पुर्ख्यौली पेशाको संरक्षण गर्दै हिराबहादुर
दोलखा : भीमेश्वर नगरपालिका–४ का हिराबहादुर घतानीले आफ्नो पुर्ख्यौली पेसा काठलाई कुँदेर बनाइने सामग्रीलाई संरक्षण गर्दै आएका छन्। बुबाले गर्दै आएको पेसालाई हिराबहादुरले ६/७ वर्षदेखि सम्हालेका छन्।
उनले मेसिनको प्रयोग गरी परम्परागत रूपमा काठबाट निर्मित कलात्मक तरिकाले कुँदिएका दूध दुहुने ढुङ्ग्रो, दही जमाउने ठेकी, अन्न भर्ने पाथी र माना तथा घ्यू जमाउने हर्पे, मोही पार्ने घुर्रो, चिया पिउने कपजस्ता सामग्रीहरू बनाउँदै आएका छन्।
विद्युतको प्रयोग गरी काठमा जीवन्त कला भरेर काँचो काठलाई आकारमा ढालेर विभिन्न सामग्री बनाउने गरेका छन्। बाउबाजेले अत्यन्तै कष्टकर ढंगले खोलाको पानीको प्रयोग गरेर आफ्नो स्वास्थ्यलाई जोखिममा राखेर सामग्रीहरू बनाउने गरेका र अहिले प्रविधिको विकासका कारण काम गर्न अलि सहज भएको हिराबहादुरले बताए। ‘मेहनत धेरै गर्नुपर्छ। काम अनुसारको आम्दानी हुँदैन। धेरै दुःख गर्नुपर्ने भएकाले नयाँ पुस्ताले यो पेसाप्रति चासो दिनै छाडेका छन्,' उनले भने।
पहिलेको जस्तो उत्पादित सामग्री राम्रोसँग बिक्री हुँदैन। पहिला त उत्पादित सामग्री गाउँमा नै बिक्री हुने गरेको थियो। अहिले गाउँमा ती वस्तु लोप हुने अवस्थामा पुगेका उनको भनाइ छ। ‘हाम्रो पुर्ख्यौली पेसा संकटमा पर्न थालेको छ। त्यसकारण आफू यो पेसालाई जोगाउनुपर्छ भनेर लागि परेको हो', उनले भने।
ठेकीमा जमाएको घ्यु, दही र मोही निक्कै मीठो हुने बिक बताउँछन। अहिलेको पुस्ताले यसको प्रयोग कम गर्ने र घरेलु रूपमा प्रयोग हुने काठका भाँडाको सट्टामा बजारमा किन्न पाइने आधुनिक सामानको प्रयोग बढ्दै गएपछि काठका भाँडा लोप हुँदै गएका छन्। प्लास्टिक, आल्मुनियम र सिल्भरका भाँडाको प्रयोग बढ्दै गएपछि गाउँघरमा प्रयोग हुने काठका ठेकी, हर्पे, कुरुवा, पाथीजस्ता काठको भाँडा लोप हुने अवस्थामा पुगेको हो।
मेहनत अनुसारको आम्दानी त हुँदैन तर आफ्नो परम्परागत पेसालाई जोगाई राख्नका लागि र पछिल्ला पुस्ताले पनि अनुसरण गरोस् भन्ने लक्ष्यले पेसालाई निरन्तरता दिइएको उनको भनाइ छ। पानीको प्रयोगबाट सामग्री बनाउँदा वर्षमा ४/५ लाख आम्दानी हुने गर्थ्यो विद्युतबाट सामग्री बनाउँदा चाहिँ सजिलो भए पनि अलि खर्चिलो हुने उनले बताए।
काठको सामग्री बनाउन दार, पँयले, काउलो, मौवालगायत रुखको काठ उपयोगी हुन्छ। उनका अनुसार पछिल्लो समय त्यस्ता काठसमेत अभाव हुँदै गएको छ। 'अहिले वडाले पनि हाम्रो पेसाको निरन्तरताका लागि एक लाख अनुदान सहयोग गरेपछि विद्युतीय विभिन्न यन्त्र उपकरण किनेर काम सुरु गरेका छौं,' उनले भने। केही समयअघि सञ्चालन भएको उनले महोत्सवमा २ लाख ५० हजारभन्दा बढीको व्यापार गरे। काठबाट बन्ने विभिन्न सामग्रीलाई प्राथमिकता दिएर वडाबाट १ लाख रुपैयाँ अनुदान प्रदान गरिएको वडाध्यक्ष तारानाथ चौलागाईंले बताए।