एनआरएनएले दियो सुनसरी रेडक्रसलाई 'मोबाइल ब्लड संकलन बस'
धरान : गैर आवासीय नेपाली महासंघ (एनआएनए) ले सुनसरी रेडक्रसलाई 'मोबाइल ब्लड संकलन बस' उपलब्ध गराएको छ । महासंघले बुधबार धरानमा एक कार्यक्रमको आयोजना गरी उक्त बस कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीमार्फत सुनसरी रेडक्रसलाई हस्तान्तरण गरेको हो।
बिरामीको उपचारलाई सहयोग पुर्याउने उद्देश्यले एनआरएनएले सातवटै प्रदेशमा एक/एक वटा ब्लड संकलनका लागि बस वितरण गर्ने महासंघका अध्यक्ष बद्री केसीले बताए । उनले लाखौं नेपालीहरु वैदेशिक रोजगारीको लागि विभिन्न मुलुकमा बसोबास गर्दे आएको भएपनि नेपालको विकास र समृद्धिका लागि आफूहरुले सहयोगका लागि हातेमालो गर्दै आएको बताए ।
महासंघका महासचिव डा. हेमराज शर्माले यस अगाडि बागमती र सुदूरपश्चिम प्रदेशलाई एक/एक थान मोबाइल ब्लड संकलन बस उपलब्ध गराइएको बताए । मख्यमन्त्री केदार कार्कीले एनआरएनएका पदाधिकारीहरुलाई कोशी प्रदेशको विकास र समृद्धिका लागि हात्तेमालो गरी अगाडि बढ्न आग्रह गरेका छन् ।
उनले मोबाइल ब्लड संकलन बसले कोशी प्रदेशमा जनताको उपचारलाई सहज पुर्याउने विश्वास व्यक्त गरे । सुनसरी रेडक्रसले कोशीका विभिन्न जिल्लामा गएर रगत संकलन गर्दै आएको छ । एनआरएनएले उपलब्ध गराएको बस भित्र रक्तदान गर्न सकिने रेडक्रस सुनसरीका सभापती उमेश थापाले बताएका छन् ।