जीवन उत्पत्तिको अनुत्तरित प्रश्न

पृथ्वीमा जीवन उत्पत्ति कसरी भयो ? यसको उत्तर वैज्ञानिकसँग अझै प्रस्ट छैन।

जीवन उत्पत्तिको अनुत्तरित प्रश्न

पृथ्वीमा जीवनको उत्पत्ति अझै एक अनुत्तरित प्रश्न हो। जीवन सुरुआतको चरणबाहेक उत्पत्ति हुनुको कारण के थियो ? कसरी सुरु भयो ? यसको उत्तर वैज्ञानिक समुदायसँग अझै प्रस्ट छैन। यस सन्दर्भमा आदिम सुपको सिद्धान्त सबैभन्दा प्रचलित मान्यता हो। कतिपय वैज्ञानिक पृथ्वीमा जैविक जीवन अजैविकबाट आएको हो भनेर विश्वास गर्छन्। हामी जसलाई एबायोजेनेसिसको प्रक्रिया भन्छौं। वैज्ञानिकहरू भन्छन् कि यो प्रक्रिया लगभग ३.५ अर्ब वर्षपहिले पृथ्वीमा घटित भएको थियो। यसैले अजैविक प्रक्रियाबाट जीवन उत्पत्तिको व्याख्या गर्न ‘प्राइमोर्डियल सुप’ सिद्धान्त लोकप्रिय भएको हो।

प्रसिद्ध प्रकृति वैज्ञानिक चाल्र्स डार्विनले जीवोत्पत्तिको व्याख्यानमा ‘प्रिबायोटिक सुप’ को परिकल्पना गरिदिए। उनले भने कि पृथ्वीमा ‘न्यानो सानो पोखरी’मा जीवनको उत्पत्ति भयो। त्यस पोखरीमा पानीसँगै जीवन उत्पत्तिका प्रमुख घटक जस्तै एमोनिया, कार्बनडाइअक्साइड, लवण, मिथेन, प्रकाश र तापलगायत विद्युतीय चार्ज समावेश छ भनी उनले कल्पना गरिदिए। त्यही पोखरीमा एक प्रोटिन यौगिक रासायनिक रूपमै बन्यो। र, अझै जटिल परिवर्तन हुन तयार भयो भनिदिए। त्यसपछि आजसम्म जीवन रूपको विकासका लागि प्राकृतिक छनोटले भूमिका खेल्यो भन्ने मान्यताले अग्रता लियो।

निःसन्देहः डार्विनको प्राकृतिक छनोटको सिद्धान्त पृथ्वीमा जीवन विकास र रूपान्तरणमा महत्त्वपूर्ण प्रक्रिया हो। यसैले यदि जीवन भएका अन्य स्थल छन् भने यो नियम त्यहाँ पनि लागू हुनुपर्छ भन्ने मान्यता धेरै विद्वानको छ। तथापि, डार्विनको विकासवादी सिद्धान्तअन्तर्गत पहिलो पूर्णरूपमा क्रियाशील जटिल परिवर्तन हुन सक्ने सम्भाव्य आत्म–प्रतिकृति जीवन प्रणालीको विकास एक मायावी अवधारणा हो भनेका छन् चन्द्र विक्रमसिंघेले। उनले सन् २०१२ मा प्रकाशित ओरिजन अफ लाइफ एन्ड पान्स्पर्मिया शीर्षक वैज्ञानिक लेखमा यो कुरा उल्लेख गरेका हुन्। 

ख्यातिप्राप्त वैज्ञानिकद्वय रूसी बायोकेमिस्ट एलेक्सान्डर आई ओपारिन र बेलायती विकासवादी जीवविज्ञानी जेबीएस हल्दानले सन् १९२० को दशकको उत्तराद्र्धमा डार्विनको मान्यतालाई अझ व्यवस्थित गर्दै जीवन उत्पत्तिको ‘प्राइमोर्डियल सुप’  सिद्धान्त नै प्रस्तुत गरे। यो उनीहरूको प्रयोगवादी सिद्धान्त थियो। उनीहरूको प्रस्ताव थियो कि प्रकाश र प्राकृतिक विद्युतीय प्रणाली (चट्याङ)ले नै वायुमण्डलमा विद्यमान अकार्बनिक ग्यासहरूको मिश्रणबाट पहिलो पटक पृथ्वीमा जैविक अणुहरू बने। तिनै जैविक अणुमा कालान्तरमा आफ्नै नक्कल बनाउने क्षमताको विकास भयो। 

धेरै वैज्ञानिक ओपारिन र हल्दान सिद्धान्त जीवन कसरी निर्माण भयो भनेर देखाउन सकिने पर्याप्त प्रमाण होइन भन्छन्। यद्यपि यो प्रयास त्यो समय एक हिसाबले सफलता उन्मुखजस्तो त देखिन्थ्यो तर पुस्टि गर्न पर्याप्त थिएन भनेका छन् चन्द्र विक्रमासिंघेले। उनले सन् २०१० मा इन्टर नेसनल जर्नल अफ एस्ट्रो  बायोलोजीमा प्रकाशित एक वैज्ञानिक लेखमा यसो भनेका हुन्।

अजैविकताको सिद्धान्तका आधारमा प्रयोगशालामा जीवन सिर्जना गर्ने प्रयास नभएका पनि होइनन्। वैज्ञानिकहरू स्टान्ली मिलर र ह्यारोल्ड युरीले सन् १९५० को दशकमा ओपारिन–हल्दान रसायनशास्त्रको सम्भाव्यता अगाडि ल्याउन साधारण जैविक यौगिकहरू उत्पादन गर्न आधारभूत तŒव मिलाई संयोजन गरी प्रयोगशालामा प्रोटिन र न्युक्लिक एसिडको निर्माण ब्लकहरू उत्पादन गर्ने प्रयास गरे। तर, यो प्रयास हठी र मायावी मात्र हो भनी चन्द्र विक्रमासिंघेले आफ्नो अनुसन्धानपत्रमा टिप्पणी गरेका छन्। 

हुन त जीवनको उत्पत्ति र विकासका लागि डार्विन, ओपारिन, हल्दान, मिलर र युरीका सिद्धान्त र प्रयोगहरू बहसमा आएका लोकप्रिय सिद्धान्त हुन्। तर, डार्विन र ओपारिन–हल्दानले भनेजस्तै सुपमा केही अर्ब वर्षमै पृथ्वीमा जीवनको विकास हुने सम्भावनाबारे हामीलाई पर्याप्त ज्ञान छैन भनी वैज्ञानिकद्वय क्रिक एफएचसी र एल ई ओर्गेलले सन् १९७३ मा प्रकाशित एक अनुसन्धानपत्रमा उल्लेख गरेका छन्। किनकि, पृथ्वी वा अन्य कुनै ग्रहमा यस्तै घटना भयो कि भएन भन्नेबारे वैज्ञानिकसँग अझै प्रस्ट धारणा छैन।  

यसैले जीवनको उत्पत्ति प्रयोगात्मक रूपमा मायावी वा भ्रमपूर्ण छ भनी वैज्ञानिक डेभिड टेफरले सन् २००८ मा एस्ट्रोबायोलोजीमा प्रकाशित एक लेखमा उल्लेख गरेका छन्। उनी भन्छन्– प्राणीहरू मात्र होइन पृथ्वीका हरेक जीवनसँग आनुवंशिक कोडको समानता राम्रोसँग स्थापित छ। यसले पृथ्वीको उत्पत्तिसँगै जीवनको उपस्थिति थियो भन्ने संकेत गर्छ। यसैले जीवनको स्वतःस्फूर्त उत्पति वा अजैविकबाट जैविक जीवनको विकासलाई पुष्टि गर्ने आधारहरू भेट्टाउन मुस्किल छ। तर, अन्तरिक्षको माध्यमबाट यात्रा गर्ने जीवनको क्षमता कम्तीमा छोटो दूरीका लागि सम्भव छ भन्नेबारे हाम्रो सौर्यमण्डलभित्रै भएका मानव अन्वेषणले संकेत गर्छन्।

जीवन उत्पत्तिका सन्दर्भमा वैकल्पिक व्याख्याका लागि वैज्ञानिकमाझ केही तथ्य पनि छन्। यो तथ्य स्पष्ट छ कि जीवन उत्पन्न गर्ने प्रयासहरूमा एमिनो एसिडजस्ता रासायनिक अणु उत्पादन हुने गरेका छन्। तर, ती अणु पृथ्वीमा मात्र विद्यमान छैनन्। यिनीहरू अन्तरतारकीय धूलोका कण र उल्कापिण्डमा पाइने सार्वभौमिक रसायन विज्ञानका विशिष्ट घटक पनि हुन्। राउन गाब्रिएल जोसेफले कस्मोलोजी जर्नलमा सन् २००९ मा प्रकाशित ‘लाइफ अन अर्थ केम फ्रम आदर प्लानेट’ लेखमा भनेका छन्– ‘कसैले पनि आजसम्म गैरजीवनबाट जीवन उत्पादन गर्न सकिन्छ भनेर ठोस प्रमाण दिन सकेका छैनन्।’

चन्द्र विक्रमासिंघेले इन्टर नेसनल जर्नल अफ एस्ट्रो बायोलोजीमा सन् २०१० मा प्रकाशित ‘ओरिजन अफ लाइफ एन्ड पान्स्पर्मिया’ शीर्षक वैज्ञानिक लेखमा भनेका छन्– यदि कुनै पनि स्थलीय परिवेशमा निर्जीव पदार्थबाट जीवन सहजै उत्पन्न हुन सक्छ भनेर देखाउन सकियो भने मात्र जीवनबारे प्रस्तावित ब्रह्माण्डीय उत्पत्तिका सिद्धान्तहरूमा विचार गर्ने आधार त्यो बेला नहुन सक्छ। त्यसपछि मात्र हाम्रो ध्यान जीवन उत्पत्तिका लागि विशुद्ध स्थलीय परिदृश्यतर्फ निर्देशित हुन सक्छ। यसैले अहिले पृथ्वीमा जीवोत्पत्तिका लागि अन्तरिक्ष केन्द्रित मान्यता ‘पान्स्पर्मिया’लाई अस्वीकार गर्न सकिँदैन।

अर्का वैज्ञानिक राउन गाब्रिएल जोसेफ पनि हाम्रो ग्रहमा जीवन एबायोजेनेसिसको माध्यमबाट प्राइमोर्डियल सुपमा सुरु भएको कुनै प्रमाण नभएकोमा स्पष्ट छन्। जीवनले मात्र जीवन उत्पादन गर्न सक्ने भएकाले पृथ्वीको जीवनको उत्पत्तिको बारेमा पान्स्पर्मिया नै एक व्यावहारिक वैज्ञानिक व्याख्या हो भन्ने मान्यता विक्रमासिंघेसँगै उनको पनि छ। पृथ्वीमा देखा परेका पहिलो जीवन रूपहरू अन्य जीवित प्राणीले नै उत्पादन गरेका थिए। जुन सम्भवतः लगभग पाँच अर्ब वर्षपहिले मूल तारालाई परिक्रमा गरिरहेका ग्रहहरूको भग्नावशेषमा फसेका थिए। त्यो नै पृथ्वीमा जीवन उत्पत्तिको कारक हो भन्ने मान्यता उनको छ।

चन्द्र विक्रमासिंघेले भनेजस्तै गाब्रिएल जोसेफको पनि मान्यता के छ भने जीवित शरीरले मात्र जीवन उत्पादन गर्न सक्छ न कि अजैविक पदार्थले। यसैले ‘एबायोजेनेसिस’ एक सत्य वैज्ञानिक सिद्धान्त पनि होइन। उनी भन्छन् कि यो त तथ्य–आधारित वैज्ञानिक समर्थनरहित एक काल्पनिक परिकल्पना मात्र हो। अर्को कुरा, अजैविकबाट –जैविक जीवन एउटा पृथ्वी केन्द्रित मान्यता हो– जुन पुस्टि भएको छैन। यसैले पृथ्वीको उत्पत्ति हुनुपूर्व नै ब्रह्माण्डमा जीवनको बीजारोपण भइसकेको थियो भनेर विश्वास गर्ने विक्रमासिंघे र गाब्रिएल मात्र नभई अन्य धेरै वैज्ञानिक पनि छन्। र, पृथ्वी नै जीवन सुरुवातको केन्द्र होइन भन्ने मान्यतालाई समर्थन गर्ने उदाहरण पनि पर्याप्त छन् ।

(कट्टेल, चाइनिज एकेडेमी अफ साइन्सेस, बेइजिङमा सहप्राध्यापक छन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.