अस्पष्ट सिग्नल, मौसम पूर्वानुमान गर्नै गाह्रो
काठमाडौं : प्रायःजसो हिउँदे वर्षाको आकलन एकदमै मिल्ने गथ्र्यो। सजिलोसँग पूर्वानुमान गर्न सकिने र सिस्टमहरू स्पष्ट देखिने हुन्थे। तर, यो वर्ष पूर्वानुमान मोडेलका ‘क्लियर सिग्नल’ छैनन्।
त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक विनोद पोखरेल भन्छन् ‘विगतमा हिउँदे वर्षा अनुमान गर्न सबैभन्दा सजिलो हुन्थ्यो। तर, यो वर्षदेखि पूर्वानुमान नमिल्ने नयाँ ट्रेन्ड सुरु भए जस्तो देखिन्छ।’ पोखरेलले थपे, सिजनल पूर्वानुमान पनि मिलेन। दुई/तीनवटा मौसम पूर्वानुमान मोडेलको अवलोकन गर्दा पनि ठ्याक्कै आकलन गर्न गाह्रो परेको उनले बताए।
हुन त ती मोडेलले सोमबारदेखि नै पश्चिममा हिउँदे वर्षा भित्रिने र त्यसको असर काठमाडौंसम्म पुग्ने देखाएको थियो। तर, मंगलबारसम्म पनि वर्षा सुरु नभएको पोखरेलले बताए। उनले थपे, ‘यसपटक पूर्वानुमानमा देखाए जस्तो भएन। पश्चिमी वायुको प्रभाव अझै पनि राम्रो छैन। धरमर धरमर नै छ। मंगलबार काठमाडौंमा पानी छिटाउँला भन्नेसम्म थियो। त्यो पनि भएन।’
मंगलबार र बुधबार वर्षा नभए पनि बिहीबारबाट पश्चिममा मजाले पानी पर्ने देखाउँछ। काठमाडौंमा अलिअलि छिटा मात्रै परे पनि अचम्म मान्न नहुने पोखरेलले बताए।
सुदूरपश्चिमको माथिल्लो भाग र कर्णाली हुँदै गण्डकीको पोखरासम्म पुग्यो भने काठमाडौंसम्म छिटफुट वर्षाको संभावना छ। तर, दुई÷तीनवटा मोडेल हेर्दा खासै स्पष्ट नभएको र अनुमान गर्न गाह्रो रहेको पोखरेलले बताए। अर्को साता अर्को सिस्टम आउँदै छ। त्यो पनि कमजोर खालको हुने भएकाले त्यसले पनि पानी पार्ने नदेखिएको उनले बताए।
मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले महाशाखाले तीन दिनको मात्रै पूर्वानुमान गर्ने भएकाले पूर्वानुमान मोडेल प्रणालीहरूले कस्तो काम गर्छन् भनेर अवलोकन नगरेको बताइन्। जल तथा मौसम विज्ञान विभागले यो हिउँदमा औसतभन्दा बढी वर्षा हुने आकलन गरेको थियो। उनले अझै फेब्रुअरी बाँकी रहेकाले वर्षा भएन भनिहाल्न नमिल्ने तर्क गरिन्।
नगरकोटीका अनुसार पश्चिममा हिउँदे वर्षा सुरु भइसकेको छ। मंगलबार काठमाडौंमा बादल विकसित भए पनि छिटफुटबाहेक वर्षा हुने संभावना छैन। अहिलेको प्रणाली हेर्दा मंगलबार कोशी, गण्डकी, बागमतीको दक्षिण ललितपुर, कास्कीको उत्तरी भूभाग र मनाङमा छिटफुट वर्षा भएको जानकारी दिइन्।
उनले भनिन्, ‘पश्चिमी वायु नत त कमजोर छ, न त बलियो नै। यसले बुधबारदेखि बादल ल्याएर बिहीबारदेखि पानी पार्ने देखिन्छ। पूर्वानुमान कुनै समय मिल्छ तर कुनै बेला मिल्दैन।’ काठमाडौंमा मंगलबार दिउँसो बादल लागे पनि विस्तारै हटेको छ। तर, बिहीबार र शुक्रबार बादल लाग्ने नगरकोटीले जनाइन्।
प्रि–मनसुनमा सानोसानो बादल कहाँ लागेको थाहै नहुने हुँदा पूर्वानुमान गाह्रो हुन्छ। तर, हिउँदमा गरिन् पूर्वानुमान विगतमा मिल्ने गरेको उनले बताइन्।
कम हिउँ, असाधारण हिउँद
अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले यो वर्ष अत्यन्तै थोरै हिउँ परेको जनाएको छ। त्यसकारण पश्चिमी क्षेत्रका हिमालहरू नांगा देखिएका छन्। यो हिउँदलाई असाधारण खालको संज्ञा दिँदै इसिमोडले आकस्मिक बुलेटिन जारी गरेको थियो। उक्त बुलेटिनले हिन्दुकुश हिमालय क्षेत्रमा अत्यन्त कम अथवा कतै हिउँ नपरेको जनाएको छ।
हिन्दु कुश हिमालय क्षेत्र कृषिमा निर्भर रहने भएकाले यसको गम्भीर असर कृषि क्षेत्रमा पर्ने उल्लेख छ। साथै पानीको सुरक्षामा थप चुनौती थपिएको पनि इसिमोडले जनाएको छ। हिमाली क्षेत्रमा हिउँलाई जीविकोपार्जनको दह्रो स्रोत मानिन्छ। पश्चिमी क्षेत्रमा प्रायः अक्टोबर र नोभेम्बरदेखि मार्चसम्म पनि हिउँ पर्ने गथ्र्यो। हिउँले बालीनाली जोगाउन तथा जराको वृद्धिविकास, तुषारो रोक्न, माटोलाई भूक्षयबाट संरक्षण गर्न सघाउँथ्यो। तर, यस प्रकारले खडेरी, कम हिउँ तथा अनियमित वर्षाले पारिस्थितिक प्रणाली, जल संचिति तथा कृषिमा प्रतिकूल असर पार्ने भन्दै इसिमोडले सचेत गराएको छ।
इसिमोडका, क्रायस्फायर विज्ञ, शेर मोहम्मद भन्छन्, ‘सन् २०२३/२४ को हिउँदलाई असाधारण मानिएको छ। यस सिजनमा सरदरभन्दा बढी तापक्रम थियो। सामान्यभन्दा कम हिउँ पर्नुका कारण यो पनि हो’ उनले थपे, ‘आगामी फेब्रुअरी र मार्चमा धेरै हिउँ परे पनि तापक्रम बढ्न थालिसकेको हुन्छ। यसले हिउँको कमी परिपूर्ति गर्न ढिलो भइसक्छ।’
कम हिउँ पर्नुको अर्थ पानीको भण्डारणमा पनि कमी आउनु हो। यसले कालान्तरमा चाहिएको समयमा पानी अभावले कृषिमा प्रभाव बनाउँछ। हिमाली क्षेत्रमा बाली नलाग्ने, पशुधनको मृत्यु, दानापानी नहुने समस्या तथा विपद्का कारण क्षति बेहोर्नु पर्दा मानसिक रूपमा विक्षिप्त बनाइसकेका घटनाहरू छन्। यस खालको खडेरीले झनै कृषि क्षेत्रमा लागेकाहरूले पानीको अभाव मात्रै झेल्दैनन्। खाद्य संकट भोग्ने तथा पशुपालनमा समेत समस्या हुनेछ। विशेषगरी हुम्लाको लिमी उपत्यकामा असामान्य रूपमा समय अगावै एकपटक हिउँ परेको थियो, गत सेप्टेम्बरमा। त्यसपछि त्यहाँ पानी पनि परेको छैन। त्यहाँका स्थानीय प्रमुख खेतीमा निर्भर हुने भएकाले निकै चिन्तित छन्।
इसिमोडका जलवायु परविर्तन विषेशज्ञ अरुणभक्त श्रेष्ठले भन्छन्, ‘विश्वव्यापी तापमान वृद्धि जलवायु संकटको एउटा प्रमुख कारण बनेको छ। यसले विभिन्न खालका मौसमी परिघटनालाई प्रभावित बनाएको छ। यसले विश्वव्यापी रूपमा नै असर गर्दै आएको छ।’