नेपाल र नेपाली जनताको हितविपरित कुनै सम्झौता गरेको छैन : प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल र नेपाली जनताको हितविपरित अन्य मुलुकसँग कुनै सम्झौता नगरेको बताएका छन्। बुधबार कानुन,न्याय तथा मानव अधिकार समितिको बैठक बोल्दै प्रधानमन्त्री दाहालले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुई देशबीच भएका सम्झौता नेपाल र नेपालीको हितमा भएको दावी गरेका हुन्।
उनले भने,' भारत भ्रमणमा होस् अन्य मुलुकमा नेपाल र नेपाली जनताको वृहत्त विकासको आकांक्षालाई सम्बोधन गर्नेबाहेक सरकार पूर्ण सतर्क थियो र छ पनि ।'
प्रधानमन्त्री दाहालले नेपाल-भारतबीच दिर्घकालीन विदयुत व्यापार सम्झौतामा हस्ताक्षर भएसँगै भारतीसँग विद्युत व्यापारको ढोका खुलेको बताए। 'आगामी १० वर्षमा १० हजार मेघावाट विद्युत भारत लैजाने आफ्नो भारत भ्रमणका क्रममा भएका सहमतिलाई केही समयपछि भारत सरकारको मन्त्रिपरिषदबाट अनुमोदन गरियो। भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा दुवै देशका सरकारका प्रतिनिधिहरूले हस्ताक्षर गरेर अन्तिमरुप दिइयो। यसले नेपाल- भारतीबीच दीर्घकालमा विदयुत व्यापारको ढोका खोलेको छ।'
उनले दुई देशबीच दीर्घकालीन विदयुत व्यापार परियोजनामा हस्ताक्षर भएपछि अनेक टिकाटिप्पणी गरेको भन्दै यसमा ढुक्क हुन आग्रह गरे। 'यहाँ कतिपयलाई लागेको छ कि भारतीयले बनाएका परियोजनाले मात्रै बिजुली लैजाने भनेको हो कि । यसमा कुनै सहमति र कुनै सम्झौता नेपालले गरेको छैन। होइन पनि। नेपालमा विभिन्न देशले लगानी गरेर विद्युत विकास गर्ने स्वतन्त्र सबैलाई छ। भारतलाई पनि छ । अरुलाई पनि छ। '