बेमेलको फाइदा एमालेलाई

गठबन्धनमा गडबडी, माओवादीलाई ‘धोका’

गठबन्धनमा गडबडी, माओवादीलाई ‘धोका’

राष्ट्रियसभा निर्वाचनको अप्रत्यासित परिणामले सत्ता गठबन्धनमा हलचल पैदा गरेको छ। गठबन्धनकै दल कांग्रेसले फ्लोर क्रस गरेपछि सत्ता गठबन्धनमा विश्वासको संकट पैदा भएको छ। एमाले शून्य हुनबाट जोगिएको छ।

काठमाडौं : राष्ट्रियसभाका सबै पद जित्ने गरी सत्ता गठबन्धनले साझा उम्मेदवार खडा गरेको थियो। उसँग सबै (१९ सिट) नै जित्ने मत पनि सुरक्षित थियो। तर, कोशीमा भने गठबन्धनभित्रै ‘धोकाधडी’ भयो। साझा उम्मेदवारले चुनाव हारे। ‘अप्रत्याशित’ नतिजा आयो। विपक्षी एमालेलाई फाइदा पुग्यो। 

राष्ट्रियसभाका मतदाता पहिल्यै निश्चित हुन्छन्। प्रदेशसभा सदस्य, नगरका प्रमुख/उपप्रमुख र गाउँपालिकाका अध्यक्ष/उपाध्यक्ष मतदाता हुन्छन्। त्यसैकारण कसले चुनाव जित्छ भन्ने पहिल्यै आंकलन गर्न सकिन्छ। कोशीमा विपक्षी एमालेभन्दा सत्ता गठबन्धनको मत धेरै थियो। एमालेले राप्रपासँग गठबन्धन गरे पनि जित्न सक्ने अवस्था थिएन। किनभने सत्ता गठबन्धन ७ सय ९४ मतान्तरले अघि थियो। तर, परिणाम भने फरक आयो। महिला सदस्यमा एमालेकी रुक्मिणी कोइराला निर्वाचित भइन्।

सत्तागठबन्धनकी साझा उम्मेदवार बनेकी माओवादी केन्द्रकी चम्पादेवी कार्कीले चुनाव हारिन्। जबकी सत्ता गठबन्धन ७ सय ९४ मतले अघि भएको बेला एमालेकी कोइरालाले १ सय बढी मतान्तरले गठबन्धनकी उम्मेदवारलाई हराइन्। जबकि गठबन्धनका अर्का साझा उम्मेदवार एवं कांग्रेस नेता कृष्ण सिटौलाले भने चुनाव जिते। कांग्रेसका मतदाताले ‘फ्लोर क्रस’ गरेर एमाले उम्मेदवार कोइरालालाई मत दिए । कांग्रेसले धोका दिएको माओवादीका नेताहरू बताउँछन्। 

एमाले र राप्रपाको समर्थन पाएकी कोइरालाले ५ हजार ८६ मतभार पाइन्। कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाको समर्थन पाएकी कार्कीले ४ हजार ९ सय ९२ मतभार  मात्रै पाइन्। कांग्रेसका सिटौलाले पनि गठबन्धनका सबै प्रदेशसभाको सांसदको मत पाएनन्। ४७ मध्ये ४५ मात्रै पाए। 

सत्ता गठबन्धनमा हलचल 

राष्ट्रियसभा निर्वाचनको अप्रत्यासित परिणामले सत्ता गठबन्धनमा हलचल पैदा गरेको छ। गठबन्धनकै दल कांग्रेसले फ्लोर क्रस गरेपछि सत्ता गठबन्धनमा विश्वासको संकट पैदा भएको छ। एमाले शून्य हुनबाट जोगिएको छ। 

कांग्रेसका उम्मेदवार सिटौला पनि बल्ल तल्ल चुनाव जित्न सफल भए। उनले पनि गठबन्धनका प्रदेशसभाका सबै सदस्यको मत पाएनन्। जबकी गठबन्धनले राष्ट्रियसभाको अध्यक्ष बनाउने भनेर सिटौलाको प्रचार गरेको थियो। माओवादीका महासचिव देव गुरुङले  कोशीमा भएको घटनाबारे गठबन्धनभित्र गम्भीर समीक्षा हुने बताए। ‘गठबन्धनका मतदाताले मत हालेनन् भन्ने विषय निकै गम्भीर हो,’ गुरुङले भने, ‘फ्लोर क्रस गर्ने विषयमा कुन–कुन पार्टीले कुन प्रकारले सिस्टम जारी गरेका छन्, त्यो विषयमा पनि समीक्षा हुन्छ।’ 

कांग्रेसका नेताहरू पनि आफ्ना उम्मेदवार सिटौलाका पक्षमा पूरै मत नपरेकोमा असन्तुष्ट छन्। कांग्रेसका युवा नेता प्रदीप पौडेलले नियोजित रूपमा सिटौलालाई हराउने प्रयास गरिए पनि सफल नभएको बताए। ‘मतको अवस्था हेर्दा सिटौलाजीलाई पनि सुनियोजित ढंगबाटै हराउन खोजेको देखियो,’ उनले भने, ‘प्रयास भएको रहेछ। तर, सफल भएनन्।  

राजनीति विश्लेषक डा. लोकराज बराल फ्लोर क्रसको राजनीतिको अर्थ हुने बताउँछन्। ‘सत्तारुढ दल र विपक्षी दलबीचमा केहीमा त सहमति गरौं भन्ने शर्त पनि राखिएको हुन् सक्छ,’ बराल भन्छन्, ‘केही दिनमा नेताहरूले एउटा विश्लेषण पक्कै निकाल्छन्। फ्लोर क्रसको कुरा पार्टीहरूको आन्तरिक ह्विपले मुख्य अर्थ राख्छ। माओवादीले नै क्रस गरेको हुन सक्छ। कांग्रेसले नै पनि गरेको हुन सक्छ।’  

राजनीतिक विश्लेषक प्रा.डा. जनार्दन आचार्यले गठबन्धनले देशलाई उभो लगाउने नसक्ने भएकाले मतदाताले ‘सबक सिकाएको’ हुन सक्ने टिप्पणी गरे। ‘यो गठबन्धनले देश उभो लगाउनेभन्दा पनि बाँडीचुँडी खाने काम मात्रै गरेको छ,’ आचार्यले भने, ‘यसको विरुद्ध सानै भए पनि कोशी प्रदेशमा विद्रोह भयो, यो सम्मान योग्य छ।’ गठबन्धन संस्कृतिको अन्त्य नभएसम्म देश उभो नलाग्ने उनको तर्क छ।

गठबन्धनमा समीक्षाको माग

कोशीमा भएको गडबडीको समीक्षा गर्नुपर्ने गठबन्धनका नेताहरू बताउँछन्। यो घटनाले मात्रै गठबन्धनमा असर नपर्ने उनीहरूको भनाइ छ। राजनीतिक विश्लेषक डा. आचार्यले सिटौलाको मत कम आउनु पनि गठबन्धन संस्कृतिको विरोध भएको टिप्पणी गरे।  ‘सिटौलाको मत कम आउनु पनि गठबन्धन संस्कृतिको विरोधको संकेत हो, उनले भने, हार्न त हारेनन् तर पनि मत क्रस भयो नि !’ विश्लेषक डा. आचार्यले असन्तुष्टि देखिए पनि सत्ता परिवर्तनमा यसले खासै असर पर्ला जस्तो भने नभएको बताए।

  null

माओवादी केन्द्रका महासचिव गुरुङले कोशीमा भएको घटनाले सत्ता गठबन्धनमा  प्रभाव नपार्ने र त्यसबाट सरकार पनि नढल्ने बताए। उनले भने, ‘यही कारणले सरकार ढल्छ भन्ने हुँदैन।’ कांग्रेसका युवा नेता पौडेलले सत्ता गठबन्धनमा असर नपर्ने बताए। उनले भने,  यसैको कारणले सत्ता गठबन्धनमा प्रभाव पार्ने भन्ने कुरा हुँदैन।’ कांग्रेस अर्का नेता रामहरी खतिवडाले राष्ट्रियसभाको निर्वाचनको परिणामले गठबन्धनमा कुनै असर नपर्ने दाबी गरे। ‘यसले सरकार ढल्ने भन्ने हुँदैन,’ उनले भने, ‘तर यसको गम्भीर समीक्षा गर्नुपर्छ।’ 

बेमेलको फाइदा एमालेलाई 

गठबन्धनको बेमेलले राष्ट्रियसभामा एमालेलाई एक सिट फाइदा भएको छ। मतभार कम हुँदाहुँदै पनि कोशी प्रदेशका एमालेका उम्मेदवार निर्वाचित भएका छन्। राष्ट्रियसभाको ०७८ मा भएको निर्वाचनमा पनि सत्तारुढ गठबन्धनको मत बढी हुँदाहुँदै एमालेका उम्मेदवार निर्वाचित भएका थिए। त्यसबेला गठबन्धनका हेमराज राईलाई हराएर एमालेका सोनाम गेल्जेन शेर्पा निर्वाचित भएका थिए।  

एमालेले गठबन्धन तोड्न पटक–पटक प्रयास गरे पनि आफैं भने सफल हुन सकेको छैन। माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई प्रधानमन्त्री बनायो। तर, पछि प्रचण्ड एमालेको साथ छोडेर कांग्रेससँग गठबन्धन गर्न पुगे। कोशी प्रदेशमा एमालेको समर्थनमा मुख्यमन्त्री बनेका कांग्रेसका बिद्रोही केदार कार्की पनि पछि गठबन्धनमा नै पुगे। प्रचण्डलाई प्रधानमन्त्री बनाउने र कार्कीलाई मुख्यमन्त्री बनाउने विषयमा एमाले पार्टीभित्रै पनि रणनीतिक कमजोरीको व्याख्या हुँदै आएको थियो।

कोशीमा शेखर कोइराला समूहलाई मुख्यमन्त्री बनाएको ‘गुन’ राष्ट्रियसभा निर्वाचनमा तिरेको विश्लेषण पनि गरिएको छ। कांग्रेसको संस्थापनइतर समूहका कार्कीलाई विद्रोह गराएर मुख्यमन्त्री एमालेले नै बनाएको थियो। कार्की मुख्यमन्त्री नभएको भए कोशी मध्यवधि निर्वाचनमा समेत जानसक्ने अवस्था थियो। यो प्रकरणमा कांग्रेस नेता डा. शेखर कोइरालाको पनि संलग्नता थियो। 

नेकपा एमालेका प्रमुख सचेतक पदम गिरी सत्ता गठबन्धनको सबैतिर कब्जा रहेको अवस्थामा एमालेले एक सिट जित्नु पनि उपलब्धि भएको बताउँछन्। ‘फ्लोर क्रस भए पनि अथवा जे भनौं सर्वत्र गठबन्धनको कब्जा भएको ठाउँमा एमालेको एक जना आउनु पनि हामीले स्वागतयोग्य ठानेका छौं,’ उनले भने, ‘हाम्रो पार्टीबाट फ्लोर क्रस भएको देखिन्न।’

राप्रपालाई भएन फाइदा

सत्तागठबन्धन र एमालेबीचको फाइदा राप्रपाले उठाउँदै आएको छ। उसले कोशी र बागमतीमा सभामुख पद सजिलै प्राप्त गर्‍यो। राष्ट्रियसभा निर्वाचनमा पनि एमालेसँग कोशीमा गठबन्धन गरेर जित्ने अपेक्षा गरेको थियो। कांग्रेसका हेवी वेट सिटौलासँग राप्रपाका उद्धव पौडेल चुनावी मैदानमा थिए। उनलाई ४७ जना प्रदेश सांसदले मतदान गरे। कोशीमा राप्रपाका ६ र एमालेका ४० प्रदेश सांसद छन्। उनले प्रदेशसभामा सत्तारुढ गठबन्धनका एक मत पाए। तर, स्थानीय तहबाट भने सिटौलाले १ सय ५३ जनाको मत पाउँदा पौडेलले  १ सय ९ मत मात्रै पाए।

प्रतिनिधिसभाका विषयगत समिति सभापतिमा पनि राप्रपाले भाग पाएको थियो। कांग्रेस, एमाले, माओवादी केन्द्र, र जसपा, जनमतसहित गठबन्धनमा छिरेर राप्रपाले एउटा संसदीय समितिको सभापति हात पारेको थियो। राप्रपाका केन्द्रीय प्रवक्ता तथा प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले गठबन्धन गरेको दलको उम्मेदवारलाई भोट नदिएर एमालेले कोशी प्रदेशमा राजनीतिक बेइमानी गरेको  बताए।

‘राप्रपाले इमानदारिपूर्वक मतदान गर्‍यौं तर एमालेले बेइमानी गरेको छ। उसले भोट हालेन। यो ठूलो राजनीतिक धोका हो।’ उनले भने, ‘एमालेले सुरुदेखि नै राजनीतिक बेइमानी र धोका दिने संकेत देखाएको थियो। आफ्नो उम्मेदवार जिताउने तर तालमेल गरेको पार्टीको उम्मेदवारलाई हराउनु राजनीतिक बेइमानी हो।’

nullकोशीबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेसका कृष्ण सिटौला। गठबन्धनका साझा उम्मेदवारलाई पराजित गरेकी एमालेकी रुक्मिणी कोइराला।   

  •     कांग्रेसका मतदाताले ‘फ्लोर क्रस’ गरेर एमाले उम्मेदवार कोइरालालाई मत दिए।
  •     राष्ट्रियसभा निर्वाचनको अप्रत्यासित परिणामले सत्ताा गठबन्धनमा हलचल पैदा गरेको छ।
  •     ०७८ मा भएको राष्ट्रियसभा निर्वाचनमा पनि सत्ता गठबन्धनका माओवादी उम्मेदवार हेमराज राई पराजित भएका थिए।

कोशीमा कांग्रेसभित्र जहिल्यै ‘विद्रोह’

गठबन्धनको निर्णयप्रति असन्तुष्टि जनाउँदै कोशीमा कांग्रेसले विद्रोह गरेको यो पहिलोपटक होइन। यसअघि ०७८ मा भएको राष्ट्रियसभा निर्वाचनमा पनि सत्तागठबन्धनका माओवादी उम्मेदवार हेमराज राई पराजित भएका थिए। त्यसबेला पनि गठबन्धनका दलकै सहयोगमा एमालेका गेल्जेन शेर्पा निर्वाचित भएका थिए। 

मुख्यमन्त्री बनाउँदा पनि कांग्रेसभित्र ‘विद्रोह’ भएको थियो। गठबन्धनले कोशीमा माओवादीलाई मुख्यमन्त्री दिने तयारी गरेपछि कांग्रेसको शेखर कोइराला समूहले एमालेसँग मिलेर ‘विद्रोह’ गर्‍यो। एमालेका ४० सदस्यको समर्थनसहित कोइराला समूहका ८ जना सांसद मिलेर केदार कार्कीलाई मुख्यमन्त्रीमा अघि सारे। जबकी कोइराला समूहको ८ भोट मात्रै थियो। ९३ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीका लागि ४७ मत आवश्यक पथ्र्यो। एमालेले समर्थन गरेपछि गठबन्धन पनि बाध्य भएर कार्कीलाई समर्थन जनायो।  कांग्रेसको विद्रोहले संस्थागतरूप लिँदै गएको छ।

राष्ट्रियसभा निर्वाचनमा पनि सत्ता गठबन्धनका ३  प्रदेशसभा सदस्यले फ्लोर क्रस गरे। ९३ सदस्यीय प्रदेशसभामा एमालेकी कोइरालाले ४९ जनाको मत पाइन्। प्रदेशसभामा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद मात्रै छन्। कोशीमा सत्ता गठबन्धनका ४७ सांसद छन्। सत्ता गठबन्धनकी साझा उम्मेदवार माओवादीकी कार्कीले भने ४४ मात्रै मत पाइन्।

स्थानीय तहका १६ जना मतदाताले पनि फ्लोर क्रस गरे। सिटौलालाई सबै गठबन्धनका उम्मेदवारले मत दिएनन्। सत्ता गठबन्धनको तर्फबाट कांग्रेसका सिटौलालाई प्रदेशसभाका ४५ जनाले मात्रै मतदान गरे। जबकी सत्ता गठबन्धनसँग ४७ मत थियो। तर, स्थानीय तहमा सिटौलाले राम्रो मत पाए। कांग्रेस नेता खतिवडाले फ्लोर क्रसको विषय गम्भीर रहेको बताउँछन्।

‘लोभी पापी मान्छेहरू पार्टीभित्र छन्। अब फ्लोर क्रस कसले गर्‍यो भनेर भन्न सक्ने अवस्था छैन,’ उनले भने, ‘क्रस भोट नै डरलाग्दो छ।’ उनले  फ्लोर क्रस अत्यन्तै गम्भीर भएको भन्दै छानबिनको विषय हुनुपर्ने बताए। उनले एमालेमा पनि फ्लोर क्रस भएको बताए।

कांग्रेसका युवा नेता पौडेल सत्ता गठबन्धनभित्र आन्तरिक रूपमा फ्लोर क्रस भएको विषय गम्भीर रहेको बताए। उनले भने, किन फ्लोर क्रस भयो ? भनेर केलाउने विषय त बन्यो।’ उनले फ्लोर क्रसको विषय समीक्षा र छानबिनको विषय भएको बताए। ‘देशकै सांसद, विधायकहरू जनताका प्रतिनिधिहरूले पार्टीको ह्विप नमान्ने भनेको सानोतिनो कुरा हैन। यसमा छानबिन आवश्यक छ,’ उनले भने।

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.