जसपा–जनमत टकराव

जसपा–जनमत टकराव
मधेसका प्रदेश प्रमुखलाई राजीनामा बुझाउँदै जनमतका मन्त्री ।
सुन्नुहोस्

जनकपुरधाम : जसपासँग कटुता र द्वन्द्व बढेपछि मधेस सरकारबाट जनमत पार्टी बाहिरिएको छ। सत्ता साझेदारीको एक वर्ष नबित्दै जसपा र जनमत पार्टीबीच तीव्र विवाद उत्पन्न भयो। जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले पार्टी छोड्न जनमत पार्टीका मन्त्रीहरूलाई ‘दबाब’ दिए।

राजीनामा नदिए हटाउने ‘धम्की’ दिए। जनमतका दुई मन्त्रीले बुधबार राजीनामा दिए। जनमतले सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गर्‍यो। 

गत वर्ष पुस २९ गते एमाले र जनमतको समर्थनमा जसपाका यादव मुख्यमन्त्री बनेका थिए। केन्द्रीय गठबन्धन परिवर्तन भएसँगै एमाले सरकारबाट बाहिरियो। तर, जनमत सरकारमै थियो। तर, पछिल्लो समय मुख्यमन्त्री यादवले बिना सहमति जनमतका मन्त्री हटाउन खोजेको र जनमतबाट मन्त्री भएकाहरूलाई पटक–पटक अपहेलना गर्न खोजेको जनमतका सांसद एवं पूर्वकृषिमन्त्री बसन्त कुशवाहाले अन्नपूर्णलाई बताए। 

‘दुई दलबीच विवादको मूल जड मन्त्रालय भागबन्डाबाट दुई दलबीच विवाद भयो,’ कुशवाहाले भने, ‘मुख्यमन्त्री यादवले नेकपा एकीकृत समाजवादीलाई सरकारमा सहभागी गराउन भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खोसेर गोविन्दबहादुर न्यौपानेलाई दिएपछि विवाद सुरु भएको हो। त्यसपछि भागबन्डा पुर्‍याउने नाममा मुख्यमन्त्रीले जनमत पार्टीका नेता महेशप्रसाद यादवले सम्हाल्दै आएको शिक्षा तथा समाज कल्याण मन्त्रालयलाई फुटाएर दुइटा बनाइदिए। त्यसपछि त आक्रोशित हुनु स्वाभाविक थियो।’

मुख्यमन्त्री यादवले मंगलबार सप्तरीको राजविराजमा निर्माणाधीन मधेस कृषि विश्वविद्यालयको शिलान्यास गराए, पार्टी अध्यक्ष उपेन्द्र यादवबाट। जनमत पार्टीका अध्यक्ष सीके राउतको निर्वाचन क्षेत्रमा पर्ने उक्त स्थानमा पार्टी अध्यक्ष यादवबाट उद्घाटन गराएको भन्दै जनमतले मुख्यमन्त्रीसँग तीव्र असन्तुष्टि जनायो। जनमत पार्टीका कार्यकर्ताले उक्त कार्यक्रमको विपक्षमा प्रदर्शन पनि गरे। जनमतले विरोधप्रति जसपा पनि रिसायो। 

‘गठबन्धनभन्दा विपरीत काम गर्नेहरूसँग कुनै सहकार्य हुँदैन,’ जसपाका एक नेताले भने। जनमतका नेताहरूले तर्क भने फरक छ। मुख्यमन्त्रीले पार्टीको कुरा नसुन्ने मात्र होइन, जनमतलाई नै हेपेको तर्क गर्छन्, जनमतका प्रवक्ता शरदसिंह यादव। पूर्वसहमतिअनुसार प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीले पाउनुपर्ने दाबी जनमतको छ। गत निर्वाचनमा जसपाको आधार क्षेत्रमै जनमत पार्टीले पकड जमाएको थियो। त्यही बेलादेखि जसपा र जनमत टकराव सुरु भएको थियो। प्रदेशमा आफ्नो उपस्थिति बलियो बनाएको जनमत पार्टीलाई जसपाले मुख्य प्रतिस्पर्धी ठानेको छ। 

मधेस सरकारमा जसपाका शिक्षा तथा संस्कृति र श्रम तथा यातायातमन्त्री थिए। ‘मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिने निर्णय गरेका छौं,’ सांसद चन्दन सिंहले भने।

पार्टी संसदीय दलका नेता तथा मन्त्री महेशप्रसाद यादवले सरकारलाई दिएको समर्थन पनि फिर्ता लिने निर्णय भएको बताए। उनले भने, ‘संविधानको धारा १६८ अनुसार आजैको मितिबाट सरकारलाई दिएको समर्थन पनि फिर्ता लिएका छौं।’ पछिल्लो समय केन्द्रमा बनेको सत्ता गठबन्धनसँग पनि जनमत असन्तुष्ट छ। राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी बाँडफाँटमा चित्त नबुझेको भन्दै सार्वजनिक रूपमै असन्तुष्टि जनाइरहेको छ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.