मित्र कड्किए, ‘त्यसो भए वाद छुट्याएर लेख्नु पथ्र्यो नि। किन त्यो शब्द समाज, माक्र्स, लेनिन माओसँग जोडेर लेखेका त ? छुट्टै लेखेका भए कसले के भन्थ्यो र !’
धेरै दिनपछि आज फेरि सुपर्णखा बिहानै मेरो पूर्णकुटीमा पदार्पण गरे। उनलाई स्वागत गरेर म चिया भन्न भान्छामा छिरें। उनलाई स्वागत गरेको कोठाबाटै चियाको निवेदन गरेको सुनेछन्। फर्केर कोठामा आएपछि उनले भने, ‘आउनेबित्तिकै चियाको आदेश किन दिनुपथ्र्यो ! एकछिनपछि भए
मैले भनें, ‘तिम्रो के ठेगान ? अस्ति नै जस्तो सन्केर चिया नै नखाई हिँड्यौ भने !’ उनी हाँसे मात्र केही भनेनन्।
एकछिनपछि भन्न थाले, ‘हैन, उदेक लाग्ने कुरा हुन्छ। नपच्ने काम हुन्छ। अनि मगज खल्बलिँदैन त ? अब हेर न, राजनीति गर्ने केही देशको मुहार फेर्छौं। निरंकुशता र शोषणरहित समाजको सिर्जना गर्छौं। जनतालाई सबै खालको थिचोमिचोबाट मुक्त गर्छौं भनेर आएका एकथरी छन् भने अर्काथरी निरंकुशताबाट जनतालाई मुक्त दिलाउछौं र बोल्ने, लेख्ने, भेला हुने आदि स्वतन्त्रता दिलाउछौं भनेर कहिले थाक्दैनन्। त्यसमाथि राष्ट्र विकासको सपनामा जनतालाई रुमल्याई रहन्छन्। तिनका प्रतिज्ञामा खै कुनै बिज फुटेर फल लाग्न सकेन। पार्टीको नाम चैं अनेक वाद लेख्छन् तर आफूले स्वीकारेको वादलाई पनि मान्दैनन्।’
‘ए मित्र, कति एकोहोरो फलाक्छौ। तिमीले कुरै बुझेनौ। तिमीले शब्दको अन्तर्निहित शब्दलाई बुझ्ने सकेनौ, देखिने शब्दको मात्र मतलव बुझ्यौ। अन्तर्निहित अर्थ बुझेका भए यस्तो कुरा गर्दै गर्दैनथियौ।’
सुपर्णखा एकपल्ट सनक्क सन्किए र भने, ‘त्यही त, बुझ्ने ठेक्का तिमीले मात्र लिएका छौ। तिमीबाहेक अरू सबै मूर्ख छन्।’
‘त्यसो हैन, मित्र। त्यत्तिकै सन्किहाल्न भएन नि। कुरा सुन्ने धैर्य राख न।’
‘पूरा कुरा नै नबुझीकन रिसाएर हुन्छ !’ मैले यति भनेपछि उनले आफूलाई सम्हालेर भने, ‘माफ गर मित्र, म आवेशमा आएछु। भन, मैले के बुझिनँ ?’
‘पहिले पार्टीको नाम के के भन्दैथियौ नि,
त्यो स्पष्ट पार त।’
उत्साहित हुँदै उनी बोले, ‘हेर न नेताहरू कोही आफू प्रजातान्त्रिक समाजवाद हाम्रो मूल लक्ष्य भन्छन् न प्रजातन्त्र न समाजवाद त्यहाँ भेटिन्छ। कोही माओवाद हाम्रो मूलमन्त्र भन्छन्, त्यहाँ माओवादको कुनै लक्षण भेटिँदैन। समाजवाद भन्नेहरू भित्र समाजवाद देखिँदैन। हुँदाहुँदा पार्टी फुटेको फुट्यै भइरहन्छ तर नाम सधैं एकीकृत। ती सबैभित्र त दादागिरी, निरंकुशता, मनोमानी चलिराखेकै छ। विधिले कहाँ चलेको छ र ! यस्तो नसुहाउँदो पनि यो दुनियाँमा कतै हुन्छ ?’
‘यो दुनियाँमा कहीँ नभए पनि यहाँ चै हुन्छ, मित्र। यसमा अचम्म नमान। कहीं नभएको जात्रा हाँडीगाउँमा भन्ने उखान पनि त हाम्रै देशमा मात्र चल्छ, सुनिन्छ। किनभने यहीं मात्र त्यो उखान भनिन्छ। अन्त कतै भनेको तिमीले सुनेका छौ ?’
‘त्यो त छैन। तर मेरो गुनासोको यो उखानसँग कसरी तालमेल खान्छ र’, उनले मेरो कुरामा प्रतिवाद गरे।
मैले भनें, ‘मित्र, तालमेल खान्छ। हेर, केटाकेटीमा हामी कुनै कुनै खेलमा भारेभुरे वाद भन्थ्यौं कि भन्दैनथ्यौं ? मतलब, सानाहरूबाहेक अरू सप्पै भनेको हो नि। हो त्यस्तै प्रजातान्त्रिक समाजवाद भनेको प्रजातान्त्रिक समाजबाहेक अरू सप्पै, माओ वाद भनेको माओ मान्नेबाहेक सप्पै मतलब आफू मात्रै हो। त्यसरी नै माक्र्सवाद हो, लेनिनवाद हो। तिमी कुरै बुझ्दैनौ। त्यसै रिसाउँछौ। ती सबैले जुन सोचले यो लेखेका वा भनेका छन्। त्यसबाहेक उनीहरू एक इन्च यताउति गएका छैनन्। हामी आफै बुझ्दैनौं त त्यसमा तिनको के दोष ! नबुझीकन आलोचना गर्नु हाम्रै दोष हैन र ?’
मित्र कड्किए, ‘त्यसो भए वाद छुट्याएर लेख्नु पथ्र्यो नि। किन त्यो शब्द समाज, माक्र्स, लेनिन माओसँग जोडेर लेखेका त ? छुट्टै लेखेका भए कसले के भन्थ्यो र ! सजिलै बुझिहालिन्थ्यो तिनीहरूले तीबाहेक सप्पै भनेका हुन् भनेर। अनि जति कुकर्म गरे पनि भनेअनुसार गरे भनिन्थ्यो।’
‘सबैले बुझ्ने गरी लेखेको भए, बोलेको भए तिमीले तिनलाई भोट हाल्थ्यौ ? अरू जनताले भोट हाल्थे ?’, मैले मुस्कुराउँदै भनें।
‘कस्तो छल, कस्तो कपट !’ उनले दिक्क मान्दै भने।
‘तिकडम भनेकै यै हो, मित्र। यति पनि जान्दैनौ, मान्दैनौ र अनुसरण गर्न सक्दैनौ भने राजनीति नगर।’ मेरो कुरा उनलाई चित्त बुझेछ क्या र, यसपालि चैं चुप लागेर उनी चिया पिउन लागे।