भोक
यता केही दिनदेखि मेरा मित्र सुपर्णखासँग भेट भएको छैन। उनी मकहाँ आएका छैनन्। उनीकहाँ जाँदा पनि भेट हुन सकेन। घरमा बस्ने भए पो! सधैं सामाजिक कार्यमा बिनास्वार्थ यताउति आवश्यक परेकाहरूलाई सहयोग गर्न हिँडिरहने उनलाई पहिले पनि कहाँ हत्तपत्त भेटिन्थ्यो र! उनको न्यास्रो लागिसकेको थियो।
बिहान यसो घर बाहिर निस्केको सडकमा हिँडिरहेको देखेर दौड्दै गएँ र च्याप्प हात समाएँ। उनी एकपल्ट झस्किए। मैले सोधिहालेँ, ‘कहाँ हराएको अचेल ? आउँदा पनि आउँदैनौ ?’ मुस्कुराए जस्तो गरी छोटकरीमा भने, ‘फुर्सद नभएर।’मैले भनेँ, ‘ल, आज जान पाउँदैनौ। आऊ, जाऔं।’
फुत्किन खोज्दै थिए। मैले छाड्दै छाडिनँ। तानेरै घरमा ल्याएँ। मेचमा विराजमान गराएर चिया भन्न पल्लो कोठामा गएर झटपट फर्किएँ। सोधेँ, ‘अचेल मसँग रिसाएका हौ ?’ उनले जवाफ दिने इच्छा नैं नभएजसरी छोटकरीमै ओठ उघारे ‘हैन।’ ‘अनि आउँदैनौं त। घर गए पनि भेट हुने हैन। यसो गफ गर्न हुन्थ्यो। तिमी त मेरा मित्र, तिमीसँग गफ गर्न पाउँदा मलाई रमाइलो लाग्छ। केही कुरा सिक्न पाइन्छ। बेपत्तै भयौ। किन भन त ? मैले तिमीलाई त्यस्तो नराम्रो त केही भनेको थिएँ जस्तो लाग्दैन।’ मैले आफ्नो कुरा नसक्दै अलि चर्को स्वरमा उनले जवाफ दिए, ‘के आउनु ? के गफ गर्नु ?जतिखेर पनि आफ्नो तारिफको भण्डार खोल्छौ।’
शान्त हुँदै भनें, ‘तिमी पनि कस्तो कुरा गर्छौ ? कसैले पनि तारिफ नगरेपछि के गर्ने त ? गरेको कामको अरूले तारिफ गरिदिए आफूले मुख किन खोल्नु पर्थ्यो बित्थामा। आफ्नो मुख किन दुखाउनु पर्थ्यो ? अर्काको तारिफ गर्नुपर्यो भने आफ्नो थैली नैं खोलिदिनु परे झैं ठान्छन्। अनि आफ्नो तारिफ आफैंले गर्नु परेन। मैले भित्री इच्छाले गरेको हो र!’ मैले पनि फटाफट भनिदिएँ। उनले कड्किएरै जवाफ दिए, ‘तारिफ गर्न लायकको काम के गरेका छौ भन त!’
अब मेरो पनि कड्किने पालो आयो। नकड्किएर नहुने रहेछ भनेर भनिदिएँ, ‘मैले कति धेरै काम गरेको छु। मभन्दा पहिले कसैले त्यति काम गरेको थियो ?’ उनले रुस्ट हुँदै भने, ‘पहिले कसले गर्यो गरेन त्यसको लेखाजोखा नराख। मुख्य कुरा तिमीले के गर्यौ ? मनमनै काम गरेर हुन्छ। मनमनै गरेको काममा मख्ख हुने ? खै देखिने गरी काम गरेको ? खै परिणाममुखी काम गरेको ? तिम्रो काम बहुजन हितायको लागि हो त ?’
आफ्नो घरमा आफैंले समातेर ल्याएको मित्रसँग रिसाएकोमा आफैंलाई अलि पछुतो भयो। त्यसैले सम्हालिएर भनेँ, ‘तिमी मित्र भएर पनि यस्तो कुरा गर्ने हो ? तिमीले त मलाई स्याबासी दिन्छौं भन्ठान्या थें।’ यसपालि उनी पनि अलि सम्हालिँदै भन्न थाले, ‘हेर, मित्र! झिंगो मारेर बाघ मारेको ठान्नु हुन्न। तिमीलाई झिंगा मार्न त्यो ठाउँमा राखेको हो त ? बाघ मार्नु पर्नेले झिंगा मारेपछि कसैले प्रशंसा गर्छ ? हातमा बन्दुक लिएर झिंगातिर ताक्न त भएन नि ? हेर, सिंहले घाँस खाँदैन। तिमी अहिले सिंह जस्तै शक्तिशाली छौ। फरक यत्ति हो ऊ जनावरहरूमा राज गर्छ, तिमी जनावरभन्दा उच्च माथि राज गर्छौ। के खाएर तिमीलाई यस्तो आत्मप्रशंसा गर्ने शक्ति आउँछ, लाज लाग्दैन ?’
मैले पनि भनिदिएँ, ‘मित्र हो, मलाई खाएरै शक्ति आएको हुनुपर्छ। खान त म जे पनि खाइदिन्छु। मेरा आफन्तहरूले जे जे जुटाइदिन्छन्, म त्यै त्यै खाइदिन्छु। सोधिन के–के हो भनेर। जुटाइदिएका जति सबै खाइदिन्छु। अचेल त यस्तो भोग लाग्छ कि आँखाले हेर्दै नहेरी खाइदिन्छु। साँच्चै भन्ने हो भने अगाडि राखी दिएको केही बाँकी छाड्दिनँ। सपनामा पनि अचेल भोगमात्र लाग्छ, त्यसैले सपनामा पनि खाइरहेकै देख्छु।’
मित्रले चिया रित्याइसकेका थिए। भने, ‘तिमी त अगस्तीभन्दा पनि खन्चुवा रहेछौ। त्यसैले म तिमीकहाँ नआएको हो। बुझ्यौ त ?’ उनी जान्छु पनि नभनी भुत्भुताउँदै निस्किए। मलाई लाग्यो अब यस्ता मित्र मेरा लागि कुनै कामका छैनन्। अरू नै मित्र खोज्नुपर्छ।