, बेंगलोर र हैदराबादबाट आएका नेपालीहरूमा कोरोना पोजेटिभ देखिएको थियो । भारतमा कोरोना संक्रमण बढेसँगै नेपालमा पनि बिरामीहरू बढ्न थालेका छन् । सीमा नाकाहरूमा गरिएको एन्टिजेन परीक्षणमा, कैलालीको त्रिनगर नाकामा मात्रै पुसयता ९ जनामा कोरोना पुष्टि भएको सीमा नाकामा रहेको हेल्थ डेस्कले जनाएको छ । झन्डै ७ सय ३५ जनाको एन्टिजेन परीक्षण गरिएकोमा ९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । 

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशक डा. जगदीश जोशीले भारतमा भेटिएको जेएन.१ नामको भेरियन्ट त्यति खतरनाक नरहेको बताए । ‘खतरनाक त त्यति छैन, तर हामीले सजगता भने अपनाउनुपर्छ । हामीले सबै सीमा नाकामा एन्टिजेन परीक्षणको निर्देशन दिएका छौं’, डा. जोशीले भने ।

सीमा नाकामा पोजेटिभ देखिएकाहरू सबैलाई घर पठाइएको छ । लक्षण देखिएका बिरामीहरूलाई घरमै आइसोलेसनमा बस्न भनिएको छ । तर, घर जानेहरूले लापरबाही गरे गाउँघरमा पनि कोरोनाका बिरामी बढ्ने जोखिम भने कायमै रहेको उनले बताए ।

वीरगन्जमा बढाइयो निगरानी 

नेपाल प्रवेश गर्ने मुख्यस्थल नाका वीरगन्जमा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको छ । पछिल्लो एक महिनायता भारतको गोवा, महाराष्ट्र, कर्नाटक, केरला, तेलांगना र तमिलनाडु राज्यमा पुनः कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि बिहारसँग खुला सीमा जोडिएको वीरगन्ज नाकामा स्वास्थ्य सतर्कता र निगरानी बढाइएको हो ।

वीरगन्ज नाकामा सञ्चालित हेल्थ डेस्कमा गत तीन साता यतादेखि भारतबाट आउनेहरूको स्वास्थ्य जाँच गर्न थालिएको छ । भारतबाट रेल, बस र निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूलाई वीरगन्ज नाकामा हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूले स्वास्थ्य परीक्षण गरेपछि मात्रै भित्रिन दिने गरेका छन् । वीरगन्ज महानगरपालिकाद्वारा सञ्चालित हेल्थ डेस्कमा कार्यरत स्वास्थ्यकर्मीका अनुसार भारतबाट लामो यात्रा गरेर आउनेहरूलाई नाकामा रोकेर सुरुमा स्क्रिनिङ गरिन्छ । त्यसक्रममा ज्वरो वा खोकीको लक्षण देखिएकाहरूको एन्टिजेन परीक्षण गरिन्छ । 

महानगरपालिकाका जनस्वास्थ्य निरीक्षक सुमनचन्द्र ठाकुरले भारतमा पुनः संक्रमण बढेपछि नाकामा निगरानी र सतर्कता बढाइएको बताए । भारतबाट आउने सबैको स्वास्थ्य जाँच गर्न सम्भव नभएकाले रेल, बस वा निजी सवारीमा लामो यात्रा गरेर आउनेहरूको मात्र स्क्रिनिङ गर्ने गरिएको उनले जानकारी दिए । 

एन्टिजेन परीक्षणमा कोभिडको संक्रमण देखिएमा लक्षण नभएकाहरूको हकमा होम आइसोेलेसनमा पठाउने र लक्षण देखिएकाहरूको जिन सिक्वेन्सिङका लागि व्यवस्थापन गर्न स्वास्थ्य महामारी तथा सरुवा रोग नियन्त्रण महाशाखाबाट निर्देशन आएको ठाकुरले बताए । 
विराटनगर–१० मलाया रोडस्थित नेसनल ट्रेडिङको रिक्त संरचनामा ०७७ चैत २१ गतेदेखि कोशी प्रदेश सरकारले कोभिड अस्पताल सञ्चालन गरेको थियो । त्यतिबेला १० वटा भेन्टिलेटरसहित ५० शय्याको कोभिड–१९ उपचार केन्द्र सञ्चालनमा आएको थियो । प्रदेशको राजधानी विराटनगरमा अर्बौं रुपैयाँको लगानीमा बनेको सो कोभिड उपचार केन्द्र अहिले प्रयोगविहीन बनेको छ । 

कोरोनाका बिरामीहरू आउन छोडेपछि त्यसलाई संक्रामक रोग तथा सघन उपचार केन्द्र बनाइएको थियो । २०७९ असोज ५ गतेदेखि सरकारले उक्त अस्पताललाई संक्रामक रोग तथा सघन केन्द्र बनाएर ओपीडीसमेत सञ्चालनमा ल्याएको थियो । तर, वैकल्पिक रूपमा प्रयोग नहुँदा प्रयोगविहीन अवस्थामा पुगेको अस्पताललाई अब हृयदरोग केन्द्र बनाइँदै छ । 

प्रदेश स्वास्थ्य मन्त्रालयले सो अस्पताललाई हृदयरोग केन्द्रमा रूपान्तरण गर्ने योजना अगाडि सारेको जनाएको छ । मन्त्रालयकी सचिव सुधा देवकोटाले संरचना प्रयोगविहीन बनेपछि त्यसलाई हृदयरोग केन्द्र बनाउने तयारी थालेको जानकारी दिइन् । 
सघन उपचार केन्द्रको १८ भेन्टिलेटरसहित २१ शय्याको आईसीयू र ४७ वटा एचडीयू प्रयोगविहीन बनेका छन् । संरक्षण नहुँदा अस्पतालका उपकरण काम नलाग्ने अवस्थामा पुगेका छन् ।  

प्रदेश सरकारले करिब १ करोड रुपैयाँ खर्चेर कोभिड अस्पताल निर्माण गरेको थियो । स्विस सरकारको ४ करोड रुपैयाँ सहयोगमा सहरी विकास तथा भवन निर्माण एकाइले अस्पतालमा थप संरचना निर्माण गरेको थियो । 

प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को बजेटमा कोभिड–१९ उपचार केन्द्रलाई प्रादेशिक सरुवा अस्पतालका रूपमा स्तरोन्नति गर्ने घोषणा गर्दै भौतिक पूर्वाधार विकास र स्वास्थ्य उपकरण खरिद गर्न ५० करोड रुपैयाँ विनियोजन गरेको थियो । 

कोशी प्रदेश, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक ज्ञानबहादुर बस्नेतले उपचारका लागि किनिएका भेन्टिलेटर, आईसीयू बेडलगायत स्वास्थ्य उपकरण हाल प्रयोगमा ल्याउन नसकिएको सुनाए ।  स्वास्थ्य मन्त्रालयले बेलैमा यो अस्पताललाई वैकल्पिक रूपमा प्रयोगमा ल्याउन नसके नागरिकस्तर र दातृ निकायको सहयोगमा लाखौं खर्च गरेर किनिएका स्वास्थ्य उपकरण बिग्रने निश्चित छ ।

- शंकरप्रसाद खनाल/नेपालगन्ज , शिवराज भट्ट/धनगढी,क्रान्ति शाह/वीरगन्ज,माधव काफ्ले /विराटनगर


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.