९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ
काठमाडौं : प्रहरीले कर्तव्य ज्यानसम्बन्धी घटनामा ९ वर्षदेखि फरार अभियुक्तलाई पक्राउ गरि सार्वजनिक गरेको छ।
प्रहरीको उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार पत्रकार सम्मेलन गर्दै २०७१ कात्तिक १ गते काठमाडौं सेतिदेवीमा एक महिलाको हत्या गरि फरार रहेका म्याग्दी घर भएका समर बहादुर सार्कीलाई पक्राउ गरि सार्वजनिक गरेको हो।
उनले काठमाडौं सेतिदेवी, तौथली कुष्टरोग आरोग्य आश्रमको शौचालयभित्र म्याग्दी कुहु स्थायी वतन भएकी २३ वर्षीया सुनमाया किसान (सार्की)को हत्या गरेका थिए।
सुनमायाले मोबाइलमा ठूलो स्वरले कुरा गरेको विषयमा विवाद भएपछि झगडा हुँदा समर बहादुरले हत्या गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका डीएसपी सुरक्षा केसीले जानकारी दिए।
वैशाख १६ गते काठमाडौंको चाल्नाखेल क्षेत्रबाट पक्राउ परेका समर बहादुरलाई आवश्यक कानुनी कारबाहीका लागि प्रहरी वृत्त कीर्तिपुर पठाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ।