किन बढ्दैछन् देश छाड्नेहरू ?

किन बढ्दैछन् देश छाड्नेहरू ?
सुन्नुहोस्

देशमा रोजगारीको अवसर न्यून छ। रोजगारी सिर्जना गर्ने आर्थिक क्रियाकलाप ठप्पजस्तै छन्। राज्यले अँगालेका आर्थिक नीतिहरूले लगानीकर्ता र व्यवसायीहरूको हौसला बढाउन सकेको छैन। राजनीतिक स्थायित्वको अभाव र अस्थिर आर्थिक नीतिहरूले गर्दा लगानीकर्ता र व्यवसायीहरू सधैं निराश छन्। त्यो निराशाको परिणाम देशका ऊर्जावान् युवाले भोग्नु परेको छ र उनीहरू थप निराश हुन विवश छन्। निश्चित तहको शैक्षिक योग्यता हासिल गरेको खुसीमा ठूलो उत्साह र उमंगका साथ श्रमबजारमा प्रवेश गरेर रोजगारीको अवसर खोज्ने युवा जमात त्यही रोजगारीको अवसर नपाएर निराश भइरहेका छन्। त्यही निराशाले डोर्‍याएका धेरै युवा अवसरको खोजीमा बिदेसिने गरेका हुन्। 

अधिकांश युवा अवसरको खोजीमा बिदेसिने गरेका छन् भने केही युवाचाहिँ अझै राम्रो अवसरको खोजीमा बिदेसिने गरेका छन्। राजनीतिक नेतृत्वको अकर्मण्यता र गैरजिम्मेवारी अनि राज्यले अँगालेका अव्यावहारिक आर्थिक नीतिहरूले गर्दा देशमा आर्थिक गतिविधि फस्टाउन नसक्दा रोजगारी सिर्जनामा संकुचन आएकाले बेरोजगार युवाको संख्या दिनप्रतिदिन बढिरहेको छ। यही बेरोजगारीको पीडाले रन्थनिएका युवाले जीवनको गतिलाई सहज यात्रामा डोर्‍याउन र आफ्ना केही सपना पूरा गर्न तथा जीवनका लक्ष्य हासिल गर्न अवसर र अझ राम्रो अवसरको खोजीमा धमाधम देश छाड्दैछन्। राम्रो अवसरको खोजीमा रहेका युवाले त्यो अवसर प्राप्त हुनासाथ सधैंका लागि देश छाड्दैछन्। यसरी जुन गतिमा युवाले देश छाड्दैछन् अथवा योग्य र सक्षम युवाले देश छाड्ने प्रवृत्ति जुन गतिमा बढिरहेको छ, त्यसले देशको भविष्य नै अन्धकारतर्फ धकेलिने संकेत पनि गरिरहेको छ।

राजनीतिक नेतृत्वले गलत मार्ग अवलम्बन गर्दा र तिनको दबाब र प्रभावमा परेर देशको कर्मचारी प्रशासन र न्याय प्रशासनसमेत सार्वजनिक सेवालाई चुस्तदुरुस्त बनाउनमा भन्दा निहित स्वार्थपूर्तिमा दत्तचित्त भएर लागेकाले सर्वत्र असन्तुष्टि, निराशा र आक्रोशमात्रै बढेको अवस्था छ। मूलतः देशको राजनीतिमा व्याप्त बेथितिको प्रभाव अरू सबै क्षेत्रमा परेको छ र सबै क्षेत्रमा बेथिति नै व्याप्त छ। यस्तै बेथितिहरूका भुक्तभोगी र यस्तै बेथितिहरूबाट प्रताडित युवाका मनमा यो देशमा बसेर केही हुँदैन भन्ने निराशाजनक भावनाको विकास भइरहेको छ। अनि यस्तै युवाले सधैंका लागि देश छाड्दैछन्। 

हालै अध्यागमन विभागले नेपालीहरूको बिदेसिने प्रवृत्तिका बारेमा एउटा कहालिलाग्दो तथ्यांक सार्वजनिक गरेको छ। विभागले सन् २०२३ मा कुल १६ लाख ३ हजार ८ सय ३६ नेपाली विभिन्न उद्देश्यले बिदेसिएको तथ्यांक सार्वजनिक गरेको छ। जसमध्ये ७० हजार ९ सय १५ जनाले सधैंका लागि देश छाडेका छन्। देशमा व्याप्त राजनीतिक र सामाजिक बेथिति, गरिखानेका लागि अवसरको अभाव र सर्वत्र व्याप्त निराशाले देश छाड्नेको संख्या निरन्तर बढिरहेको छ भन्ने तथ्यलाई विभागको यो तथ्यांकले पुष्टि गरेको छ। 

समस्या नेपालीले सधैंका लागि देश छाड्नुमात्रै होइन, कस्ता नेपालीले देश छाड्दैछन् र कति नेपालीले देश छाड्दैछन् भन्ने प्रश्न अहम् हो। लर्तरा र कमजोर नेपालीले देश छाडेका छैनन्। सस्तो मूल्यमा आफ्नो श्रम बेचेर पनि त्यस्ता नेपालीले यही संघर्ष गर्न अभिशप्त छन् र गरिबीले पिल्सिएर संघर्षै संघर्षमा बाँचिरहेका छन्। बरु सक्षम र योग्य नेपालीले नै सधैंका लागि देश छाड्दैछन्। मुख्य चिन्ताको विषय यही हो। अदक्ष, अर्धदक्ष, दक्ष, व्यावसायिक र उच्च दक्षता भएका जनशक्ति अवसरको खोजीमा बिदेसिने गरेको वैदेशिक रोजगार विभागको तथ्यांक छ।

विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७९/०८० मा मात्रै २६.२६ प्रतिशत अदक्ष, ७.८५ प्रतिशत अर्धदक्ष, ६५.६९ प्रतिशत दक्ष, ०.१४ प्रतिशत व्यावसायिक र ०.०३ प्रतिशत उच्च दक्ष जनशक्ति रोजगारीका लागि बिदेसिएका छन्। अदक्ष र अर्धदक्षभन्दा दक्ष, उच्च दक्ष र व्यावसायिक जनशक्ति बिदेसिनु चिन्ताको विषय हो, जुन जनशक्ति देशको विकासका लागि अति आवश्यक छन्। पछिल्लो समय डाक्टर, नर्स, इन्जिनियर, सूचनाप्रविधि विज्ञ र अन्य विषयविज्ञलगायतका दक्ष, उच्च दक्ष र व्यावसायिक जनशक्ति बिदेसिने क्रम बढेको छ।

नेपालमा एक हजार जनसंख्याका लागि १.९४ जना स्वास्थ्य जनशक्ति उपलब्ध रहेको सरकारी तथ्यांक छ। स्वास्थ्यजस्तो संवेदनशील क्षेत्रमा समेत यति ठूलो जनशक्ति अभाव रहेको अवस्थामा देशमा उपलब्ध जनशक्ति पनि धमाधम राम्रो अवसरको खोजीमा बिदेसिइरहेको नेपाल मेडिकल काउन्सिलको तथ्यांकले देखाएको छ। काउन्सिलको तथ्यांकअनुसार सन् २०२३ मा २ हजार ३ सय १६ चिकित्सकले चारित्रिक प्रमाणपत्र लिएका छन्, जुन विभिन्न देशमा गएर अध्ययन गर्न र अथवा काम गर्नका लागि आवश्यक पर्छ। स्मरणीय के छ भने सन् २०२३ मा २ हजार २ सय २२ जनाले मात्रै एमबीबीएसको लाइसेन्स परीक्षा उत्तीर्ण गरेका थिए। यो तथ्यांकले देशमा जति चिकित्सक उत्पादन भएका छन्, त्यति नै बिदेसिने गरेको देखाउँछ।

देशमा सर्वत्र निराशा छाउनुको मूल कारण देशको खराब राजनीति हो। राजनीतिमा व्याप्त बेथितिले देशको हरेक क्षेत्रलाई असर गरेको छ। राजनीति देशका अरू धेरै क्षेत्रको मियो हो। त्यसैले राजनीतिको असर अरू सबै क्षेत्रमा पर्छ। राजनीति सङ्लियो भने अरू क्षेत्रमा स्वतः सुधार आउनेछ। देशका स्वाभिमानी र स्वावलम्बी युवालाई निराश भएर बिदेसिनुपर्ने बाध्यता देशको विसंगतिपूर्ण राजनीतिले नै सिर्जना गरेको हो। बिदेसिनका लागि मर्न तयार हुने स्थिति पनि त्यही विसंगतिपूर्ण राजनीतिले नै सिर्जना गरेको हो। त्यसैले अब राजनीतिक नेतृत्वले गम्भीरतापूर्वक सोच्नुपर्छ कि आखिर किन बढ्दैछन् देश छाड्नेहरू भनेर।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.