धार्मिकस्थल र शिक्षण संस्थाका भवनमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने
वीरगन्ज : वीरगन्ज महानगरपालिकाले धार्मिकस्थल र शिक्षण संस्थाका भवनमा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने भएको छ।
आइतबार बसेको महानगरपालिको बजार व्यवस्थापन तथा अनुगमन समितिको बैठकले महानगरमा रहेका मठमन्दिर, मस्जिद, विद्यालय तथा क्याम्पसको भवन र जग्गामा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने निर्णय गरेको हो।
महानगरका उपमेयरसमेत रहेका समितिका संयोजक इम्तियाज आलमको अध्यक्षतामा बसेको बैठकले धार्मिकस्थल र शिक्षण संस्थाका भवन र जग्गामा मदिरा र सुर्तिजन्य पदार्थहरूको बिक्रीवितरण र कारोबार गर्न रोक लगाउने निर्णय गरेको बैठकमा सहभागी होटल तथा पर्यटन व्यवसायी संघका अध्यक्ष हरि पन्तले जानकारी दिए।
बैठकमा स्वास्थ्य ऐन अनुसार मठमन्दिर र शिक्षालयको वरिपरि पाँच सउ मिटरसम्मको क्षेत्रमा मदिरा र सुर्तीजन्य पदार्थ बेच्न नपाइने बिषयमा गहन छलफल भए पनि हाललाई विद्यालय,क्याम्पस तथा मठमन्दिर, मस्जिद जस्ता धार्मिकस्थलका भवन र जग्गामा मदिरा र सुर्तीजन्य पदार्थको बिक्री वितरण र कारोबारमा रोक लगाउने निर्णय गरिएको पन्तले जानकारी दिए।
बैठकले महानगरमा रहेका सहकारीहरूको अनुगमन अझ प्रभावकारी बनाउने, अनुगमनका क्रममा दिइएको निर्देशन पालन भए नभएको बारे बुझ्ने , निष्क्रिय सहकारीहरूलाई खारेजी प्रक्रियामा लाने र विद्यालयहरूको अनुगमन गर्ने निर्णय गरेको छ।
बैठकमा महानगरका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, खाद्य अनुसन्धान अधिकृत बिपिन कुमार दास, वडा प्रहरी कार्यालय विर्ताका प्रहरी निरीक्षक पुष्कर बोगटी, उपभोक्ता मञ्चका अजित भुजेल लगायतको पनि सहभागिता थियो।