मानसिक सन्तुलन कमजोर भएकी युवती बलात्कृत, एकजना पक्राउ
विराटनगर : मोरङको केराबारीमा मानसिक सन्तुलन कमजोर भएकी एकजना युवती बिहीबार साँझ बलात्कृत भएकी छन् । केराबारी गाउँपालिका–९ स्थित केराघारीमा लगेर मानसिक अवस्था ठीक नभएकी युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
लेटाङ नगरपालिका–१ भोगटेनीका २७ वर्षीय कूलबहादुर विश्वकर्मालाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले जानकारी दिए । उनका अनुसार विश्वकर्माले ललाइफकाइ केराघारीमा लगेर साँझ ६:३० बजेतिर युवतीलाई बलात्कार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
पीडितकी आमाले घटनाका बारेमा प्रहरीलाई जानकारी दिएपछि विश्वकर्मालाई पक्राउ गरिएको डीएसपी दाहालको भनाइ छ । इलाका प्रहरी कार्यालय बेलबारीमा राखिएका विश्वकर्माविरुद्ध पीडितकी आमाले शुक्रबार किटानी जाहेरी दिएकी छन् । उनीविरुद्ध जरबजस्ती करणी मुद्दा चलाउने प्रहरीको तयारी छ ।
पीडितको स्वास्थ्य परीक्षणको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । घटनाका सम्बन्धमा इप्रका बेलबारीका इन्सपेक्टर तेजबहादुर दाहाल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ ।