बैतडीमा वर्षासँगै हिमपात
बैतडी : बैतडीसहित सुदूर पहाडमा वर्षासँगै हिमपात भएको छ । बिहीबार बिहानैदेखि वर्षासँगै हिमपात भइरहेको हो ।
बैतडीको खोड्पे, सिगास, बाँजपानी, सतबाज, अनार खोली लगायतका क्षेत्रमा हिमपात भइरहेको छ । यसैगरी बझाङ, दार्चुला र डडेल्धुराका उच्च लेकाली भेगमा पनि हिमपात भइरहेको छ ।
असोजपछि पहिलो पटक हिउँदे वर्षा भएपछि किसानहरुले राहत महसुस गरेका छन् । लामो समयदेखि वर्षा नहुँदा हिउँदे बाली प्रभावित बनेको थियो । ढिलोगरी हिउँदे वर्षा भएपछि आलु लगाउने किसानहरुलाई भने निकै राहत मिलेको स्थानीय किसान पदम बिष्टले बताए ।
यसैगरी हिउँदे फलफूलका बिरुवा लगाउने समय भएकाले पनि वर्षाले निकै राहात पुग्ने कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।