जाडोयामको तनावबाट जोगियौं
जाडोयाममा हुने तनाव (डिप्रेसन) बेग्लै किसिमको हुन्छ। यस खालका तनाव कात्तिक÷मंसिरतिर सुरु हुन्छ। चैत÷वैशाखतिर हराउँदै जान्छ वा निको हुन्छ।
जाडोयाममा हुने डिप्रेसनले दैनिकीमा असर पार्छ। यसले मानिसको दैनिकीसमेत अस्तव्यस्त बनाइरहेको हुन्छ। तनावका कारण धेरै छन्। शारीरिक रोगका कारण पनि तनाव हुन्छ। कतिपय औषधि सेवनका कारण पनि तनाव हुनसक्छ। त्यस्तै भावनात्मक चोट, अप्रिय घटनाले पनि तनाव दिइरहेको हुन्छ।
सबै व्यक्ति खुसी हुन चाहन्छन्। आनन्दको खोजीमा भौंतारिरहेका हुन्छन्। जिन्दगी रमाइलोसँग बिताउन चाहन्छन्। जाडोमा हुने डिप्रेसनबाट जोगिन देहायबमोजिमका उपाय अपनाउन सकिन्छ।
घाम तापौं
जाडोयाममा हुने तनावको कारण सूर्यको प्रकाशसँग पनि जोडिएको हुन्छ। डिप्रेसनको औषधिसँगै लाइट थेरापीले पनि जाडोयामको तनावको उपचार गरिन्छ।
आराम गरौं
तनाव भएपछि मन रमाउँदैन। कुनै कुरामा पनि चाख लाग्दैन। त्यसैले आफ्नो दैनिक कार्यव्यस्तताबाट आराम लिनुपर्छ।
पर्याप्त सुतौं
दैनिक दौडधुप र कार्यव्यस्तताका कारण पर्याप्त सुत्न नपाउँदा पनि डिप्रेसन हुन्छ। आराम र पर्याप्त निद्राले शरीरमा ऊर्जा दिन्छ। रोगसँग लड्ने क्षमता पनि बढ्छ।
व्यायाम गरौं
तनावमुक्त हुन शारीरिक व्यायामले पनि सहयोग गर्छ। दैनिक हलुका खालको शारीरिक व्यायम गर्नु लाभदायक हुन्छ।
स्वस्थ खानपान खाऔं
स्वस्थ आहारले हाम्रो स्वास्थ्यमा सकारात्मक प्रभाव पार्छ। त्यसैले तनावमुक्त हुन स्वच्छ, सफा र पोषिलो खानेकुरा खानुपर्छ।
संगतमा ध्यान दिऊँ
आफ्ना दुःखसुख बाँड्ने र एकअर्कामा सहयोग गर्ने साथीभाइबीच सम्पर्क बढाउनुपर्छ। रमाइलो कुराकानीबाट पनि तनावमुक्त हुन सकिन्छ।
आत्मविश्वास बढाऔं
म गर्न सक्छु र गरेर देखाउँछु भन्ने विश्वास जगाऔं। नकारात्मक सोंच हटाऔं। स्वस्थ जीवन बिताउनतर्फ ध्यान लगाऔं।
(उपाध्याय, वरिष्ठ मनोचिकित्सक हुन्।)