नदी झैं जिन्दगी
राम्रो या नराम्रो बानी के भनौं– दुःख र आँसु कसैलाई देखाउन चाहन्नँ। लाग्छ, आफ्नो दुःख पीर कसैलाई सेयर ग¥यो भने ऊ पनि दुःखी हुन्छ होला। यसैले मेरो आँसु देख्ने, दुःख अनुभव गर्ने र अँध्यारो अनुहार देख्ने मान्छे बिरलै छन्। तर जब अत्यन्तै पीडामा हुन्छु। दुःखी हुन्छु र एक्लै मनमनै रोइरहेकी हुन्छु तब मेरा ससुराबुवा अक्सिजन कवि बालकृष्ण अधिकारी सपनामा आउनुहुन्छ। भौतिक शरीर हामीसँगै भएको बेला जस्तै उज्यालो, हँसिलो र जीवित हुँदा केही सिकाइरहे झैं। त्यसरी नै अर्ती दिइरहे झैं।
पुस २८ गते पनि उहाँ सपनामा आउनु भयो। चम्किलो सेतो लुगा लगाउनु भएको उहाँ हाँस्दै मैं भएतिर आउनु भयो। मेरा लागि केही सामान दिए झैं थपक्क राखिदिएर फर्किनु भयो। बोल्न खोजे झैं गर्दागर्दै बोेल्न भने पाइनँ। झल्यास्स ब्युँझँदा उज्यालो भइसकेको रहेछ। बुवालाई सपनामा देखेपछि जीवनमा केही सकारात्मक कुरा हुन्छ भन्नेमा एकदमै ढुक्क छु।
उठ्नासाथ आमाले भन्नुभयो, ‘बिन्दु दिदीसँग कुरा भयो ?’ मसँग दिदीको चार लाइन च्याटमा कुरा भएको थियो। त्यही बताएँ अनि सोधें, ‘किन केही कुरा थियो र ?’ आमाले भन्नुभयो, ‘पर्सि बुवाको जन्मदिन कुनै आश्रममा जाने हो कि भन्ने दिदीको कुरा छ।’ ओहो हो त ! म कस्तो बुद्धु ? बुवाको जन्मदिन नै भुलेछु। तर दुई दिन समय पनि त छ नि। त्यो दिनसम्म त पक्कैै सम्झिने नै थिएँ आफैंले मन बुझाएँ।
बुवा र मेरो छुट्टै प्रकारको ‘अट्याचमेन्ट’ थियो। ससुरासँग १३ वर्षमात्रै सँगै बस्ने अवसर पाएँ। यसबीच जे जति सिक्ने र जान्ने अवसर पाएँ, त्यो जीवनभरलाई नै काफी छ जस्तो लाग्छ यदि उहाँका सम्पूर्ण कुरा अनुसरण गर्दै गएँ भने। म बालसाहित्यमा कलम चलाउने मान्छे। मेरा पाठक धेरै बालबालिका छन्। स्कुलमा बालबालिकासँग कार्यक्रममा जाँदा बालबालिकाबाट धेरै सोधिने प्रश्न हो, ‘तपाईंले कसको पे्ररणाले र कसरी लेख्न थाल्नु भयो ?’
मेरो लेखन थालनीको कुरा सुनाउँदा ती अबोध बच्चाले त खै कुन्नी कसरी बुझ्छन् ? तर मलाई कार्यक्रम सकिएपछि प्रायः स्कुलमा शिक्षकहरूले पनि सोध्नुहुन्छ, ‘के तपाईंको प्रेरणाको स्रोत तपाईंको ससुरा हो ?’ म भन्छु, ‘हो। उहाँकै प्रेरणाले नै लेख्न थालेको हो। उबेला विराटनगरका प्रत्येक कविगोष्ठीमा बुवालाई डोहो¥याएर लिएर हिँड्दा हिँड्दै खै कसरी लेखनप्रति आकर्षण बढ्यो कुन्नि ? पहिला सुन्न मज्जा लाग्थ्यो, पछि लेख्ने हिम्मत बढ्यो। कविताभन्दा गजल लेख्न बढी मन लाग्ने अनि मेरो रहर देखेर बुवाले गजलकार पदमप्रसाद भट्टराईलाई घरमै बोलाइदिएर भन्नुभएथ्यो, ‘यी मेरी बुहारीलाई गजल लेख्न सिकाइदिनु प¥यो। यिनले रहर गरिन्।’
त्यसबेला उहाँले पहिलोपटक गजल लेखनका अधारभूत कुरा सिकाएर एउटा गजल लेख्न दिनुभयो। त्यो गजल मेरो गजल संग्रह ‘जलसा’मा समावेश गरेकी छु। काठमाडौं आएपछि भने मलाई बालसाहित्यमा रस भिज्दै गयो। २०७२ सालमा कान्तिपुरको कोपिलामा बालबालिकाका लागि लेखेको लेख छापिएपछि बुवाले फोन गरेर आफन्तलाई सुनाउनु भएछ। अनि छतमा गएर सबै छिमेकीलाई पत्रिकासहित देखाउनु भएको थियो।
अक्सिजनको सहारामा बाँचिरहनु भएको उहाँले पत्रिकामा मेरो लेख आएको दिन भन्नुभएथ्यो, ‘यमुना आज मेरो १० प्रतिशत रोग निको भयो।’ मेरा लागि त्योभन्दा ठूलो हौसला अरू के हुन सक्थ्यो ? यी सबै कुरा सुनेपछि धेरैका अनुहार बदलिएको देखेकी छु। उहाँहरूको मनमा आउँथ्यो होला, ‘ससुराले बुहारीलाई यति सपोर्ट ?’ वास्तविकता यही हो।
बुवाले मलाई मात्रै होइन, केही गर्छु भन्ने सबैलाई यसरी हौस्याएको हुनुपर्छ।
धनकुटाको चुङ्माङमा २०१० माघ २ गते जन्मभै विभिन्न आरोह–अवरोहलाई झेल्दै युवावस्थादेखि नै फोक्सोको समस्याले सतायो ससुरालाई। कति हतास नभई उहाँले आफ्नो व्यापारिक धर्म निभाउँदै जीवनको पछिल्लो चरणमा अक्सिजनको सहारा लिएर कलम चलाइरहनु भयो। सोही क्रममा उहाँको कविता कृति ‘राष्ट्रियता बोल्दछ’ पुस्तक प्रकाशित भयो। कान्तिपुरमा ‘अक्सिजन कवि’ हेडलाइनमा समाचार प्रकाशन भयो। त्यसपछि उहाँ अक्सिजन कविका नामले चिनिन थाल्नुभयो। लोकसेवा आयोगमा समेत अक्सिजन कविको नाम समावेश गरिएको छ।
अक्सिजन लिएरै बसेको अवस्थामा उहाँको अर्काे कविता कृति प्रकाशित भयो, ‘समृद्ध बनाउँ नेपाल’। यो बेलासम्म उहाँ धेरै गलिसक्नु भएको थियो। उहाँलाई आफ्नो जीवनी लेख्ने रहर थियो। होसचेत हुँदासम्म लेखिरहनु भयो। अफसोस उहाँले लेख्नुभएको उहाँको जीवनकथा ‘नदी झैं जिन्दगी’ उहाँ हुँदै विमोचन गर्ने हाम्रो सपना पूरा हुन सकेन। पुस्तक अन्तिम चरणमा पुगेको थियो। उहाँ अस्पतालको शैय्यामा मृत्युसँग लडिरहनुु भएको थियो।
बुकको डमी बनाएर उहाँको हातमा राख्नसम्म पाइयो। त्यसको केही दिनपछि ६३ वर्षको उमेरमा उहाँले भौतिक शरीर त्याग्नुभयो। अक्सिजन कविको भौतिक शरीर नदी झैं बगेर कता पुग्यो कता !
तर शब्दमा बाँचिरहनु भएको छ अनि बस्नु भएको छ मन मुटुमा।
सन्दर्भ : अक्सिजन कविको जन्मजयन्ती।