पानी बिना कसरी बाँचौं ?
भूकम्पले खानेपानीका मूल सुके। गाउँमा खानेपानीको हाहाकार छ। भूकम्पको पीडा त छँदै छ, खानेपानी पनि नहुँदा हामीलाई कस्तो पीडा परेको होला ?
धारामा पानी नआउँदा दैनिकी नै प्रभावित भइरहेको छ। पानी नहुँदा शौचालय जान पाएका छैनौं। गाउँलेहरू जंगलमा शौच गरिरहेका छन्। नुहाइधुवाइ गर्न र सरसफाइ गर्न त परको कुरा भयो। पशुवस्तुलाई पानी खुवाउन पनि उस्तै कठिनाइ छ। पानी भएका बेला घरनजिक तरकारी लगाउँथ्यांै। बारीकै तरकारी खान पाइन्थ्यो। खानकै लागि पानी नभएपछि तरकारीमा हाल्न कहाँबाट पानी पाइन्थ्यो ? पानी लिन जान भेरीमा पुग्नुपर्छ। एक घण्टाभन्दा बढी समय लाग्छ।
त्यो पनि फोहोर छ। पैदलै हिँड्नुपर्छ, कसले बोकी दिने ?
खानेपानीको समस्या विद्यालयमा पनि छ। गाउँमा रहेको भेरी त्रिवेणी माध्यमिक विद्यालयमा खानेपानी नहुँदा विद्यार्थीलाई पनि निकै समस्या छ। साढे चार सय विद्यार्थी छन्। उनीहरूलाई पनि शौचालयमा प्रयोग गर्न पानी छैन। खानेपानी समस्याले रिम्ना गाउँ र कोलचौर लगायतका गाउँमा निकै समस्या परेको छ। भूकम्पपछि धेरै खानेपानीका मुहान भासिएका छन्। चर्किएका छन्। ट्यांकीमा क्षति पुगेको छ। पानी नै जीवन रहेछ। पानी बिना हामी कसरी बाँच्ने ?
(राना, जाजरकोटको भेरी–१ रिम्ना गाउँ डाँडाटोल निवासी हुन्।)