बलात्कार मुद्दामा दोषी ठहर सन्दीप लामिछानेलाई आज सजाय तोकिँदै
काठमाडौं : बलात्कार अभियोगमा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेलाई आज काठमाडौं जिल्ला अदालतले सजाय तोक्ने भएको छ। गत पुस १३ गते अदालतबाट दोषी ठहर भएका लामिछानेलाई आज सजाय तोकिने भएको हो।
सजाय तोक्नका लागि मुद्दा इजलासको पेशीमा चढेको छ।
न्यायाधीश शिशिरराज ढकालको एकल इजालसले क्रिकेटर लामिछानेलाई दोषी ठहर गरेको हो। काठमाडौंदेखि नगरकोट गई फेरि काठमाडौं फर्किएर काठमाडौं होटल इनमा एकै कोठामा बसेको र करणी भएको देखिएको अदालतको आदेशमा उल्लेख छ। अदालतले पीडित भनिएकी गौशला-२६ लाई भने नाबालिग नरहेको ठहर गरेको छ। विभिन्न कार्यालयमा देखिएको तथ्यांकबाट पीडित नाबालिग नरहेको अदालतले ठहर गरेको हो।
नौ जनाले गरेको घटना विवरण कागज, बकपत्रलगायत सीसीटीभी फुटेजलाई समेत आधार लिँदै दोषी ठहर गरिएको आदेशमा जनाइएको छ। गौशाला २६ तथा प्रतिवादी सन्दीप लामिछानेको घटना हुँदाको दिनको क्रियाकलापको समेत घटनाक्रमसमेतलाई विचार गर्दा करणी भएको देखियो,’ आदेशमा भनिएको छ, ‘सन्दीपले मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ (१),(२) र (३) (ङ) बमोजिम कसुर गरेको ठहर्दछ।’ मुलुकी अपराध संहितामा १८ वर्ष वा १८ वर्षभन्दा बढी उमेरको महिला भए ७ वर्षदेखि १० वर्षसम्मको कैद सजाय हुने व्यवस्था छ।
नाजुक अवस्थाको लाभ लिएर करणी
अदालतले पीडितको उमेर १८ वर्ष पुगिसकेको समेत ठहर गरेको छ। त्यस्तै पीडितको नाजुक आर्थिक अवस्थाको लाभ उठाएर करणी गरेको अदालतको ठहर छ। ‘नाजुक आर्थिक अवस्थासमेतको फाइदा उठाई करणी भएको देखिँदा सहमतिको करणी भन्ने नदेखिएको’ आदेशमा उल्लेख छ। दोषी ठहर भएका लामिछानेलाई ७ देखि १० वर्षको जेल सजाय हुन सक्छ। शुक्रबार सन्दीप पक्षका कानुन व्यवसायीले बहस गरेपछि सरकारी वकिल र पीडित पक्षका कानुन व्यवसायीले जवाफी बहस गरेका थिए। सोही क्रममा पीडितले पनि घटना विवरणसहित आफ्ना कुराहरू राखेकी थिइन्।
२३ वर्षमै खेल जीवनमा धक्का
दोषी ठहर भएका सन्दीप २३ वर्षका छन्। स्याङ्जामा जन्मेका सन्दीप १९ वर्षमुनिको (यू १९)को टोलीमा छनोट भई व्यावसायिक रूपमा क्रिकेट खेल्न थालेका थिए। तत्कालीन नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा २०७९ भदौ २१ मा प्रहरीमा जाहेरी दर्ता भएको थियो। भदौ ५ गते तीलगंगाको एक होटलमा बलात्कार गरेको भन्दै पीडितले जाहेरी दिएकी थिइन्।
भदौ २२ गत उजुरी दर्ता गरेर प्रहरीले अनुसन्धान अघि बढाएको थियो। भदौ २३ गते काठमाडौं जिल्ला अदालतले लामिछानेलाई पक्राउ गरी अनुसन्धान अघि बढाउन अनुमति दिएको थियो। आफूविरुद्धको जाहेरी दर्ता हुँदा सन्दीप क्यारेबियन लिग खेल्न जमैका पुगेका थिए। स्वदेश फर्कने क्रममा विमानस्थलबाटै पक्राउ गरिएको थियो। जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएपछि सन्दीप उच्च अदालत पाटन पुगेका थिए।
नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय टोलीबाट निलम्बन गरेको बेला उच्च अदालत पाटनले २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। २०७९ पुस २८ गते उच्च अदालतका न्यायाधीशद्वय रमेश ढकाल र ध्रुवराज नन्दको संयुक्त इजलासले जिल्लाको आदेश उल्टाएको थियो। उच्च अदालतको आदेशपछि क्यानले सन्दीपलाई राष्ट्रिय टोलीमा फर्काएको थियो। तर, विदेश जान भने रोक लगाएको थियो।
सन्दीपले लिग टुकोलागि विदेश जान अनुमति माग्दै सर्वोच्च अदालतमा निवेदन दिएका थिए। २०७९ फागुन १५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुँडालको संयुक्त इजलासले धरौटीमा छोड्ने उच्च अदालतको आदेश सदर गर्दै ससर्त विदेश जाने अनुमति दिएको थियो।
जवर्जस्ती करणीका विषयमा कस्तो अवस्थामा के छ सजाय ?
२१९. जवर्जस्ती करणी गर्न नहुनेः (१) कसैले जवर्जस्ती करणी गर्न हुँदैन।
(२) कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जवर्जस्ती करणी गरेको मानिनेछ।
स्पष्टीकरणः यस परिच्छेदको प्रयोजनको लागिः
(क) करकाप, अनुचित प्रभाव, डर, त्रास, झुक्यानमा पारी वा अपहरण गरी वा शरीर बन्धक लिई लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
(ख) होस ठेगानमा नरहेको अवस्थामा लिएको मञ्जुरीलाई मञ्जुरी मानिने छैन,
(ग) गुदद्वार वा मुखमा लिङ्ग पसाएमा, गुदद्वार, मुख वा योनीमा लिङ्ग केही मात्र पसेको भएमा, लिङ्ग बाहेक अन्य कुनै वस्तु योनीमा प्रवेश गराएमा पनि जवर्जस्ती करणी गरेको मानिनेछ।
(३) जवर्जस्ती करणी गर्ने व्यक्तिलाई त्यसरी करणी गर्दाको परिस्थिति र महिलाको उमेर हेरी देहाय बमोजिम कैद हुनेछ :–
(क) दश वर्षभन्दा कम उमेरकी बालिका, पूर्ण अशक्त, अपाङ्गता भएका वा सत्तरी वर्षभन्दा बढी उमेरका महिला भए जन्म कैद,
(ख) दश वर्ष वा दश वर्षभन्दा बढी चौध वर्षभन्दा कम उमेरकी बालिका भए अठार वर्षदखि बीस वर्षसम्म,
(ग) चौध वर्ष वा चौध वर्षभन्दा बढी सोह्र वर्षभन्दा कम उमेरकी बालिका भए बाह्र वर्षदेखि चौध वर्षसम्म,
(घ) सोह्र वर्ष वा सोह्र वर्षभन्दा बढी अठार वर्षभन्दा कम उमेरकी महिला भए दश वर्षदेखि बाह्र वर्षसम्म,
(ङ) अठार वर्ष वा अठार वर्षभन्दा बढी उमेरकी महिला भए सात वर्षदेखि दश वर्षसम्म।
(४) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि बैबाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्ष सम्म कैद हुनेछ।
तर देहायको अवस्थालाई वैवाहिक सम्बन्ध कायम रहेको मानिने छैनः–
(क) पतिसँग मानो छुट्टिई अंश मुद्दा चलेको,
(ख) पतिसँग अङ्श लिई छुट्टै बसेको,
(ग) पतिसँग सम्बन्ध विच्छेद मुद्दा चलेको।
(५) उपदफा (४) बमोजिमको अवस्थामा पीडितको निवेदन माग बमोजिम आवश्यक भएमा अदालतले पतिको नाममा देहाय बमोजिमको आदेश जारी गर्न सक्नेछः–
(क) पत्नीलाई निज बसी आएको घरमा नै बसोबास गर्न दिन, पत्नीलाई खान लाउन दिन, कुटपिट नगर्न तथा शिष्ट र सभ्य व्यवहार गर्न लगाउन,
(ख) पत्नीलाई आवश्यक उपचार गराउन वा उपचारका लागि उपयुक्त रकम दिन लगाउन,
(ग) दुवैलाई एकै ठाउँमा बसोबास गर्न उपयुक्त हुने नदेखिएमा पतिलाई अलग बस्ने व्यवस्था गर्न तथा त्यसरी अलग बस्दा पत्नीको भरणपोषणको लागि आवश्यक व्यवस्था गर्न लगाउन,
(घ) पत्नीलाई कुनै प्रकारले दुःख दिने वा सताउने कार्य नगर्न र पत्नीको हित र सुरक्षाको निमित्त आवश्यक र उपयुक्त कुरा गर्न गराउन।
(६) उपदफा (३) मा जुनसुकै कुरा लेखिएको भए तापनि आफूलाई मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी.पोजिटिभ) वा सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँँदा पाउँदै कसैले जवर्जस्ती करणी गरेको रहेछ भने त्यस्तो कसूरदारलाई उपदफा (३) मा लेखिएको सजायमा देहाय बमोजिमको थप सजाय समेत हुनेछः–
(क) मानवरोग प्रतिरोधक क्षमता उन्मुक्ति गर्ने जिवाणु (एच.आई.भी. पोजिटिभ) भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भए दफा १०५ बमोजिमको सजाय,
(ख) अन्य सरुवा यौनरोग (सेक्सुअली ट्रान्समिटेड डिजिज) भएको थाहा पाउँदा पाउँदै जवर्जस्ती करणी भएको भए तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँसम्म जरिबाना।
(७) सामूहिक रुपमा जवर्जस्ती करणी गरेमा वा छ महिनाभन्दा बढीको गर्भवती, अशक्त वा अपाङ्ग वा शारीरिक वा मानसिक रुपमा अस्वस्थ महिलालाई वा हातहतियार देखाई जवर्जस्ती करणी गरेमा उपदफा (३) मा लेखिएको सजायमा थप पाँच वर्षसम्म कैद सजाय हुनेछ।
तर पूर्ण अशक्त अपाङ्गता भएकी महिला भएमा उपदफा (३) को खण्ड (क) बमोजिमको सजाय हुनेछ।
(८) कसैले हाडनाताकी महिलालाई जवर्जस्ती करणी गरेकोेमा निजलाई हाडनाता करणीमा सजाय हुने रहेछ भने यस परिच्छेद बमोजिमको सजायमा हाडनाताको करणीमा हुने सजाय समेत थप हुनेछ।
२२०. हाडनातामा करणी गर्न नहुनेः
(१) कसैले आफ्नाे जात वा कुलमा चली आएको चलन, परम्परा वा मान्यता अनुसार विवाह गर्न नहुने नाताको व्यक्ति हो भन्ने जानीजानी त्यस्तो व्यक्तिसँग करणी लिनु दिनु हुँदैन।
(२) देहायका नातामा उपदफा (१) बमोजिमको कसूर गर्नेलाई देहाय बमोजिम सजाय हुनेछः–
(क) जन्माउने आमा छोराको वा बाबु छोरीको करणी भएमा जन्मकैद,
(ख) सौतेनी आमा छोरा वा बाबु छोरी, सहोदर दिदी भाइ वा दाजु बहिनी, एकै हाँगाको ससुरा बुहारी, एकै हाँगाको बाजे नातिनी वा पनातिनी, एकै हाँगाका जेठाजु र भाइ बुहारी वा देवर भाउजूको करणी भएमा चार वर्षदेखि दश वर्षसम्म कैद र चालीस हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना,
(ग) एकै हाँगाको तीन पुस्तासम्मको बज्यै, नाति वा पनाति, एकै हाँगाको ठूलो बाबु वा काका भतिजी, एकै हाँगाको भतिजो ठूली आमा वा काकी, एकै हाँगाको ससुरो भतिजी बुहारी, साख्यै मामा भाञ्जी वा भानिज माइजु, आमा तर्फका ठूली आमा वा सानी आमा र छोरा र आफ्नी श्रीमती तर्फकी सासू र ज्वाँइको करणी भएमा तीन वर्षदेखि छ वर्षसम्म कैद र तीस हजार रुपैयाँदेखि साठी हजार रुपैयाँसम्म जरिबाना,
(घ) खण्ड (क), (ख) वा (ग) मा लेखिएदेखि बाहेक आफ्नो वंशका सात पुस्तासम्मका अन्य नातामा करणी भएमा हाँगो, नाता र पुस्ता समेत विचार गरी एक वर्षदेखि तीन वर्षसम्म कैद र दश हजार रुपैयाँदेखि तीस हजार रुपैयाँसम्म जरिबाना।
२२१. थुनामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेः
(१) कैद वा थुनामा रहेको कुनै व्यक्तिसँग सरकारी कर्मचारीले करणी गर्न वा करणी गर्न अरु कसैलाई संयोग पारी मिलाई दिई करणी गराउन हुँदैन।
(२) उपदफा (१) बमोजिम करणी गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद सजाय हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिमको सजायमा यस दफा बमोजिमको सजाय थप हुनेछ।
२२२. आफ्नो संरक्षण वा सुरक्षामा रहेको व्यक्तिसँग करणी गर्न नहुनेः
(१) कसैले आफूले संरक्षण वा सुरक्षा दिएको वा आफ्नाे हेरविचारमा रहेको कुनै व्यक्तिसँग करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न वा होस ठेगानमा नरहेको वा शारीरिक वा मानसिक रोग लागी उपचार वा पुनस्र्थापना गर्नेे कुनै संस्थामा राखिएको कुनै व्यक्तिसँग त्यस्तो संस्थाका पदाधिकारी वा कर्मचारीले करणी गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ।
२२३. कार्यालय वा पेशागत सेवा प्राप्त गर्ने व्यक्तिसँग करणी गर्न नहुनेः
(१) सरकारी वा निजी कार्यालयमा कार्यरत वा कुनै पेशागत सेवा वा व्यावसायिक कामको लागि सम्पर्कमा आएको वा रहेको कुनै व्यक्तिसँग त्यस्तो कार्यालयमा काम गर्ने कर्मचारी वा त्यस्तो सेवा उपलब्ध गराउने व्यक्तिले कार्यालयको काम गर्दा वा त्यस्तो सेवा उपलब्ध गराउँदा वा गराउने स्थानमा करणी गर्न वा करणी गर्न अरुलाई सहयोग गर्न हुँदैन।
(२) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई चार वर्षसम्म कैद र चालीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ र त्यस्तो करणी यस संहिता वा अन्य कानून अनुसार पनि कसूर हुने रहेछ भने सो बमोजिम हुने सजायमा यस दफाको सजाय थप हुनेछ।
२२४. यौन दुर्व्यवहार गर्न नहुनेः
(१) कसैले कसैलाई यौन दुर्व्यवहार गर्न वा गराउनु हुँदैन।
(२) कसैले आफ्नो पति वा पत्नी बाहेक अन्य व्यक्तिलाई निजको मञ्जुरी विना करणीका आशयले समातेमा वा निजको संवेदनशील अङ्ग छोएमा वा छुन प्रयास गरेमा, निजको भित्री पोशाक खोलेमा वा खोल्ने प्रयास गरेमा, निजले लगाउने भित्री पोशाक लगाउन वा फुकाल्न कुनै किसिमले बाधा अवरोध गरेमा वा निजलाई अस्वाभाविक रुपमा कुनै एकान्त ठाउँमा लगेमा, यौन सम्बन्धी आफ्नो अङ्ग निजलाई छुन, समाउन लगाएमा, निजसँग अश्लिल वा अन्य त्यस्तै प्रकारको शब्द मौखिक, लिखित वा साङ्केतिक रुपमा वा विद्युतीय माध्यमबाट प्रयोग गरेमा, अश्लिल चित्र वा तस्वीर देखाएमा, यौनका आशयले जिस्क्याएमा वा हैरानी दिएमा वा निजसँग अस्वाभाविक, अवाञ्छित वा अमर्यादित व्यवहार गरेमा निजले यौन दुर्व्यवहार गरेको मानिनेछ।
(३) उपदफा (१) बमोजिमको कसूर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र तीस हजार रुपैयाँँसम्म जरिबाना हुनेछ।