राम मन्दिरमा प्राण प्रतिष्ठा : वाल्मीकि आश्रममा छैन चहलपहल
नवलपरासी : भारतको अयोध्यायस्थित राम मन्दिरमा हुने प्राण प्रतिष्ठाका दिन नेपालका केही पालिकाहरुले सार्वजनिक बिदासमेत दिएका छन्। पालिकाहरुले विज्ञप्ति निकालेर त्यस दिन पालिकाभित्र मासु तथा मदिरा बिक्री वितरणमा रोक लगाएका छन्।
प्राण प्रतिष्ठाका दिन देशका विभिन्न जिल्लाका धार्मिक संस्थाहरुले जिल्लामा धार्मिक र्यालीसहितका कार्यक्रम गर्दै छन्। नवलपरासीका केही पालिकाहरुले पनि त्यस दिन मासु र मदिरा बिक्री वितरणमा रोक लगाउँदै जिल्लामा हुने धार्मिक कार्यक्रममा सहभागी हुन विज्ञप्ति निकालेर अनुरोध गरेका छन्। त्यस दिन नवलपरासीस्थित एक धार्मिक संस्थाले सदरमुकाम परासीमा वृहत धार्मिक र्यालीको आयोजना गरेको छ। तर नवलपरासीसँग जोडिएको वाल्मीकि आश्रममा भने त्यस दिन पालिका र अन्य कुनै पनि निकायबाट कार्यक्रम राखिएको छैन।
माघ ८ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीद्वारा आयोध्यायको राम मन्दिरमा प्राण प्रतिष्ठाका लागि एक भव्य कार्यक्रमको आयोजना गरिएको छ। बाग्मती प्रदेशअन्तर्गत चितवन जिल्लाको माडी नगरपालिका–१ मा पर्ने आश्रममा पालिकाले समेत कुनै कार्यक्रम राखेको छैन। त्यस दिन आश्रम र अन्य क्षेत्रमा कुनै पनि धार्मिक कार्यक्रम नराखिएको नगरपालिकाका मेयर ताराकुमारी काजी महतोले बताइन्।
पालिका र अन्य निकायबाट कार्यक्रम नराखेपछि आश्रमका लागि नागरिकस्तरबाट गठन गरिएको संरक्षण समितिले सामान्य कार्यक्रम राखेको छ। प्राण प्रतिष्ठाका दिन आश्रम क्षेत्रमा दीप प्रज्ज्वलन कार्यक्रम राखिएको आश्रम संरक्षणका लागि गठन गरिएको ‘विश्व सनातन धर्म स्थापनार्थ मूल समिति’ का अध्यक्ष दीपकजंग रायमाझीले बताए। ‘प्राण प्रतिष्ठाका दिन अहिलेसम्म पालिका र अन्य निकायबाट आश्रम क्षेत्रमा कार्यक्रम राखेको जानकारी छैन। प्राण प्रतिष्ठामा सहभागिता स्वरुप हामीले त्यस दिन दीप प्रज्ज्वलन कार्यक्रम राखेका छौं। ’ अध्यक्ष रायमाझीले भने।
धार्मिक मान्यताअनुसार यो आश्रम क्षेत्र त्रेतायुगमा रामले पत्नी सीतालाई त्याग गरेपछि सीताले त्यही जीवन बिताएको स्थान हो। जहाँ सीताले लवकुशलाई जन्म दिएको र पछि सीता धर्तीमा बिलिन (पाताल प्रवेश) भएको धार्मिक मान्यता छ।
सरकारी संरक्षणका कारण त्यस क्षेत्र ओझेलमा पर्दै गएको छ। आश्रम क्षेत्रमा रामायणकालीन सामग्रीहरु रहेका छन्। लवकुश जन्मेको स्थल, सीताले प्रयोग गर्ने सिलौटा, लवकुशले घोडा बाँधेको तबेला, विष्णु चक्र, वाल्मीकि ऋषि अन्तध्र्यान भएको स्थल, अठासी हजार ऋषिद्धारा वाल्मीकि ऋषिले हवन गरेको कुण्ड, अमृत कुवा, विष्णु चक्रलगायत पुरातात्विक सामग्रीहरु रहेका छन्।
ति सामग्रीहरुलाई सामान्य तारबार गरेर सुरक्षित राख्ने सरकारी प्रयाससमेत गरिएको छैन। वाल्मीकि आश्रम पुग्नका लागि नेपालबाट सोझैं मार्ग नहुँदा पश्चिम नवलपरासीको बर्दघाटदेखि पूर्वी नवलपरासीको त्रिवेणीहुँदै भारतको भैंसालोटनबाट जानुपर्ने बाध्यता छ।
यो पनि पढ्नुहोस