घण्टाघरमा जडान गरिएको बत्ती फेरि तोडफोड
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले घण्टाघरमा जडान गरेको आकर्षक बत्ती फेरि तोडफोड गरिएको छ। घण्टाघरलाई उज्यालो र आकर्षक बनाउन लगाइएको बत्ती शनिबार राति फेरि तोडफोड गर्नुका साथै विद्युत प्रवाहका लागि लगाइएको तार काटेर बिगारेको अवस्थामा भेटिएको हो। यसअघि चार महिना पहिले पनि घण्टाघरमा लगाइएको बत्ती तोडफोड भएको थियो।
महानगरपालिकाले घण्टाघरको सौन्दर्यीकरण कार्यक्रमअन्तर्गत घण्टाघरको रंगरोगन गर्नुका साथै बिजुली बत्तीको आकर्षक साजसज्जा गरेको थियो। रातको समयमा बत्तीका कारण घण्टाघर परिसर आकर्षक देखिने गरेको छ।
शनिबार राति घण्टाघरको बत्ती तोडफोड गरिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ। उनीहरूलाई वडा प्रहरी कार्यालय विर्ताको हिरासतमा राखेर अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पुष्कर बोगटीले जानकारी दिए। महानगरका मेयर राजेशमान सिंहले संरचना तोडफोड र चोरी हुनु निन्दनीय रहेको बताए।