अझै भित्रिएन पश्चिमी वायु, सुक्खा हुँदै हिउँद
काठमाडौं : जल तथा मौसम विज्ञान विभागले गत मंसिरमा भनेको थियो– ‘यो हिउँदमा औसतभन्दा धेरै पानी पर्नेछ।’ तर, माघ पहिलो साता बित्दा पनि मुलुकमा पानी परेको छैन। विभागका अनुसार जम्माजम्मी २.७ मिलिमिटर मात्रै वर्षा भएको छ। पूरै हिउँदभरि ४.५ प्रतिशत मात्रै वर्षा भएको हो। विभागले मंसिरमा गरेको प्रक्षेपण मिल्न सकेको छैन। तर, हिउँदका ४० दिन बाँकी रहेकाले कुर्नुपर्ने विभागको भनाइ छ।
विभागका मौसमविद् सुदर्शन हुमागाईं भन्छन्, ‘विभागले भने जस्तो हालसम्म औसतभन्दा धेरै पानी त परेन। तर, हिउँद अझै बाँकी रहेकाले डेढ महिना कुर्ने कि ?’ तर, पछिल्ला वर्षमा हिउँदे वर्षा घट्दै गएको तथ्यांकले नै देखाउन थालेको उनले जनाए। गतवर्ष पनि हिउँदमा सरदरभन्दा कम वर्षा भएको थियो। गतवर्ष सरदरभन्दा ७९ प्रतिशत कम पानी परेको थियो। हुमागार्इं भन्छन्– ‘सन् १९८१ देखि २००० सम्मको अवधिमा भन्दा सन् २००० देखि २०२४ को अवधिमा सुक्खा वर्ष धेरै दोहोरिएका छन्।’ यसले हिउँदे वर्षा घटेको टे«न्ड जनाउँछ। सन् २०२३, २०२१, २०१८, २०१७, २०१६, २०१४, २०१२, २०११, २००९, २००८, २००६, २००१ लगायतका वर्ष पनि पानी परेको थिएन। ‘पहिला पनि हिउँदमा सुक्खा त हुन्थ्यो। आजकल छोटो ग्यापमा सुक्खा हुन थालेको छ,’ हुमागाईं भन्छन्।
नेपालमा पश्चिमी वायुको प्रभावले पानी पार्छ। तर, सिस्टम दिनहुँ मोनिटर गर्दा बलियो खालको पश्चिमी वायुको प्रभाव नदेखिएकाले पानी नपरेको हुमागाईंले बताए। त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल यस वर्ष ३ मिलिमिटरभन्दा कम वर्षा भएको बताउँछन्। उनले प्रत्येक दिन मौसमी अवलोकन गर्ने र त्यसलाई अपडेट गर्दै आएका छन्।
तराईमा सबैजसो जिल्लाहरूमा २५ दिनदेखि अत्यधिक बाक्लो कुहिरो तथा मध्यम खालको हुस्सुले ढाकेकाले शीतलहर चलेको उनी बताउँछन्। हालसम्म २० देखि २५ मिलिमिटर वर्षा हुनुपर्ने भए पनि यो वर्ष ३ मिलिमिटरभन्दा कम वर्षा भएको उनको भनाइ छ। यसको मतलव हालसम्मको अवस्था अवलोकलन गर्दा यो हिउँदमा औसतभन्दा ९५ प्रतिशत कम वर्षा भएको उनको भनाइ छ। अझै केही दिन मात्र होइन सातासम्म नै पानी पर्ने छाँटकाँट नदेखेकाले हिउँद सुक्खा हुने उनी बताउँछन्।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार हालसम्मको पूर्वानुमान हेर्दा आगामी तीन दिनसम्म वर्षाको संभावना न्यून छ। पहाडी क्षेत्रमा छिटफुट हिउँ पर्ने भए पनि सिस्टम राम्रो नभएकाले पानी नपर्ने उनले बताइन्। ‘प्रभावकारी र वर्षा धेरै गराउने खालको सिस्टम भित्रिएको छैन,’ उनले भनिन्, ‘देशैभरि वर्षा गराउने पश्चिमी वायु भित्रिन नसकेको कारणले वर्षाको संभावना कम भएको हो।’
मानन्धरका अनुसार पश्चिमी वायु भूमध्यसागरबाट सुरु भएर क्यास्पियन सागर हुँदै नेपालसम्म पुग्ने गर्छ। त्यहाँबाट नेपालसम्म पुग्दा त्यसमा भएका अधिकांश जलवाष्पबीच बाटोमा नै सकिसकेका हुन्छन्। कहिलेकाहीँ पानी परेर र सञ्चिति नभएर पनि जलवाष्प बाटोमै सकिन्छ। टाढाको दूरी पार गरेर आउनुपर्ने भएकाले पश्चिमबाट नेपालसम्म पुग्दा पानी पार्ने प्रणाली कमजोर भइसकेको हुन्छ। जसको प्रभाव नेपालसम्म पुग्दा घटिसक्छ र वर्षा हुँदैन।
तराईमा झनै वर्षाको संभावना कम रहेको उनले बताइन्। तर, तराईमा अत्यधिक जाडोले जनजीवन प्रभावित रहेको छ। केही वर्षदेखिको रेकर्ड हेर्दा तराईमा जनवरीभरि नै हुस्सुकुहिरो लाग्ने गरेको मानन्धरले बताइन्। फेब्रुअरीको दोस्रोदेखि तेस्रो साता मात्रै हुस्सुकुहिरो विस्तारै हटेर जान्छ। तर, त्यसलाई शीतलहर भनिहाल्न नमिल्ने उनले बताइन्। तर, त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका प्राध्यापक पोखरेल भने तराईमा हाल शीतलहर चलेको बताउँछन्। शीतलहर हुनलाई केही मापदण्ड पूरा गर्नुपर्ने भएकाले शीतलहर नै भनिहाल्न नसकेको मौसमविद् मानन्धरले बताइन्।
उनका अनसार शीतलहर भन्नका लागि चौबिसै घण्टा हुस्सुकुहिरो र चिसो हुनुपर्छ। तराईमा अपराह्नपछि कुहिरो हट्ने र कुनै पनि स्थानमा निरन्तर हुस्सुकुहिरो लागिरहेको छैन। तर, हिउँदे वर्षा भने घट्दै गएको र हालसालै पानी पर्ने संभावना नदेखिएको उनी बताउँछिन्।