राम उत्सवमा वीरगन्जको माईस्थानमा पनि बालियो सवा लाख दियो, घरघरमा दीपावली
वीरगन्ज : भारतको अयोध्यामा नवनिर्मित राम मन्दिरको उद्घाटन भएको खुशीयालीमा वीरगन्जमापनि सोमबार बेलुकी सवा लाख दियो बालेर दिपोत्सव गरिएको छ। यसका साथै महागनगरबासीले पनि स्वस्फूर्त रुपमा घरघरमा दीप प्रज्वलन गरी दीपावली मनाएका छन्।
वीरगन्जको माईस्थानस्थित गहवामाई मन्दिर प्रांगणमा विश्व हिन्दु परिषदको आयोजनामा १ लाख २५ हजार दियो बालेर भव्य दिपोत्सव मनाइएको हो। दिपोत्सवको समुद्घाटन संघीय सरकार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले गरेका थिए।
यस्तै हिन्दु परिषद् र वीरगन्ज महानगरपालिकाको आह्वानमा महानगरका हरेक घरघरमा दियो बालेर दीपावली पनि मनाइएको छ। यस्तै वीरगन्जको घडिअर्वामा सोमबार नै बेलुकी १ घण्टा ३० मिनेटसम्म लगातार आकाशमा पटाका पड्काएर आतीषबाजीपनि गरिएको थियो।
यसअघि सोमबार दिउँसो हिन्दु परिषदको आयोजनामा भगवान् श्रीराम कथा वर्णनसहितको भव्य झाँकीपनि निकालिएको थियो। गीतामन्दिर नजिकबाट सात वटा ट्रकमा भगवान् श्रीरामको जन्मदेखि वनबासबाट अयोध्या फिर्तीसम्मको कथा वर्णन गरिएको झाँकी राखेर नगर परिक्रमा गराइएको थियो।
यस्तै सोमबार नै वीरगन्ज १० घडिअर्वास्थित ७५ वर्ष पुरानो रामजानकी मन्दिरमा भगवान् श्रीराम, सीता र हनुमानको मूर्तिको प्राण प्रतिष्ठापनि गरिएको थियो।प्राण प्रतिष्ठाको पूजापाठमा वीरगन्ज महानगरका मेयर राजेशमान सिंह आफैं सहभागी भएका थिए। त्यसअघि बिहान घडिअर्वा पोखरी परिसरबाट निकालिएको कलश यात्राले नगर परिक्रमा गरेको थियो।
अयोध्याको राम मन्दिर उद्घाटनकै अवसरमा सोमबार वीरगन्जसहित पर्सा जिल्लामा रहेका हरेक मठमन्दिरमा पनि विशेष पूजापाठ र आरती गरेर राम उत्सव मनाइएको विश्व हिन्दु परिषदका संयोजक सन्जय सर्राफले बताए।