मानौं, कर्णाली कोशीलगायतका हिमनदी जस्तै हुन् देउडा गीत पनि। पानीको मुहान हिमाल भएजस्तै देउडा गीत–संगीतको मुहान माटो र प्रकृति हो। प्रकृतिले पूजित छ, देउडा गीत–संगीत। त्यसपछि मात्र सुदूरका संस्कृतिप्रेमीले विकास र विस्तार गरेका हुन्, देउडा गीतलाई।
धिपीधिपी बत्ती बल्यो बझाङ्गी बाराको
यति माया म क्या लागी सुनका हाराको।
केही दिनपहिले बझाङ्गी समाज काठमाडौंले सुदूर र कर्णाली प्रदेशको ऐतिहासिक पर्व भुवोको सम्झना गर्दै सांस्कृतिक कार्यक्रमको आयोजना गर्यो। देउडा खेल्न र देउडा गाउन तिर्खाएका त्यस क्षेत्रका सयौं मानिस आफ्नो पुरानो पहिरनमा कार्यक्रममा जम्मा भए।
देउडा खेल र भुवो पर्व यस क्षेत्रका भिन्दाभिन्दै पर्व हुन्। भुवो ऐतिहासिक पर्व हो। वीरगाथामा आधारित यो पर्व पुस महिनामा मात्र खेलिन्छ। पृथ्वी
मातालाई खुसी पारी पाण्डवको वनवासको सन्दर्भलाई जोडेर यो पर्व मनाइन्छ। पौष कृष्ण औंसीका दिन पश्चिम पहाडका गाउँबस्तीमा भुवाखाडो (पटांगिनी)मा विधिपूर्वक काठका मुढाबाली भूमिको पूजा गरिन्छ।
हातमा तलबार र ढाल समातेर अनौठो तरिकाले गोलाकार रूपमा वीरगाथा गाउँदै नाच्ने गरिन्छ। जसलाई भस्वो पर्व पनि भनिन्छ। गाउँबस्तीमा मनाउने तरिका केही फरक भए पनि यो पर्वको विशेषता पृथ्वीको पूजा गर्नु र पाण्डव कौरव बीचमा लडाइँका वीरगाथाहरू नाच्दै भट्ट्याउनु हो। प्रत्येक वर्ष पुस महिनामा यो पर्व यस क्षेत्रमा मनाउने गरिन्छ। यसको महत्त् व बुझेर यस वर्ष सुदूरपश्चिम प्रदेशले गत औंसी तिथिका दिन सार्वजनिक बिदा पनि दियो। महिलावर्ग यस पर्वमा दर्शकमात्र बन्ने हुँदा उनीहरूलाई देउडा ननाची गीतमा सबालजबाफ नगरी चित्त बुझ्दैन।
त्यसैले पनि महिलाको मनको धोको मेटाउन देउडा खेल नै प्रमुख माध्यम बनेको छ।मानवतावादी राजा जयपृथ्वीबहादुर सिंह जन्मेको बझाङको बान्नीकोटको सम्झना गर्दै प्रेमरूपी धिपीधिपी बत्ती बलिरहेको छ भनी गीतमा प्राचीन दरबारको सम्झना गरेको छ। देउडा खेल्ने दौतरी (जसलाई गीतकारले सुनको मालाको उपमा दिएका छन्) को याद र मायाले टाढाबाट सम्झना गरिरहेछु भनेर भाव व्यक्त गरिएको पाइन्छ।
देउडा गीतमा केवल एउटामात्र रङ हुन्न, प्रेम र भावनाको रस पनि हुन्छ। अब यो रङ र भावनाको रस केवल सुदूरपश्चिम र कर्णालीका हरेक कुनामा बसोबास गर्ने व्यक्तिका साझा सांस्कृतिक सम्पत्ति बन्न पुगेका छन्। कुनै बेला लोग्ने मानिस देखेमा लाजले गीत गाउन धक मान्ने महिला तिनै पुरुषलाई गीतमा व्यंग्य गरेर प्रश्न सोध्ने गर्छन् वर्तमानमा। ७४ वर्षीय लालमती सिंह (दार्चुला)को बुझाइ छ।
देउडा गीतमा आएको गुणात्मकताको वाणी हो यो। देउडा गीतको रस बुझेको, देउडा गीतमा तत्काल सबालजबाफ गर्न सक्ने देउडियाको उपस्थिति भए पुग्यो। यति भएपछि सुरु भयो सुप र कर्णाली प्रदेशको मौलिक संस्कृति देउडा खेल। हालै राजधानीमा सांस्कृतिक समाज नेपालद्वारा आयोजित अर्को कार्यक्रममा यही देखियो। राजनीतिककर्मी छविलाल विश्वकर्माले पनि गायक उमाशंकर जोशी, भानुभक्त जोशी, भुवन बडू, गायिका भावना चन्द, दीपा रोकाया, शोभा थापा, टेक बोगटीलगायतले गाएको देउडा गीतको प्रस्तुतिमा नरनारीले सहज रूपमा पाइँतला मिलाएबाट प्रस्टियो।
एकातिर अपि हिमाल (दार्चुला) संस्थाका कलाकार स्थानीय भेषभूषामा देखिन्थे। हर्कमती लोथ्याल, जयन्ती बोहरा, राधा धामी, शिरमा चाँदीका गहना, घाँटी र हातमा पुराना जमानाका गहना र छातीमा कम्पनीका माला, कपालमा मुन्याठो बाँधेर देउडा खेलमा दरिलो उपस्थिति देखाइरहेका थिए। अर्कोतिर विरही बम, सो समाजको अध्यक्ष रामदत्त पन्त, दुर्गा ओझा, ज्वाला विष्ट, करुणा शाही, सुशीला अवस्थी, गायिका टीका पुनजस्ता देउडा गीतको भावपक्ष बुझ्ने स्रष्टाहरूको उपस्थितिमा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानकी सदस्यसचिव कुश्मा महरा पनि देउडामा राम्रैसँग नाचेको देखिन्थ्यो।
पाटन ठूलो खप्तडको भीर ठूलो भासुको
हिसाब किताब राखी राख्यै यी मेरा आँसुको।
महाकवि देवकोटाको अमर कृति मुनामदन र युगकवि सिद्धिचरण श्रेष्ठको मेरो प्यारो ओखलढुंगा कविताको झैं सरल तथा गहन भाव भेटिन्छ, माथिको देउडा गीतमा। भासुको भीर कैलाली जिल्लाको चट्टानीय भूभाग हो। जहाँ कामदार र गाडी पल्टेर यात्रु २०३० सालदेखि हालसम्म दसभन्दा बढीको
मृत्यु भइसकेको छ।
डरलाग्दो यो भीर देखेर यात्रु तर्सन्छन्। राष्ट्रिय निकुञ्ज खप्तडका पाटनमा पाइने अलौकिक आनन्द अन्त पाइँदैन भनी पाटन (घाँसे मैदान)को वर्णन छ गीतमा। गीतले भन्छ, मानिसका आँसु, हर्ष र पीडाको बेला झर्ने गर्छन्। खप्तडको पाटनमा मिलन हुँदाको हर्षको आँसु र भासुको भीरमा बिछोड हुँदाको पीडामा खसेका आँसुको हिसाब त राखेको होला नि ? गीतले प्रश्न गर्छ।
दार्चुलाकी शान्ति धामी, जुम्लाकी लक्ष्मी देवकोटा, माया बोहरा, बाजुराकी जसुदा आचार्य, बझाङकी लक्ष्मी खड्का, नन्दबहादुर खड्का, विरही बमलगायतले देउडा खेलमा नाम चलेका कलाकारले भुवो पर्वको बेला र गत माघी संक्रान्तिमा पनि आफ्नो संस्कृति जोगाउन देउडा खेलेर मातृभूमिलाई सम्झे।
पूर्वमन्त्री भानुभक्त जोशी पुराना संस्कृतिकर्मी रामलाल खड्का, भक्तबहादुर खड्का, खगेन्द्र जोशीलगायतका व्यक्तिले भुवोपर्वका साथै देउडा खेललाई महत्त् व दिएर धेरै समय बझाङ, अछाम, बाजुरा, जुम्ला, बैतडी आदि जिल्लामा खेलिने पुराना भाकाका मर्यादित देउडा गीत ६४ वर्षीया उज्जला गिरीले पनि गाउँदा वास्तवमा राजधानी देउडा गीतसंगीतले रंगियो। संस्कृतिप्रतिको अपनत्वका कारण खेलमा सबैथरीले जन्मभूमिको याद गरे।
देउडामा विकृति भित्रिन नदिन पुराना पिँढीका सर्जकलाई समाजले सम्मान जनाउनुपर्ने कुरामा जोड दिँदै भानुभक्त जोशी, रमेश भण्डारी, झलक कठायत, मानबहादुर बम, जन्मजय जोशी आदिको हात समातेर देउडामा हौसिँदै थिए।
मालिकाका धुरामीको सल्लो हो कि दल्लो
मेरी बैनाको झान्या बाटो तल्लो हो कि मल्लो ?
विरही बमको गीतको यो प्रश्नको बहुअर्थ लाग्छ। राजनीतिक घोचपेच, जातीयता र सामाजिक मर्यादा आदि। एउटा सफल गीतकारले सोधेको प्रश्न सहजै बुझिहाल्छ। गीतमा आँसुकवि कहलिहेकी जसुदा आचार्यले उत्तर यसरी दिइन्–
मालिकाका धुरामीको सल्लो होइन दल्लो
मैले हिँड्न्या बाटो दाजु तल्लो होइन मल्लो।
आकाश छुने धुरा (अग्ला डाँडा)मा सल्लाका रुखभन्दा दल्लो (कडा काठ) मात्र उम्रने गर्छ। आफू त्यही ठाउँमा घुम्ने मान्छे हुँ। कहिले देवी शक्तिका रूपमा देखा पर्छु त कहिले संस्कृतिकर्मीका रूपमा। त्यसैले म चोखी छु जात र धर्ममा अनि पो माथिल्लो बाटो रोजेर यहाँसम्म पुगे।
संस्कृतका शब्दहरू झैं देउडा गीतभित्र लुकेका शब्दहरू बहुअर्थी हुने हुँदा सामान्य धरातलबाट देउडा गीत बुझ्न सकिँदैन। गीतको गहिराइमा पुगेको र रातादिन देउडा साहित्यमा मन लगाउने सर्जकले मात्र शब्द शब्दको अर्थ लगाउँछ। कुनै बेला सुपमा मनाइने महत्त् वपूर्ण पर्वहरू बिसु, गौरा, ओल्क्या, भुवो, माघी, चैतली, होरी आदिमा मुस्किलले २०–२५ जनाको जमघट हुने गथ्र्यो राजधानीमा। अहिले सयौंको संख्यामा त्यस क्षेत्रका नरनारीको भव्य उपस्थिति देखा पर्छ। सहरमा बसोबास गर्ने संस्कृतिकर्मीको अकुल्याई (गहिरो सम्झना)ले यी पर्वहरूमा जम्मा हुने गर्छन् र देउडामा झुम्मिने गर्दछन्।
यस्तो किन भइरहेछ भन्ने प्रश्नको जवाफमा पुराना पिँढीका देउडा गायक तथा कवि मोतीराज बम (कालीकोट) देउडा साहित्यको अध्यता हेमन्त विवश (डोटी) संस्कृतिकर्मी तथा हिमाल डेन्टल अस्पतालका निर्देशक डा. राजेन्द्र भट्ट (डँडेलधुरा) प्रा.डा. अमरराज जोशी (बझाङ) र कोषकार आर.डी. प्रभास चटौत (डँडेलधुरा) को एउटै मत पाएँ।
भन्नुहुन्छ, ‘कामको खोजीमा गाउँका मानिस सहर पसे, आआफ्नो व्यवसायमा लागे। गाउँ रित्तिँदा समाज र संस्कृतिलाई पनि घाटा हुने डर हुन्छ। जेहोस् लुकेको संस्कृति बाहिर देखा पर्दैछ। गौरवको विषय मान्नुपर्छ।’
तल्लो घट्ट पत्थरीय मल्लाको पाखो लाउ
हात पुग्याले चिउडी समाउ स्वर पुग्या डाको लाउ।