पश्चिमी वायुको प्रभाव : कुन प्रदेशमा हुँदैछ वर्षा र हिमपात ?
काठमाडौं : नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिनमा बिहान तराई भू-भागका केही स्थानहरूमा हुस्सु/कुहिरो लागेको उल्लेख छ।
दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको छ।
राती सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थानहरू, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरू र बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका धेरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।
महाशाखाका अनुसार बिहीबार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूका साथै बाँकी पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
महाशाखाका अनुसार शुक्रबारबाट मौसम सुधार हुनेछ। शुक्रबार कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा फाटफुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूका साथै बाँकी उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।