मुगुका उच्च हिमाली क्षेत्रमा हिमपात
मुगु : बिहीबार बिहानैदेखि मुगुको उच्च हिमाली भू-भाग हिमपात भएको छ। बिहानैदेखि चारै स्थानीय तहका उच्च हिमाली भू-भागमा हिमपात हुन थालेको हो। सदरमुकाम गमगढीलगायत क्षेत्रमा सामान्य बर्षा र उच्च हिमाली क्षेत्रमा हिमपात भएपछि कृषकहरु हर्षित भएका हुन्।
उच्च हिमाली क्षेत्रमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको मुगुम, डोल्पु, चिताई,कात्तिक, किम्रि,खारी, ताखा, दाउरा,सेरोग पुव, रिउस, मह,माँग्री पाँपु,छाईल र चिमातमा हिमपात भएर हिउँ जम्न थालेको स्थानीयले जानकारी दिए। सोरु गाउँपालिका र खत्याडका गाउँहरुमा समेत हिमपात र बर्षा भईरहेको छ। छाँयानाथ रारा नगरपालिकाको रारा क्षेत्र लगायत अन्य बस्तीमा हिमपात र सदरमुकाम क्षेत्रमा सामान्य बर्षात भई रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपी वीरेन्द्र थापाले बताए।
अघिल्ला वर्षहरुमा मंसिर/पुसमै हिमपात हुने गरेको थियो। यो वर्ष ढिलो गरी हिमपात भएको हो।
यो पनि पढ्नुहोस
हिउँदमा हिमापात र बर्षा नभए हिउँदेबाली जौ, गहुँ,उवा,नाफल र आलुमा उत्पादनमा कमि आउँछ। हिमपात र बर्षातले कृषकहरुलाई ठूलो राहत हुने छाँयानाथ रारा नगरपालिका—४ का कृषक उर्गिन भण्डारीले बताए। हिमपात र बर्षातले कृषकहरुमा केही राहत महसुस भएपनि चिसोले जनजीवन कष्टकर बनेको छ। सदरमुकाम गमगढीबाट छुट्ने आउने यातायातका साधन रोकिएका छन् भने हवाई यातायातसमेत बन्द भएको छ।