भूकम्पले मुहान सुके, पानीको हाहाकार
जाजरकोट : भेरी–१ रिम्नाकी पूर्णकला रानालाई परिवारका लागि खानेपानीकै जोहो गर्ने पिरोलोले सताइरहन्छ। कात्तिक १७ को भूकम्पले पानीका मुहान सुकेपछि रिम्ना गाउँमा पानीको हांहाकार छ। पिउनेदेखि शौचालय जान र पशुचौपायालाई खुवाउने पानीको जोहो गर्नै यहाँको बासिन्दालाई धौ–धौ छ। ‘बिहान–बेलुका खानेपानी जुटाउँदैमा समय बित्छ’, पूर्णकलाले भनिन्, ‘चर्पीमा लिने पानी नहुँदा जंगलमा खुला शौच गर्न बाध्य छौं।’
गाउँदेखि माथि रहेको बुदबुदी खानेपानी मुहानको पानी भूकम्पका कारण भासिएपछि धारामा पानी आउन छोडेको हो। उक्त मुहानको खानेपानी बन्द भएपछि स्थानीय एक घण्टा टाढा रहेको भेरी नदीबाट पानी ल्याएर दैनिकी चलाइरहेका छन्। ‘बाटो उकालो छ,’ पूर्णकलाले भनिन्, ‘बोकेर धेरै पानी ल्याउन पनि सकिँदैन। गाग्रीमा बोकेको पानीले आफू प्रयोग गर्ने कि पशुचौपायालाई खुवाउने ? बढो समस्या भयो।’
भूकम्पले घर र चर्पी दुवै भत्किएका छन्। यहाँका बासिन्दा अझै त्रिपालमुनि छन्। ‘अस्थायी चर्पी भए पनि पानी नहुँदा प्रयोगविहीन छन्’, उनले भनिन्।
पानीको अभावमा धेरैजसो स्थानीयले खुला जंगलमा गएर दिसापिसाव गर्न थालेको बताउँछन्–स्थानीय दिलीप राना। ‘भूकम्पपछि त्रिपालको बसाई, हिउँदको चिसो,’ दिलीपले भने, ‘त्यहीमाथि खानेपानीको निकै समस्या छ।’
सरसफाइको अभावले गाउँलेमा पखाला, रुघाखोकी, टाइफाइडलगायतका समस्यासमेत देखिन थालेका छन्। रिम्ना गाउँमा डेढ सय घरपरिवार छन्। तल्लो भेग बजार क्षेत्रमा पर्ने र त्यहाँ नदीनजिकै भएकाले पनि त्यति समस्या छैन। तर, अलि माथि डाँडाटोलमा करिब ३० घरपरिवारका लागि पानीको निकै समस्या रहेको वडा सदस्य प्रजित रानाले बताए। रिम्ना बजारमा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा पनि खानेपानीको निकै समस्या रहेको प्रधानाध्यापक प्रेमबहादुर पुनले बताए। ४ सय ५० विद्यार्थी रहेको उक्त विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीलाई निकै समस्या भोगिरहेका छन्। खानेपानी नहुँदा सबैभन्दा शौचालय प्रयोगमा समस्या देखिएको छ। भूकम्पले विद्यालय, शौचालय र खानेपानीका ट्यांकी सबै भत्किएपछि अहिले केही संघ–संस्थाको सहयोगमा बनाइएका अस्थायी सिकाइ केन्द्रमा पढाइ भइरहेको छ। तर, खानेपानी र शौचालयमा कसैले ध्यान नदिँदा समस्या भएको प्रधानाध्यापक पुनले बताए। विद्यालयमा आउने पानीको मुहान नै भासिएपछि खानेपानीको समस्या भएको उनको भनाइ छ।
सोही वडाको कोलचौर गाउँमा पनि भूकम्पपछि खानेपानीको निकै समस्या देखिएको छ। करिब अढाई सय घरधुरी रहेको कोलचौरमा आपूर्ति हुँदै आएको खक्सेनी खोलाको पानीको मुहान भूकम्पपछि सुकेको छ। ‘मुहान भासिएपछि धारामा पानी आउन छोड्योे’, स्थानीय देवी चनाराले भनिन्, ‘एक गाग्री पानी लिन घण्टौं समय लाग्छ। पानी नहुँदा सरसफाइ गर्न, शौचालय जान र वस्तुभाउ(गाई–भैंसी)लाई खुवाउन पनि निकै समस्या भयो।’ अस्थायी आवास पनि अहिलेसम्म बन्न नसकेको उनको गुनासो छ। शौचालय र खानेपानीको समस्या समाधानमा त झन् कसैले चासो नदिएको उनले बताइन्।
सोही वडाको रिठापानी गाउँमा पनि खानेपानीको निकै समस्या देखिएको छ। रिठापानी गाउँमा २० घरधुरी छन्। त्यहाँका बासिन्दाले प्रयोग गर्दै आएको जस्यापानी मुहान पनि सुक्न थालेको छ। ट्यांकी चर्किएपछि धारामा पानी आउन छोडेको छ। जसका कारण खानेपानीको निकै समस्या रहेको स्थानीय लोककुमारी विकले बताइन्।
गाउँमा खानेपानी नहुँदा निकै समस्या परिरहेको उनले सुनाइन्। भूकम्पपछि भेरी नगरपालिका १, २ र ३ का धेरै मुहानहरू सुकेका छन्। नलगाड नगरपालिका ४ र ५ मा भने धेरै ठाउँमा मूल फुटेको वडाध्यक्ष बद्री पन्तले बताए। उनले नलगाड नगरपालिकामा केही ठाउँमा मूल फुटेको र केही ठाउँमा पानीका मूल सुकेपछि खानेपानीको अभाव देखिएको बताए। जिल्लाका धेरै ठाउँका मुहानमा क्षति पुगेको भए पनि कति ठाउँमा खानेपानीका मुहानमा क्षति पुगेको भन्नेबारे हालसम्म सम्बन्धित निकायले तथ्यांक राखेको छैन।