अमला रोकाले सञ्चालन गरेको ठमेलको होटलबाट नगदसहित ११ जना पक्राउ
काठमाडौं : नेपाल प्रहरीले १३ लाख ६२ हजार पाँच सय रुपैयाँसहित ११ जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँ र प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले काठमाडौँ महानगरपालिका–२६ ज्याठास्थित अमला रोकामगरले सञ्चालन गरेको होटल भियानाबाट नगदसहित ११ जनालाई पक्राउ गरी मंगलबार सार्वजनिक गरेको हो ।
प्रहरीका अनुसार काठमाडौँ जोरपाटीका ५४ वर्षीय अरुण घिमिरे, काभ्रेपलाञ्चोकका ४४ वर्षीय हरिबोल खनाल र २८ वर्षीय किशोर अधिकारी, चितवनका ४१ वर्षीय दीपक गुरुङ, नुवाकोटका ४४ वर्षीय कृष्णबहादुर राई, २८ वर्षीय शङ्कर शाही र ३० वर्षीय राजु पन्त, रुपन्देहीका २६ वर्षीय घनश्याम शर्मा, रोल्पाका ३६ वर्षीय लिला डाँगी, बाँकेका ४० वर्षीय मेघनाथ बुचबन्दिया र गोरखाका ३५ वर्षीय अर्जुन गुरुङलाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले ज्याठास्थित होटल भियनामा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।
भेप र ब्रेक सुमार्फत तस्करीमा अमलाका पति एवम् तिब्बती मूलका बेल्जियन नागरिक दावा छिरिङ मुछिएपछि प्रहरीले निगरानी बढाएको छ। सुन तस्करीमा रोल्पा घर भएकी अमला रोकालाई प्रतिवादी कायम गरिएको थियो। उनीहरु दुवै जनाको सत्तारूढ माओवादी केन्द्रका शीर्ष तहका नेतासँग निकट सम्बन्ध रहेको छ। अमला माओवादी केन्द्र निकट रोल्पा–काठमाडौँ सम्पर्क मञ्चको पूर्व उपाध्यक्ष पनि हुन्। - राससको सहयोगमा