आहै..., भरतलाई राजगद्दी, रामलाई वनबास!

बालन गाथामा वैदिक संस्कृति र त्यसको आदर्शप्रति गहिरो आस्था पाइन्छ। यस्ता गाथाहरूमा साम्प्रदायिक संकीर्णताबाट माथि उठेर समन्वयको महान् चेष्टा गरेको पाइन्छ।

आहै..., भरतलाई राजगद्दी, रामलाई वनबास!

नेपाली साहित्यमा भक्तिकाललाई महत्त्वपूर्ण काल मानिन्छ। नेपाली कवितामा स्वच्छन्दतावादी, शास्त्रीयतावादी धारा झैं भक्ति धाराको पनि छुट्टै मिठास छ। जुन पूर्ववर्ती र परावर्ती कालदेखि बिल्कुल भिन्न छ। यो कालमा सन्त कविहरूले आफ्ना अमृतवाणीले जनमानसलाई सिञ्चित गरेका छन्। ज्ञानको द्वीप जलाएका छन्। पतनउन्मुख समाजमा आफ्ना दिव्यवाणीले नवचेतना जागृत गरेका छन्। भक्तिधाराको साहित्य, संगीतले मानिसलाई ईश्वरको भक्तिमा रम्न सिकायो। ज्ञान, वैराग्यको भावना जगायो। सारा पिर, व्यथा, विरह, वेदना भुलेर आत्मालाई परमात्मामा 

समविष्ट गराउने प्रेरणा प्रदान गर्‍यो।

जसरी शास्त्रीय साहित्यलाई भक्ति धाराले सिँगार्ने काम गर्‍यो, त्यसरी नै लोकसाहित्यलाई पनि सिँगार्ने काम गर्‍यो। लोकमानसमा ज्ञान, वैराग्य, भक्ति भाव जगाउन बालन लोकगाथा अधिक सफल भयो। लोकसाहित्यमा लोकगीत, लोककथा, लोकनाटक झैं चर्चित विधा हो- लोकगाथा पनि। लोकगाथा मानव समाजको आदिम साहित्यको रूप हो। ऋग्वेदका केही संवाद सुक्त, वाराशंसी आदिलाई लोकगाथा मान्न सकिन्छ। महाभारत, पुराण आदिमा यसलाई शिष्ट साहित्यको रूपमा समविष्ट गरिएको छ। यसको उत्पत्ति कहिले भयो ? यसबारे ठोस प्रमाण भेटिन्न। जसबारे विभिन्न विद्वान्का मत बाझिएका छन्।

कसैले पनि प्रामाणिक खोज प्रस्तुत गर्न सकेका छैनन्। यसको खोज गर्दा यही जटिलता पैदा हुन्छ कि कहीँ पनि यसको हस्तलिखित प्रामाणिक प्रतिलिपि पाउन सकिन्न। मानव सभ्यताको विकाससँगै नेत्री, गीत गाथाको विकास भएको मानिन्छ। अत: लोकगाथाको कुरा गर्दा लिखितभन्दा पनि मौखिकलाई प्रामाणिक मान्नुपर्ने हुन्छ। मौखिक परम्पराद्वारा नै लोकगाथाले लोकमतको अभिव्यञ्जना प्राप्त गरेको छ। मौखिक परम्पराको कारण लोकगाथा रहस्यात्मक बन्न पुगेको छ।

वास्तवमा लोकगाथा कथात्मक गीत हो। यसको प्रमुख विशेषता भन्नु नै यो भित्रको लामो कथानकता हो। यसले कथाको सांगोपांगो वर्णन गर्छ। फलत: यो बृहत् हुन्छ। लोकगाथा जब एक व्यक्तिबाट अर्काे व्यक्तिमा हस्तान्तरण हुन्छ, उसले त्यसमा केही न केही जोड्छ। अन्तत: यसको आकार महाकाव्य झै विशाल हुन्छ। नाटकको अन्तिम भागबाट सुरु भएको गाथा बिनानिर्देशन चरम सीमामा पुग्छ। यसमा कथाको आरम्भ पनि बिजुली झैं अकस्मात हुन्छ। जसमा न कुनै परिचय हुन्छ। 

न कुनै भूमिका हुन्छ। न त कुनै विधान हुन्छ। लामो कथानकको कारण लोकगाथा लोकगीतदेखि पृथक् हुन्छ। यसैले लोकगाथा लोकगीतभन्दा अधिक लामो हुन्छ। लोकगाथामा गाथाकार उन्मुक्त हुन्छ। स्वच्छन्द हुन्छ। त्यसैले उसलाई त्यहाँ तथ्य, प्रमाणिकताको कुनै सरोकार हुँदैन। यसमा प्रस्तुत आञ्चलिकता र संस्कृतिलाई हेर्ने हो भने त्यहाँ लोकविश्वास, लोकधर्म, आचार संस्कार झल्किएको पाइन्छ। बालन गाथालाई पनि यही कसीमा राखेर हेर्नुपर्छ।

माथि नै उल्लेख गरिसकें कि गाथा भनेको कथात्मक गीत हो। यस गाथामा सृष्टि कालदेखिका देवीदेवताका लीला, चरित्र आदिका कथालाई लोकमा प्रचलित लय, शब्द, टुक्का आदि गाँसेर गाइन्छ। यस्ता गाथाहरू वैदिक सनातनी सभ्यताअन्तर्गतका ब्राह्मण, क्षत्री, ठकुरी, दशनामी आदि सम्प्रदायमा प्रचलित रहेको पाइन्छ। यस्ता गाथाहरू पूजा, आजा, सत्यनारायण पूजा, सप्ताह ज्ञान महायज्ञ, कोटीहोम, पुरुषोत्तम महात्म्य, चौमास आदि अवसरमा गाइन्छ भने शिवरात्रि, हरिबोधनी एकादशी, बालाचतुर्दशी, रामनवमी, कृष्णअष्टमी आदि पर्वमा विशेष महत्त्व छ।

विशेषत: बालनमा रामायण, महाभारत, कृष्ण चरित्र आदिका कथा अधिक प्रचलनमा रहेको पाइन्छ। भगवान् विष्णुका मत्स्य, कुर्म, वाराहा, नृसिंह, वामन, पर्शुराम, राम, कृष्ण आदि दस अवतारक्क चर्चा गरिन्छ। यसमा गेयात्मक पक्ष अधिक सुमधुर हुनुको साथै नृत्यले झन् आकर्षित बनाएको हुन्छ। पूजा, आजा आदिको अवसरमा रात्रिमा जाग्राम बसिन्छ। तब भक्तजनले रात कटाउन बालन टोलीलाई निमन्त्रणा गर्छन्। बालन २० जनादेखि २५ जनासम्मको टोली हुन्छ। उक्त समूहलाई जसले अगुवाइ गर्छ, उसलाई जेठो बुढोको नामले पुकारा गरिन्छ।
जेठो बुढोले नै सबै चाँजोपाँजो मिलाउँछन्। 

व्रतालुहरूले उनलाई फूलमाला पहिर्‍याएर अगुवाको रूपमा चुन्छन्। उसैको सक्रियतामा अरूले नाच्ने–गाउने गर्छन्। जेठो बुढोले आफ्नो लोलीमा बोली मिलाउनलाई एउटा टोली, नाच्नलाई अर्को टोली गरी विभिन्न टोली गठन गर्छन्। जसअन्तर्गत आठजनाको एक समूह बालनको पोसाक लगाएर चार-चार समूहमा बाँडिन्छ। अर्को आठ समूह चार-चार जनामा विभक्त भएर नाच्न थाल्छन्। यस नाचमा चारकुने, सलामी, फोरुवा आदि गरेर विभिन्न समूहमा बाँडिन्छन्। प्राय: यस्ता बालन गीत र नृत्य नाटकीय ढंगबाट पनि अगाडि बढेको पाइन्छ। जुन अवतार र पौराणिक कथामा गाथा केन्द्रित हुन्छ, त्यहीअनुसार परिवेश बनाएर, मानिसलाई पात्र बनाएर, त्यही अनुरूपको हुलिया बनाएर अभिनय प्रस्तुत गरिन्छ। रामायणको कथा छ भने हातमा धनुष लिएका राम, गदा लिएका हनुमान, कृष्ण चरित्र छ भने मुजुरको कल्की पहिरिएका, सुदर्शन चक्र बोकेका मुरली बजाइरहेका कृष्ण आदि प्रस्तुत गरिन्छ।

राम वैदिक सनातनी आर्य सभ्यताका एक त्यस्ता मिथकीय पात्र हुन् जो लोकका नशानशामा बगेका छन्। लोकगाथामा चित्रित रामको व्यक्तित्व मर्यादा पुरुषोत्तमको छ। जो मर्यादामा बाँधिएका छन्। उनी कहिल्यै मर्यादा नाघ्दैनन्। रमेण, केण, केण इतिराम अर्थात् जो कण कणमा बसेका छन्, तिनै राम हुन्। बालनको प्रमुख विशेषता नै यही हो कि बालनको थेगो नै रामको नामबाट सुरु हुन्छ। माधव दाहालद्वारा निर्देशित लोकसंसार कार्यक्रममा प्रस्तुत बालनका गेडाहरूले यही तथ्यलाई उजगार गर्छन् :
ओम श्रीराम राम है
ओम श्रीराम राम 
जपौं भाइ हो नारायणको नाम
पूर्वै र धायौं, पश्चिमै धायौं 
पाएनांै बालनैको नाम।
सुरुमा सन्जे जगाइन्छ। कुल, पितृ देउतालाई जुहारिन्छ। दियो, कलश, गणेशको आराधना गरिन्छ :
सत्य सुकृति गणपति ब्रह्मा 
लम्बोदर ठरदाता 
तुम्हारा नगरिम खेल आयौ 
आज्ञा देउ धर्ती माता।
एवं रीतले गाउँठाउँका नाग नागिनी, सिमे, भुमे आदि पुकारा गरिन्छ। घरका चारै सुरका देउता, पाञ्चायन देउताको आराधना गरिन्छ। राष्ट्रदेव आराध्य प्रभु पशुपतिनाथको आराधना गरिन्छ। लोकसंसारमा प्रस्तुत यी गेडाले यही आशय प्रकट गर्छन् :
यसै र ठाउँका पशुपतिनाथ 
तम रक्षा गरिदेऊ त 
हामीलाई रक्षा होला 
हामी जप्छौं नारायणकै नाम।
बालनलाई सर्सर्ती हेर्ने हो भने मूलत: यसमा लोकजीवनको धार्मिक भावना र विश्वासको अभिव्यक्ति पाइन्छ। यसको 
आधार भन्नु नै ईश्वरको उपासना हो। यस्तो उपासना दुई प्रकारको पाइन्छ :–
सगुण उपासना : यस उपासनाअन्तर्गत ईश्वरको साकार रूपको आराधना गरिन्छ। कीर्तन गाइन्छ। सगुण उपासनामा पार्वती, सूर्य, राम, कृष्ण, तुलसी, विष्णु आदिको उपासना गाइन्छ। भानु ओलीको स्वरमा रहेको बालनका यी गेडाहरूले यही तथ्य उजागार गर्छन् :
यशोदाको आँगनमा तुलसी बिरुवा 
श्रीहरि आँगनमा खेलन चार भाइ हो 
राम, लक्ष्मण, भरत, भवानी 
श्रीहरि आँगनमा खेलन हो चार भाइ।
पूर्वतिर अलि विलम्बित लयमा गाइने यस्तो सगुण उपासनाका गाथामा ओ हो है जस्ता थेगो प्रयोग गर्दै, लेग्रो 
तान्दै लस्काएर गाइन्छ। उनकै स्वरमा रहेका यी गेडामा यही आभास झल्किन्छ :
ओ हो है 
बालन खेल्न भनी स्वर्ग गएँ
इन्द्रले फूल है पाए
ओ हो है 
तेत्तिस कोटी देवताले निमन्त्रणा पाए 
बाहिर बालने आए
विलम्बित लयमा सुरु भएको यस्तो सगुण उपासना बीचमा आएर मनोरञ्जनका निम्ति अलि द्रुत लयको रूप लिँदै सामूहिक रूपमा नाचिन्छ :
ओ हो है 
नाच्यो नाच्यो भीमसेन भाइ हो 
धर्ती कम्प्पन लाग्यो 
नाच्यो नाच्यो भीमसेन भाइ हो 
धर्ती कम्म्पन लाग्यो। 
निर्गुण उपासना : यो उपासनाअन्तर्गत ईश्वरको निराकार रूपको चर्चा गरिन्छ। सद्गुरुहरू कविर, रैदास, भ्रातृहरी आदिको उपासना गाइन्छ। निर्गुण उपसनामा गुरु गोरखनाथ, मत्स्येन्द्रनाथको स्तुति गाइन्छ : 
ओ हो है उनै गोरखनाथ
हर्ने भर्ने लीला गर्ने 
उनै गोरखनाथ 
ओ हो है 
यसो हेरी ल्याउँदा खेरी 
भव पार लाउने आदि मत्स्येन्द्रनाथ। 
यस्ता गाथाहरूमा रहस्य भावना, क्षणभंगुरता, साम्य भावना, ज्ञान, वैराग्य, साधु सन्तको आत्मा विस्मृति आदिको कलात्मक रूपले चित्रण गरिएको हुन्छ। जुन काव्य एवम् दार्शनिक दुवै दृष्टिकोणले महत्त्वपूर्ण हुन्छ। बालन गाथामा वैदिक सभ्यताको सारा पुराणका कथाको चर्चा हुन्छ। तर लोकमानसमा सर्वाधिक चर्चित गाथा भने राम र कृष्णकै गाथा रहेको पाइन्छ। जनमनमा अधिक भिजेको नाम भनेकै पूर्वीय सभ्यताका आदर्श राम र कृष्ण नै हुन्। आराध्य प्रभु श्रीरामको वनवास, जगत् जननी माता जानकीको वियोगको कथाले सबैको नयनलाई अश्रुपुरित गराइदिन्छ। कार्यक्रममा प्रस्तुत राम गाथाका यी गेडाहरूमा यही भाव दर्शाउँछ :
आहै लक्ष्मण शत्रुधन सुमित्राका छोरा
दशरथका मायाका डोरा 
आहै कैकेयीका छोरा हुन् भरत ज्ञानी
दाइ रामका भक्तिका खानी 
आहै कपटी थिइन् कैकेयी रानी 
वर मागिन् साह्रै नि खुनी 
आहै भरतलाई राजगद्दी रामलाई वनबास 
यस्तो पो गरिन् आस 
आहै मूच्र्छामा पर्नु भो दशरथ राजा 
कस्तो पो घटना घट्यो नि आज। 
लोकमानस राम–सीताको वियोगका कथा मर्महान्त र हतप्रभ छन्। राम र सीताको बिछोडले सुन्दर फूलबारी उजाडिएको आशय व्यक्त गर्छन्।
ओहो है 
दशरथ राजाका बहु बुहारी, 
जनक ऋषिकी चेली 
ओहो है 
कसले लगाएको यो फूलबारी 
कसले बारेको बारेको बार होला है 
सीताले लगाएको यो फूलबारी 
रामले बारेको बार होला है
यसरी एकातिर रामगाथाले सबको मनलाई हरण गरिरहेको हुन्छ भने अर्कातिर राम, लक्ष्मण, हनुमान आदिको अभिनयसँगैको नृत्यले सबैलाई मनोरञ्जन दिइरहेको हुन्छ। झन् बीचबीचमा उरन्ठेउलो हाउभावको साथ हनुमानको प्रवेशले सबैलाई काउकुती लगाइरहेको हुन्छ। अन्तमा, 
बालन टोलीको साथ व्रतालुलाई मण्डपमा उभिन लगाइन्छ। आशिष दिइन्छ। फूल अक्षता चढाएर रातभर बालेको मादी सेलाउन लगेपछि बालनको अन्त्य गरिन्छ।

बालन गाथामा वैदिक संस्कृति र त्यसको आदर्शप्रति गहिरो आस्था पाइन्छ। यस्ता गाथाहरूमा वैदिक धर्म, संस्कृति, सभ्यता, आचार, विचार सुन्दर कलेवरमा सुरक्षित भएको पाइन्छ। यस्ता गाथाहरूमा साम्प्रदायिक संकीर्णताबाट माथि उठेर समन्वयको महान् चेष्टा गरेको पाइन्छ।

आयातित नग्न संस्कृति, पश्चिमी संस्कृतिको प्रभाव, युवाहरूको विदेश पलायन, यसलाई पछ्याउने पुस्ताको अभावको कारण भने अचेल यस्ता गाथाहरू लोपोन्मुख अवस्थामा पुगेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.