जहाँ एम्बुलेन्सको धन्दा चलेको छ

जहाँ एम्बुलेन्सको धन्दा चलेको छ
जनकपुरको बाह्रबिघा मैदानमा पार्किङ गरिएका एम्बुलेन्सहरू । तस्बिर : मनिका झा

जनकपुरधाम : राष्ट्रिय एम्बुलेन्स निर्देशिकाले भन्छ– एम्बुलेन्स सेवा सञ्चालन गर्न चाहने संस्थाले जिल्ला र प्रादेशिक एम्बुलेन्स व्यवस्थापन समितिबाट अनुमति लिनुपर्छ। तर, धनुषामा भने व्यक्तिगत रूपमा एम्बुलेन्स खरिद गरी ‘मनलाग्दी’ भाडा असुल गर्ने काम भइरहेको छ। विभिन्न संस्थाले अनुदान वा सहुलियत दरमा खरिद गरेका एम्बुलेन्स व्यक्तिलाई बेच्ने र उनिहरूले एम्बुलेन्सको ‘धन्दा’ चलाइरहेका छन्। 

को १ च ६२७४ नम्बरको एम्बुलेन्स कोशी प्रदेशमा दर्ता छ। तर, धनुषाका अरुण कापरले खरिद गरेर जिल्लामा चलाइरहेका छन्। ना २ च ८८५५ नम्बरको एम्बुलेन्स साविकको नारायणी अञ्चलमा दर्ता छ। तर,  धनुषाकै राजेश यादवले खरिद गरी सञ्चालन गरिरहेका छन्।  

ज १च १२३३ महोत्तरी जिल्लाबाट अनुमति प्राप्त हो। तर, धनुषाका दिलीप शर्माले खरिद गरी चलाइरहेका छन्। यस्तै, ना २ च २४६० नम्बरको एम्बुलेन्स नारायणी अञ्चलबाट अनुमति प्राप्त हो। तर, सुरेश ठाकुरले खरिद गरेका छन्। मे १ च ४३८७ मेचीको एम्बुलेन्स बैजनाथ साहले चलाइरहेका छन्।

प्रदेश २–०२–००१ १ च ०९३२ सर्लाही जिल्लाको एम्बुलेन्स मनोज यादवले धनुषामा चलाइरहेका छन्। ज१च १४६४ महोत्तरीको एम्बुलेन्स कृष्णा यादवले खरिद गरेका छन्। ना २ च ८१३१ नारायणीको एम्बुलेन्स रामकुमार, जा १ च १७०० महोत्तरीको एम्बुलेन्स दिपज्योति, प्रदेश ३—०१—०२३ च०२१ काठमाडौंको एम्बुलेन्स राजेस दनुवार, प्रदेश २–०२–००१ च ०२१ महोत्तरीको एम्बुलेन्स ओम प्रकाशले चलाइरहेका छन्। 

त्यसैगरी ज१च १९०८ महोत्तरीको एम्बुलेन्स सुनौलो, स १च १३९२ सगरमाथाको एम्बुलेन्स मन्सुर राइन, बा १ ८च ११८६ बागमती अञ्चलको एम्बुलेन्स माँ जानकी सिटी स्क्यानले खरिद गरी चलाइरहेका छन्। स१च ११९१ सगरमाथा अञ्चलको एम्बुलेन्स बाल गोपालले खरिद गरेका छन् भने ना २ च १४५३ नम्बरको रौतहट जिल्लाको एम्बुलेन्स विश्वनाथ गुप्ताले खरिद गरी चलाइरहेका छन्। 

एम्बुलेन्स सेवा विशुद्ध सामाजिक उपकारमा पर्छ। बिरामी वा घाइतेलाई आकस्मिक स्वास्थ्य सेवासहित छिटो अस्पताल पुर्‍याउने उद्देश्यले एम्बुलेन्स सेवा दिने गरिन्छ। तर, धनुषामा भने एम्बुलेन्स किन्दै ‘व्यापार’ गर्न थालिएको छ। निजी सवारी साधन जस्तै जनकपुरका अस्पतालको छेउछाउ बिरामी कुरेर एम्बुलेन्स बस्छन्। मनपरी भाडा असुल्ने धन्दा चलेको छ। ‘व्यापार गर्न थालिएका कारण एम्बुलेन्स सञ्चालक सबै बदनाम भइरहेका छौं,’ नव मिथिला युवा कमिटीद्वारा सञ्चालित एम्बुलेन्स सञ्चालक सुजित पूर्वे भन्छन्, ‘यस्ता गतिविधिहरू नियन्त्रणमा आउनुपर्‍यो।,’

‘सेवानै धर्म हो भन्ने मूल मर्मका साथ एम्बुलेन्स सेवा सञ्चालन हुनुपर्ने हो तर, धनुषामा विगत धेरै वर्षदेखि एम्बुलेन्स खरिदबिक्रीको काम हँुदै आएको छ,’ एम्बुलेन्स सञ्चालक समितिका केन्द्रीय सदस्य महाशंकर ठाकुर भन्छन्, ‘एम्बुलेन्स खरिदबिक्री र ठेक्कापट्टामा लिएर धनुषाबाट सञ्चालन भइरहेको कुरा पटक–पटक प्रमुख जिल्ला अधिकारी समक्ष गुनासो गरेका छौं। अवैद्य तरिकाबाट सञ्चालन गरिएका सम्पूर्ण एम्बुलेन्सहरूलाई नियन्त्रणमा लिई कानुनी कारबाही गर्न प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र नै बुझाएका छौं।’ 

एम्बुलेन्स सेवालाई व्यवस्थित गर्न जिल्ला एम्बुलेन्स समितिअन्तर्गतका सरोकार निकायहरू जिल्ला प्रशासन कार्यालय, रेडक्रस धनुषा, स्वास्थ्य कार्यालय धनुषा, जिल्ला प्रहरी, ट्राफिक कार्यालय र एम्बुलेन्स चालक संघको संयुक्त पहलमा २०७८ सालमै भाडादर निर्धारण गरिएको थियो। 

तर, न त निर्धारित भाडादरको अवलम्बन गरिएको छ, नत एम्बुलेन्सहरू व्यवस्थित नै छन्। माथिबाट अन्य जिल्लाका लागि भनेर विभिन्न संस्थाहरूद्वारा उपलब्ध एम्बुलेन्सहरू व्यक्तिगत रूपमा खरिद गरी जिल्लामा सञ्चालन गरी ‘मनलाग्दी भाडा असुल्ने’ काम भइरहेको छ। जनकपुर एम्बुलेन्स चालक संघका अनुसार जिल्लामा ७५ वटा एम्बुलेन्स दर्ता छन्। जसमा नेपाल रेडक्रस सोसाइटीका ८ वटा छन। तर, चारवटा मात्रै सञ्चालनमा छन्।

जनकपुरका युवा क्लबहरू गणेश युवा कमिटी र नेपाल शिक्षक संघसँग एम्बुलेन्स छन। जनकपुरमा सञ्चालित एम्बुलेन्सहरूमध्ये ३० वटा नेपाल–भारत सहयोगमा प्राप्त भएका हुन्। अन्य विभिन्न दातृ निकाय तथा निजी रूपमा राजस्व छुटबाट खरिद गरिएका छन्। 

जिल्लामा १६ वटा एम्बुलेन्स गैरकानुनी 

एम्बुलेन्सको खरिदमा सरकारले राजस्व छुट दिएर सम्बन्धित संस्थालाई परोपकारी सेवा गर्न अवसर दिन्छ। तर, धनुषामा राजस्व छुटमा वा दातृ निकायको सहयोगमा एम्बुलेन्स पाउने र त्यसलाई ठेक्कामा सञ्चालन गर्ने लहर नैै चलेको छ। 

धनुषा जिल्ला एम्बुलेन्स समितिका अनुसार १६ वटा एम्बुलेन्स गैरकानुनी तरिकाबाट सञ्चालनमा छन्। अधिकांश अन्य जिल्लाका एम्बुलेन्सलाई व्यक्तिले खरिद गरी सञ्चालनमा ल्याइएका छन्। निजी सवारी साधन झैं मोलतोल गर्ने र यात्रु बोक्ने काम एम्बुलेन्सले गरिरहेका छन्।  एम्बुलेन्स सञ्चालक समितिले धनुषाबाट काठमाडौंसम्म बिरामी बोकेको १४ हजार रुपैयाँ भाडा दर निर्धारण गरेको छ। तर, निजी गाडी जस्तो मोलतोल गरेर २० देखि २५ हजार सम्म असुल्ने गरिन्छ। ‘एम्बुलेन्सको सेवाशुल्कमा एकरूपता हुनुपर्ने हो। त्यसका लागि हामीले पटक–पटक प्रयास गरेका छौं,’ नेपाल रेडक्रस सोसाइटीका महामन्त्री नरेशप्रसाद सिंह भन्छन्, ‘जति प्रयास गरे पनि सकेका छैनांै। 

एम्बुलेन्स खरिद वा सहयोग लिने प्रक्रिया 

स्वास्थ्य क्षेत्रमा काम गर्ने संस्था अस्पताल, जनस्वास्थ्य, नर्सिङ होमलगायत ५० बेडको अस्पताल सञ्चालन गर्ने संस्थाहरूलाई बिरामी ओसारपोसार गर्न अप्ठ्यारो नहोस् भन्ने उद्देश्यले एम्बुलेन्स सञ्चालन गर्ने अनुमति पाएका हुन्छन्। जुन संस्थाले आफ्नो विधानमा ५ वर्षसम्म स्वास्थ्य क्षेत्रमा काम गरिसकेको वा विधानमा किटान गरेरै स्वास्थ्य क्षेत्रमा काम गर्ने भनेर लेखेका हुन्छन्, त्यस्ता संस्थाले पनि एम्बुलेन्स सञ्चालन गर्ने अनुमति पाउँछन्। 

प्रमुख जिल्ला अधिकारी संयोजक रहने गरी जिल्ला प्रहरी कार्यालय, प्रादेशिक अस्पताल, जिल्ला रेडक्रस शाखा सदस्य तथा जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख सदस्य सचिव भएको एम्बुलेन्स सेवा सञ्चालन समिति हुन्छ। कुनै पनि संस्थाले एम्बुलेन्स सञ्चालन गर्न उक्त समितिमा निवेदन दिँदा निवेदन पास भइसकेपछि एम्बुलेन्स दातृ निकाय, नेपाल सरकार वा दूतावासबाट एम्बुलेन्स प्राप्त गर्न स्वास्थ्य मन्त्रालयमा सिफारिस गरिन्छ।

त्यसपछि स्वास्थ्य मन्त्रालयले अर्थ मन्त्रालयलाई पठाइसकेपछि अर्थ मन्त्रालयले भन्सार कार्यालयमा सहुलियत दरमा १ देखि २ प्रतिशतसम्मको भन्सार करमा मात्रै एम्बुलेन्स किन्न अनुमति दिने गरिन्छ। एम्बुलेन्स किनेपछि रेडक्रस धनुषा र जिल्ला जनस्वास्थ्य कार्यालय धनुषामा दर्ता गराउनुपर्छ। एम्बुलेन्स सञ्चालन गरेको प्रत्येक महिनाको प्रतिवेदन रेडक्रस र जनस्वास्थ्यमा बुझाउनुपर्छ। 

निजी फाइदाका लागि प्रयोग

एम्बुलेन्स सञ्चालनका लागि आवश्यक मापदण्ड निर्धारण गरिएका छन्। जसअन्तर्गत एम्बुलेन्स सञ्चालक व्यवस्थापन समितिले पास गरेको एम्बुलेन्सको दर रेट अनुसार चलाउनुपर्छ। जुन स्थानका लागि एम्बुलेन्स दर्ता गरिएको हो, त्यही स्थानबाट मात्र सञ्चालन गर्नुपर्छ।

चालक नियुक्त गर्दा कम्तीमा पाँच वर्षको सवारी चालकको अनुभव हुनुपर्छ। उक्त चालकले प्राथमिक उपचारको तालिम लिएको हुनुपर्छ। आँखा परीक्षण तत्काल गराएको हुनुपर्छ र मायालु स्वभावको हुनुपर्छ। सेवा दिएबापत बिरामीलाई रसिद दिनुपर्छ।

एम्बुलेन्सभित्र आवश्यक उपकरणहरूजस्तै प्राथमिक उपचारको बाकस, अक्सिजन सिलिन्डर, सलाइन स्ट्यान्डसहित सवारी साधनको मेकानिकल परीक्षण गराएको हुनुपर्छ। तर, जिल्लामा सञ्चालित अधिकांश एम्बुलेन्सहरू न्यूनतम मापदण्डसमेत पूरा नगरी सञ्चालनमा छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.