अयोध्यामा राम मन्दिर उद्घाटन हुने दिन वीरगन्जमा माछा-मासु र मदिरा पसल बन्द हुने
वीरगन्ज : भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटनका दिन माघ ८ गते वीरगन्जका माछा-मासु र मदिराको पसल तथा होटलहरू बन्द गर्न वीरगन्ज महानगरपालिकाले निर्देशन दिएको छ।
अयोध्याको राम मन्दिरको उद्घाटनकै दिन माघ ८ गते वीरगन्ज १० घडिअर्वास्थित पुर्ननिर्मित रामजानकी मन्दिरमापन भगवान राम र माता सीताको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गरिने भएकाले त्यसदिन वीरगन्जमा माछा-मासु र मदिराका पसल बन्द गर्न महानगरपालिकाले निर्देशन दिएको हो।
बुधबार महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले जारी गरेको सूचनामा भनिएको छ, 'अयोध्याको नवनिर्मित राम मन्दिरको उद्घाटनकै अवसर पारेर वीरगन्जको रामजानकी मन्दिरमा पनि माघ ८ गते भगवान राम र माता सिताको मूर्ति स्थापना र प्राणप्रतिष्ठा गर्ने कार्यक्रम रहेकाले उक्त दिन कुनै पनि पशु वा पन्छीको बध, माछा-मासुको बिक्री-वितरण लगायतका कार्य नगरिदिनुहुन सरोकारवाला व्यवसायीहरूलाई सूचीत गरिन्छ।'
महानगरको यो सूचनालाई अटेर गरेको पाइएमा सम्बन्धि व्याक्तिलाई नियामानुसार कारबाही गरिने चेतावनीसमेत महानगरपालिकाले सूचनामार्फत् दिएको छ।
यसअघि मंगलबार विश्व हिन्दु परिषदले पनि माघ ८ गतेका दिन वीरगन्जमा माछा-मासु र मदिराका पसल बन्द गराइदिन आग्रह गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएको थियो।