इन्टरपोलबाट रेड नोटिस जारी भएको ५ दिनमै कतारबाट एक जना पक्राउ
काठमाडौं : जबरजस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी रेड नोटिस जारी भएको ५ दिन भित्रै पक्राउ परेका छन्। करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार खोटाङ हलेसी तुवाचुङ नगरपालिका-७का १९ वर्षीय किरण राई रेड नोटिस जारी भएको ५ दिनभित्रै पक्राउ परेका हुन्।
प्रहरीका अनुसार एनसिबि दोहाको समन्वयमा कतारमा पक्राउ परेका उनलाई बुधबार नेपाल फिर्ता ल्याइएको छ। राईविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जबरजस्ती करणी मुद्दा दर्ता भएपछि अनुसन्धानको क्रममा उनी वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेको खुल्न आएको थियो। प्रहरीका अनुसार अन्तर्राष्ट्रिय स्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेशनल सेन्ट्रल व्यूरो (एनसिबी) काठमाडौंको अनुरोधमा इन्टरपोल महासचिवालयबाट यही पुस २० गते उनी विरुद्ध रेड नोटिस जारी भएको थियो।
प्रहरीले उनीमाथि आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।