मूर्तिचोरले रित्याए डोल्पाका गुम्बा
डोल्पा : डोल्पामा गुम्बाको संख्या बढेर १ सय २० पुगेको छ। तर, प्रायः रित्ता छन्। यहाँका प्राचीन गुम्बाका प्राचीन मूर्तिसहित महत्वपूर्ण बौद्ध धर्मग्रन्थ चोरी भएरै सिद्धिन लागेका छन्। ८ वर्षयता मात्रै ७३ थान मूर्ति हराएको तथ्यांक प्रहरीसँग छ। हराएपछि न्यून मात्रै भेटिएका छन्।
उपल्लो डोल्पामा पर्ने मुख्य गुम्बा सबैजसोमा चोरी भइसकेको लामाहरू बताउँछन्। यससँगै बौद्धमार्गी भने रित्ता गुम्बामा आस्था जोगाउन बाध्य भएका छन्। ‘मूर्ति सबै चोरी भएपछि गुम्बाको अस्तित्व नै धरापमा परेको छ। चोर पत्ता लागेर पनि कोही कारागारमा छन्। कोही धरौटीमा छुटिसके। मूर्ति भने अझै पत्ता लाग्न सकेको छैन’, शे–फोक्सुन्डो गाउँपालिका–८ का वडाध्यक्ष निमा लामा भन्छन्, ‘तस्करहरूले गुम्बा मात्रै लुटेनन्, बौद्धमार्गीहरूको आस्था पनि लुटेका छन्। अहिले रित्ता गुम्बाहरूमा आस्था जोगाउनुपर्ने बाध्यता छ।’
चोरी/तस्करीका घटना ठूलो राजनीतिक संरक्षणबिना सम्भव नहुने बुद्धधर्मगुरु रानाक टुल्कु बताउँछन्। ‘प्रमाणबिना ठ्याक्कै भन्न त गाह्रो छ। तर, यस्तो काम मामुली मान्छेले गर्नै सक्दैन’, उनी भन्छन्, ‘ठूलै राजनीतिक संरक्षण पाएको आपराधिक गिरोह नै लागेको हुनुपर्छ।’ प्रहरीले छिटफुट व्यक्ति समाते पनि गिरोह पत्ता लगाउन नसक्दा तस्करको मनोवल उच्च भएको उनको भनाइ छ।
बिगतदेखि योजनाबद्ध रूपमा चोरी भइरहे पनि गिरोह पत्ता लाग्न नसक्नु दुखद् भएको डोल्पोबुद्ध गाउँपालिकाका युवा पेमा छेवाङ गुरुङ बताउँछन्। ‘निरन्तर चोरी भइरहेको छ। तस्करीमा संलग्न मुख्य गिरोहचाहिँ पत्ता लागेको सुनिँदैन। अनुसन्धान पेचिलो नहुँदा तस्करहरूको मनोवल उच्च भएको पाइएको छ’, उनी भन्छन्, ‘अब केन्द्रीय अनुसन्धान ब्युरोको टोली खटाएरै अनुसन्धान सुरु गर्नुपर्छ।’ तस्कर गिरोह पत्ता लगाउन प्रहरीको अनुसन्धानलाई सघाउन जुनसुकै सहयोग गर्न पनि तत्पर रहेको उनको भनाइ छ।
पछिल्लोपटक गत असार ८ गते मध्यराति हतियारधारी समूहले शे–फोक्सुन्डो गाउँपालिकाबाट एकथान बौद्ध स्तूपसहित ८ थान मूर्ति चोरेर लगेको प्रहरी रेकर्ड छ। ती वस्तु भने प्रहरीले भदौ २७ गते डोल्पो बुद्ध गाउँपालिकाबाट बरामद गर्यो।
डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीका अनुसार ०७२ मंसिर २७ गते शे–फोक्सुन्डो गाउँपालिका–३ स्थित शेलरी सोम्दो गुम्बाबाट हराएका १३ वटा मूर्ति अझै फेला पार्न सकिएको छैन। डोल्पो बुद्ध गाउँपालिका–३ मा पर्ने गाँकर र मेखिम गुम्बाबाट २०७२ चैत २८ गते राति चार थान बुद्ध मूर्ति बौद्ध धर्मसम्बन्धी १ थान पुस्तक चोरी भएको थियो। पुरातात्विक मूर्तिसँगै सुन र चाँदीद्वारा लिखित धर्मग्रन्थ पनि हराएका थिए। तीमध्ये ३ मूर्ति र १ बौद्ध धर्मसम्बन्धी पुस्तक त्यही दिन बरामद गरिएको प्रहरीको रेकर्ड छ। एक मूर्ति अझै भेटिएको छैन।
से गुम्बा
शे–फोक्सुन्डो गाउँपालिका–४ स्थित राप गुम्बाबाट २०७५ असोज ३१ गते ३७ थान बुद्ध मूर्ति हराएको र पछि सबै पत्ता लागेको प्रहरीले जनाएको छ। त्यस्तै छार्काताङसोङ गाउँपालिका–१ स्थित बोन गुम्बाबाट २०७३ जेठ २८ गते हराएको १ थान मूर्ति प्रहरी र स्थानीयको सक्रियतामा तत्काल बरामद गरिएको थियो।
शे–फोक्सुन्डो गाउँपालिकाअन्तर्गत रिग्मो गाउँमा पर्ने ६ सय वर्ष पुरानो थासोङ छोलिङ गुम्बाबाट २०७५ सालमा हराएका सात थान मूर्ति अझै पत्ता लाग्न सकेको छैन। शे–फोक्सुन्डो गाउँपालिका–४ नाम्दोबाट हराएका १० थान मूर्तिमध्ये सात थान दुई महिनापछि डोल्पोबुद्ध गाउँपालिकाको एक जंगलमा फेला पारेर प्रहरीले बुझाइसकेको छ।
काइके गाउँपालिका–१ मा पर्ने खागर गुम्बाबाट दुई वर्षअघि चोरी भएका दुई थान मूर्ति अझै फेला पर्न सकेको छैन। एक वर्षअघि पूजा गरेर राखेका मूर्तिहरूको पूजा गर्न पुनःजाँदा चोरी भएको पाइएको प्रहरीले जनाएको छ। हराएका मूर्तिका विषयमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।
स्थानीयवासीको मात्र संलग्नता ?
उपल्लो डोल्पाका गुम्बा चोरी घटनामा स्थानीयवासी मुछिएका छन्। राप गुम्बाका ३७ थान मूर्ति २०७५ असोज ३१ गते चोरी प्रकरणमा प्रहरीले ६ जनालाई पक्राउ गर्यो। ती सबै स्थानीयवासी थिए। ३ जना धरौटीमा छुटे। अदालतले तीन जनालाई पुर्पक्षका लागि थुनामा पठायो। २०७५ जेठ २७ गते शे–फोक्सुन्डो गाउँपालिकास्थित एक गुम्बाबाट मूर्ति चोरेको आरोपमा डोल्पाकै ४ जना समातिए। तीमध्ये ३ जना जेल चलान भए। एक जना साधारण तारेखमा छुटे।
यी दुई प्रतिनिधि घटना मात्र हुन्। चोरीका अधिकांश घटनामा स्थानीय व्यक्तिकै संलग्नता हुने गरेको पाइएको छ। स्थानीयवासी संलग्न नभई कुनै पनि हालतमा मूर्ति तस्करी सम्भव नहुने शे–फोक्सुन्डो गाउँपालिका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ बताउँछन्।
‘डोल्पामा बौद्धमार्गीहरूको आस्थामाथि बारम्बार प्रहार भइरहेको छ। पुस्तौंदेखि मान्दै आएका गुम्बाहरू एकपछि अर्को गर्दै हराइरहेका छन्। यसमा स्थानीय व्यक्तिको मिलेमतो नभएर सम्भव छैन’, उनी भन्छन्, ‘प्रहरीको रिपोर्ट हेर्ने हो भने सम्बन्धित जिल्ला, गाउँपालिका, सम्बन्धित वडा अनि गुम्बासँगै सम्बन्धित व्यक्ति संलग्न रहेको पाइएको छ। हामीले अरूलाई दोष दिने ठाउँनै छैन।’
गुम्बा बस्तीबाट टाढा, तस्करलाई सजिलो
उपल्लो डोल्पाका धेरैजसो गुम्बा बस्तीभन्दा टाढा छन्। गुम्बाहरू मान्छेको चहलपहल हुने ठाउँभन्दा टाढा भएकाले पनि सजिलै चोरी हुने गरेको जनप्रतिनिधि बताउँछन्। ‘गुम्बाहरू सकभर एकान्तमा हुनुपर्ने धारण गाउँसमाजमा प्रचलित छ। त्यतिमात्र नभई भगवान्को ध्यान मानिसको चहलपहल नहुने ठाउँमा गर्दा उत्तम मान्ने चलन पनि छ’, शे–फोक्सुन्डो गाउँपालिका उपाध्यक्ष पेम्मा वाङ्छेन गुरुङ भन्छन्, ‘त्यसले गर्दा पनि चोरलाई सजिलो हुन्छ।’
प्राचीन मूर्तिहरू लामा र धर्मगुरुले आफूअनुकूल गोप्यमा राख्न खोज्दा पनि चोरी भएको थाहा नहुने उनको भनाइ छ। अन्तर्राष्ट्रिय रूपमा मूर्तिको मूल्य तोकिने हुँदा चोरले त्यो बुझेर चोर्ने गरेको उनी बताउँछन्। भन्छन्, ‘उपल्लो डोल्पामा सरकारले छुट्टै सेवासुविधा दिएर सुरक्षाकर्मी राख्न सके यस्ता घटनामा केही कमी आउन सक्छ।’
भौगोलिक बिकटता नै सुरक्षा चुनौती
भौगौलिक बिकटताका कारण सुरक्षाकर्मीको न्यून उपस्थिति हुँदा उपल्लो डोल्पाका गुम्बा वर्षांैदेखि तस्करको निशानामा पर्दै आएको स्थानीयवासीको भनाइ छ। तस्करले खुलेयाम हातहतियारसहित चोरी गर्दा मूकदर्शक भएर बस्नुपर्ने बाध्यता रहेको उनीहरूको गुनासो छ। भौगोलिक रूपमा विकट र पातलो बस्ती भएका कारण पनि उपल्लो डोल्पाका गुम्बाहरू तस्करको निशानामा परेको डीएसपी बुढाथोकी बताउँछन्।
‘प्रतिकूल मौसमका कारण उपल्लो डोल्पामा ६ महिनामात्र सुरक्षार्मी बस्न सक्छन्। बाँकी समय सुरक्षाकर्मीको उपस्थिति हुँदैन। सोही समयमा मौका छोपी अपराधिक मनोवृत्ति भएका व्यक्तिले चोरी गर्ने गरेको पाइएको छ’, बुढाथोकी भन्छन्, ‘उपल्लो सबै ठाउँमा सञ्चारको असुविधाका कारण उपल्लो डोल्पाबाट सूचनाहरू सदरमुकामसम्म सूचना आदानप्रदान गर्न लाग्छ। तस्करहरू चोरी गरेर भागिसक्दासमेत प्रहरीलाई सूचना नआउने र प्रहरीले सूचना पाएर घटनास्थलमा पुगिन्जेलसम्म चोरहरू फरार भई सक्छन्। यसो हुनाले पनि सुरक्षा चुनौती थपिएको छ।’
दरबन्दी थप गर्नुका साथै प्रहरीका लागि बाह्रै महिना बस्न सक्ने भौतिक पूर्वाधार खडा गरे यस्ता घटना निर्मूल पार्न नसके पनि कमी ल्याउन सकिने बुढाथोकीको विश्वास छ। उपल्लो डोल्पामा कुल ८ वटा प्रहरी युनिट छन्। त्यसमध्ये ६ वटा प्रहरीचौकी ६ महिना मात्र बस्ने गर्छन्। दुइटा चौकीमा मात्र बाह्रै महिना उपल्लो डोल्पामै रहने गर्छन्। योजनबद्ध तरिकाले उपल्लो डोल्पाका गुम्बाहरू रित्याउने खेल भइरहेकाले प्रहरीले पेचिलो अनुसन्धान गर्न नसक्नुले पनि तस्करहरूलाई प्रोत्साहन मिलेको डोल्पोबुद्धका स्थानीय युवा पेमा छेवाङ गुरुङले बताउँछन्।
पुरातत्व विभागका कर्मचारी भने उपल्लो डोल्पामा रहेका गुम्बामा शृंखलाबद्ध रूपमा चोरी हुनुमा गलत हल्ला कारक रहेको बताउँछन्। पुरातात्विक मूर्ति तथा धर्मगन्थको मूल्य करोडौं पर्ने भन्दै गलत अपवाह फैलाउनाले गुम्बाहरू तस्करको निशानामा पर्ने गरेको पुरातत्व विभागअन्तर्गत पर्ने राष्ट्रिय संग्रहालय छाउनीका अधिकृत नवराज अधिकारीको भनाइ छ। आफू उपल्लो डोल्पाका धेरै क्षेत्रमा पुगेकाले मान्छे नभएको मौका छोपी चोरी हुने गरेको स्थानीयले आफूसँग गुनासो गरेको उनी सुनाउँछन्।
अभिलेखीकरण गर्न अस्वीकार
उपल्लो डोल्पाका गुम्बाका पुजारीले अभिलेखीकरणमा असहयोग गर्ने गरेको पुरातत्व विभागले जनाएको छ। विभागको टोली तेह्र वर्षअघि गुम्बा अभिलेखीकरण गर्न उपल्लो डोल्पा पुग्दा कतिपय गुम्बाका पुजारीहरूले अभिलेख नै गर्न नदिएको प्रवक्ता रामबहादुर कुँवरको भनाइ छ।
‘अरूलाई मूर्ति देखायो भने चोरी हुन्छ कि भन्ने डर उहाँहरूमा देखियो। एक हिसाबले सुरक्षित राख्ने सवालमा उहाँहरूको कदम ठीकै हो’, उनी भन्छन्, ‘तर, सरकारी संयन्त्रलाई नै अभिलेखीकरण गर्न असहयोग गर्दा वास्तविकता पत्ता लगाउन समस्या हुने गरेको छ। डोल्पामा शृंखलाबद्ध रूपमा चोरी भइरहेका प्राचीन गुम्बाहरूका विषयमा हामीलाई पनि चिन्ताको विषय बनेको छ। त्यसका लागि सरकारका सुरक्षा संयन्त्रको पनि ध्यानाकर्ष गराइरहेका छौं।’
उनका अनुसार भौगोलिक बिकटताका कारण बाह्र महिना सुरक्षाकर्मी बस्न नसक्दा पनि यस्ता घटना भइरहेका छन्। चोरीका घटना डोल्पामा बढी देखिएकाले अब गुम्बामात्र नभई मूर्ति नै अभिलेखीकरण गर्न लागिएको उनको भनाइ छ। भन्छन्, ‘यो वर्षभित्रै अभिलेखीकरणका लागि पुरातत्वको टोली उपल्लो डोल्पा पुग्छ। हालसम्म डोल्पाका ३० हाराहारी मात्र गुम्बाहरू अभिलेखीकरण भएको छ।’
हिउँद र यार्सा सिजनमा बढी चोरी
डोल्पा बहुमूल्य जडिबुटी यार्सागुम्बा पाइने प्रमुख जिल्लाभित्र पर्छ। त्यसो त प्रत्येक वर्ष १०औं हजारको संख्यामा सर्वसाधारण यार्सागुम्बा संकलन गर्न डोल्पा पुग्ने गर्छन्। तस्करले त्यही बेला नै योजना बनाएर प्राचीन गुम्बामा चोरी गर्ने गरेको शे–फोक्सुन्डो गाउँपालिका–९ का वडाध्यक्ष लार्के लामा बताउँछन्। उनका अनुसार जो विभिन्न बहानामा यार्सा टिप्न आउँछन्। गुम्बामा छिर्छन्। स्थानीयवासीसँग हेलमेल भएर नजिकको सम्बन्ध बनाउँछन्। त्यसपछि मात्रै चोरी गर्र्ने गरेको उनी सुनाउँछन्।
यार्सा समयमा गुम्बाका पुजारीसहित स्थानीयवासी घरमा ताला मारेर पाटन जाने भएकाले त्यस समयमा धेरै चोरी हुने गरेको उनको भनाइ छ। विभिन्न जिल्लाबाट आउने यार्सा संकलकलाई कडाइ गर्नुका साथै गुम्बा आसपासका क्षेत्रमा जान दिन नहुने उनी बताउँछन्। उनका अनुसार प्रत्येक वर्ष जेठदेखि असारसम्म चल्ने यार्सा सिजनामा धेरै संख्यामा सुरक्षाकर्मी परिचालन गर्नुपर्छ। हिउँदको समयमा उपल्लोमा अत्याधिक हिमपात भएर अत्याधिक चिसो हुने भएकाले सुरक्षा चौकीहरू पनि तल्लो डोल्पामा झर्ने गर्छन्। त्यसबेला पनि अधिकांश गुम्बा चोरी हुने
गरेको पाइएको छ।
खुला सीमा : अर्को चुनौती
उपल्लो डोल्पामा चीनसँग सीमा जोडिएका दुइटा नाका छन्। मोरिम र क्याटो नाका उपल्लो डोल्पामै पर्छन्। यसले गर्दा पनि प्राचीन मूर्तिदेखि वन्यजन्तु संरक्षणमा चुनौती थपिएको हो। खुला सीमाना भएकाले गुम्बा संरक्षण गर्न चुनौती थपिएको स्थानीय पेमा छेवाङ गुरुङको भनाइ छ। नाकामै सुरक्षाकर्मी नहुँदा तस्करी गर्न सहज भएको उनको भनाइ छ।
युवा पर्यटन व्यवसायी जितेन्द्र झाँक्रीअनुसार त्यस क्षेत्रमा हवाई उद्धारलगायत काम गर्दा सचेत भएको बताउँछन्। हेलिकप्टमा पुरातात्वक वस्तु आउन सक्ने भन्दै सुरक्षाकर्मीले राम्रोसँग जाँच गरिसकेपछि मात्र हाल्ने गरेको उनको भनाइ छ।
१२० गुम्बा समितिमा दर्ता
हिमाली क्षेत्रमा गुम्बा धेरै भए पनि डोल्पामा शृंखलाबद्ध रूपमा चोरी हुनु दुखद् भएको बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिको ठहर छ। अन्य हिमाली जिल्लाको तुलनामा यस्ता चोरीका घटना डोल्पामा धेरै पाइएको समितिका कार्यकारी निर्देशक होमबहादुर दोङ बताउँछन्। यस विषयलाई समितिले गम्भीर रूपमा लिएको उनको भनाइ छ।
उनका अनुसार डोल्पाबाट मात्रै २०८० असार मसान्तसम्म १ सय २० गुम्बा समितिमा दर्ता भएका छन्। दर्ता भएका गुम्बाले आवश्यक्ताका आधारमा मर्मत सम्भारका लागि अनुदान पाउने गरेको उनको भनाइ छ। यस वर्षमात्रै शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने दुइटा गुम्बा र डोल्पोबुद्ध गाउँपालिकाको एक गरेर तीनवटा गुम्बामा पाँच लाखका दरले गुम्बा मर्मत सम्भार खर्च निकासा भएको उनी सुनाउँछन्।
धेरैजसो गुम्बाहरू अभिलेख नै हुन नसकेको काइके गाउँपालिकाका स्थानीय ओम रोकाय मगर बताउँछन्। देशभर ३ हजार १ सय ५० भन्दा बढी गुम्बा छन्।
विदेश पुग्छन् डोल्पाका प्राचीन मूर्ति
उपल्लो डोल्पाबाट हराएका प्राचीन मूर्तिहरू धमाधम अन्तर्राष्ट्रिय बजारमा फेला पर्न थालेका छन्। डोल्पोबुद्ध गाउँपालिकाको धो गाउँमा पर्ने गाँकार गुम्बाबाट ६ वर्षअघि चोरी भएको शाक्यमुनि बुद्धको मूर्ति चीनको बेइजिङमा भेटिएको थियो।
चोरीपछि बरामद भएका मूर्तिहरू ।
त्यतिमात्र होइन शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने लाङ गुम्बाको मूर्ति अमेरिकामा सिकागो राज्यको निजी म्युजियमा भेटिएको थियो। परीक्षणका आधारमा प्राचीन मूर्तिहरू मोलमोलाइ अन्तर्राष्ट्रिय बजारमा नै हुने गरेको र त्यसैका आधारमा मूल्य निर्धारण हुने गरेको कुरा कतिपय अनुसन्धानको क्रममा पत्ता लागेको पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर बताउँछन्।
जीर्ण बन्दै गुम्बा
चोरी तस्करीले अस्तित्व लोप हुने खतरामा पुगेका उपल्लो डोल्पाका सार्वजनिक गुम्बा जीर्ण बन्दै गएका छन्। शे–फोक्सुन्डो गाउँपालिकामा पर्ने १ हजार १ सय वर्ष पुरानो शे–गुम्बा मर्मतसम्भार हुन नसक्दा जीर्ण बन्दै गएको गाउँपालिका उपाध्यक्ष पेमा वाङ्छेन गुरुङ बताउँछन्। बौद्धधर्मका प्राचीन प्रमाणहरूको साक्षीका रूपमा रहेको यो गुम्बा जीर्णोद्धार हुन नसकेको उनको भनाइ छ।
यससँगै गाउँपालिकाको वडा नम्बर ८ मा रहेको थासुङ छोलिङ गुम्बा पनि जीर्ण बन्दै गएको छ। यो गुम्बा १५औं शताब्दीमा स्थापना भएको भनिएको छ। उपल्लो डोल्पामा धेरैजसो प्राचीन गुम्बा जीर्ण बन्दै गए पनि मर्मतका लागि राज्यको ध्यान जान सकेको छैन। उपल्लो डोल्पामा रहेका प्राचीन गुम्बाहर कति वर्ष पुराना भन्ने यथेष्ट प्रमाण भने नभेटिने जानकार बताउँछन्। प्राचीन धर्मग्रन्थसँगै स्थानीयवासीको भनाइको आधारमा यति वर्ष पुराना भनेर अभिलेखीकरण गर्ने गरिएको बौद्ध दर्शन प्रबद्र्धन तथा गुम्बा विकास समितिले जनाएको छ।
हिमाली जिल्ला डोल्पा स्वदेशी तथा विदेशी पर्यटकको आकर्षक गन्तव्य हो। प्राकृतिकसँगै धार्मिक हिसाबमा महत्वपूर्ण जिल्लाका रूपमा रहेको डोल्पामा बर्सेनि हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरू आइपुग्ने गर्छन्। गएको भदौ यतामात्रै २ हजार ५ सय आन्तरिक तथा बाह्य पर्यटकले भ्रमण गरेको शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जले जनाएको छ। डोल्पा तल्लो, मध्य र उपल्लो गरी तीन भागमा बाँडिएको छ। उपल्लो डोल्पा नै बौद्धमार्गीहरूको प्रमुख बासस्थान हो। शे–फोक्सुन्डो गाउँपालिकाका समाजसेवी आङ्बहादुर लामाका अनुसार डोल्पामा मात्रै १५ हजार हाराहारीमा बौद्धमार्गी छन्।
शे, रिबु, याङजेर, साम्लिङ, थासुङ छोइलिङ उपल्लो डोल्पाका प्रमुख गुम्बा हुन्। तर, यी गुम्बाभित्र रहेका प्राचीन मूर्ति प्रायः सबै चोरी भइसकेका छन्। यस्ता गुम्बा, चिस्तुम र घरघरमा बेरिएका थान्का चित्रले आफ्नो घर परिवार र गाउँठाउँको रक्षा गर्ने जनविश्वास छ। त्यसो त पुस्तौंदेखि पुज्दै र मान्दै आएका प्राचीन एवं ऐतिहासिक गुम्बाहरूका भगवान् नै हराउन थालेपछि डोल्पाका बौद्धमार्गीहरूलाई आफ्नो आस्था जोगाउन हम्मेहम्मे परेको छ।
प्रमाणबिना ठ्याक्कै भन्न त गाह्रो छ। तर, यस्तो काम मामुली मान्छेले गर्नै सक्दैन’, उनी भन्छन्, ‘ठूलै राजनीतिक संरक्षण पाएको आपराधिक गिरोह नै लागेको हुनुपर्छ।
– रानाक टुल्कु, बुद्धधर्मगुरु
तस्करहरूले गुम्बा मात्रै लुटेनन्, बौद्धमार्गीहरूको आस्था पनि लुटेका छन्। अहिले रित्ता गुम्बाहरूमा आस्था जोगाउनुपर्ने बाध्यता छ।
– निमा लामा, वडाध्यक्ष, शे–फोक्सुन्डो गाउँपालिका–८
डोल्पामा बौद्धमार्गीहरूको आस्थामाथि बारम्बार प्रहार भइरहेको छ। पुस्तौंदेखि मान्दै आएका गुम्बाहरू एकपछि अर्को गर्दै हराइरहेका छन्। यसमा स्थानीय व्यक्तिको मिलेमतो नभएर सम्भव छैन ।
– पेम्मा वाङ्छेन गुरुङ, उपाध्यक्ष, शे–फोक्सुन्डो गाउँपालिका
पुरातात्विक मूर्ति तथा धर्मगन्थको मूल्य करोडौं पर्ने भन्दै गलत अफवाह फैलाउनाले गुम्बाहरू तस्करको निशानामा पर्ने गरेका छन् ।
– नवराज अधिकारी, अधिकृत, राष्ट्रिय संग्रहालय छाउनी