खोप्लाङमा काजी कालु पाँडेको दरबार बन्दै

खोप्लाङमा काजी कालु पाँडेको दरबार बन्दै
पालुङ्टार १ खोप्लाङमा निर्माणाधीन काजी कालु पाँडेको दरबार।
सुन्नुहोस्

गोरखा : गोरखाको खोप्लाङमा काजी कालु पाँडेको दरबार निर्माण भइरहेको छ। नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहका प्रमुख सेनापति पाँडेको जन्मस्थल पालुङटार नगरपालिका १ खोप्लाङ भुसुण्डीमा पुरातत्व विभागले सो दरबार बनाएको हो।

उनको घरको भग्नावशेष रहेको ठाउँमा बनिरहेको सो दरबार निर्माण सम्पन्न हुने चरणमा रहेको वडाअध्यक्ष कृष्णबहादुर परियारले जानकारी दिए। ‘निर्माण गर्न थालेकोचाहिँ तीन वर्ष भयो। पहिलो वर्ष जग तयार भयो, दोस्रो वर्ष पहिलो तल्ला, तेस्रो वर्ष दोस्रो तल्ला निर्माण भइसकेको छ। झ्याल, ढोका र काठका अरु संरचना पनि बनिसकेका छन्’, वडाअध्यक्ष परियारले भने, ‘काठका अरू संरचना पनि बनेका छन्। अब छाना छाउन मात्र बाँकी छ। त्यो काम पनि यो आर्थिक वर्षभित्र सकिनेछ।’

गारोको र काठको काम गर्ने कामदारहरू सबै काम सकेर फर्किसकेका र अब छाउने कामदार आउन बाँकी रहेको उनले बताए। विभागले करिब दुई करोड रुपैयाँको लागतमा कालु पाँडेको दरबार बनाउन लागेको वडाअध्यक्ष परियारले जानकारी दिए। दरबारभित्र उनी जन्मेको कोठा, बैठक कोठा लगायतका संरचना बनेका छन् भने आँगनमा पानीका धारा, र नजिकै उनको सालिक पनि निर्माण गरिएको छ। सो दरबारको मुलगेट र तारबार पनि गरिसकिएको छ।

दरबारमा कलात्मक आँखीझ्याल, ढोका, टुँडालहरू बनेका छन्। त्यहाँ भिँगटीको छाना राखिनेछ। ‘२०७० सालमा उहाँका सन्ततिले सालिक निर्माण गर्नु भएको थियो’, वडाअध्यक्ष परियार भन्छन्, ‘सालिक निर्माण भए लगत्तै उहाँको जन्मघर निर्माणका लागि पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पाँडेका अहिलेका पुस्ता र हामीहरू लागि परेका थियौँ। पुरातत्व विभागले दरबार त निर्माण गर्‍यो, अब त्यसलाई संग्रहालय निर्माण गर्ने लक्ष्य छ।’

संग्रहालयमा तत्कालीन सेनापति पाण्डेले प्रयोग गरेका हात हतियार, त्यतिबेलाका युद्ध सामग्रीहरू राखिने बताइएको छ। पाँच रोपनी जग्गा चर्चेर उनको जन्मघर निर्माण गरिएको उनका नयाँ पुस्ता पवन पाण्डेको भनाइ छ। ‘उहाँको जन्मघर निर्माण सम्पन्न हुने क्रममा छ। अब त्यहाँ संग्रहालय, फूलबारी निर्माण हुनेछ’, उनले भने, ‘काजी तुलाराम पाँडे, काजी कालु पाँडे स्मृति प्रतिष्ठानले यसको दिगो विकासका लागि काम गरिरहेको छ। अझै गरिरहनेछ।’ 

काजी कालु पाँडे राज्य एकीकरण अभियानमा पृथ्वी नारायण शाहको दाहिने हातका रुपमा रहेका थिए। उनी द्रव्य शाहलाई गोरखाका राजा बनाउन भूमिका खेलेका गणेश पाँडेका सन्तति हुन्। 

तत्कालीन सेनापछि विराज थापा मगरले कीर्तिपुरमाथि हमला गर्न हिचकिचाउँदा उनी महेश्वर पन्त सँगै सेनापतिमा नियुक्त भएका थिए। नेपालको एकीकरणमा कीर्तिपुरको दोस्रो युद्धमा वीरगति पाएका कालु पाँडे इमान्दारिताको प्रतीक मानिन्छन्।


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.