धारा बन्यो, पानी आएन
बेनी : म्याग्दीको धौलागिरि गाउँपालिका–६ मराङबेंसीका लाल केसीको आँगनमा खानेपानीको धारा निर्माण भएको तीन वर्ष भयो। केसीका परिवारलाई खानेपानीका लागि सार्वजनिक धारामा धाउनुपर्ने बाध्यता अझै हटेको छैन।
‘आँगनमा धारा बनेको तीन वर्ष पुगिसक्दासमेत पानी आएको छैन,’ उनले भने, ‘पानीका लागि सार्वजनिक धारा र मुहानकै भर पर्नु परेको छ।’ केसी मात्र नभएर बेंसी, कुम्री, राम्रे र ठूलोगाउँका बासिन्दाको आगनमा धारा निर्माण भए पनि पानी आएको छैन।
२०७८ सालमा सुरु भएको मराङ एक घर एक धारा खानेपानी आयोजना निर्माण पुरा नहुँदा आगनकै धारामा सफा, स्वच्छ खानेपानी उपभोग गर्ने स्थानीयबासीको सपना अधुरै बनेको हो। धवलागिरी गाउँपालिका–६ मराङका वडाध्यक्ष राजाराम सुवेदीले निर्माण व्यवसायीका कारण खानेपानी आयोजना निर्माणमा ढिलाइ भएको बताए। ‘तीन वर्षअघि नै सम्पन्न हुनुपर्ने आयोजनाको धारा र ट्यांकी निर्माण भए पनि इन्टक, मुख्य र वितरण लाइन बनाउन ढिलाइ भएको छ,’ उनले भने, ‘छिटो काम गराउन निर्माण व्यवसायीलाई ताकेता गरिरहेका छौं।’ निर्माण व्यवसायीले पर्याप्त मजदुर परिचालन र निर्माण सामग्री व्यवस्थापन नगरेकाले योजनामा ढिलाइ भएको हो। गाउँपालिकाका प्राविधिक शाखाका प्रमुख लोकेन्द्र रावलका अनुसार ९७ घरमा निजी धारा निर्माण गरेर खानेपानी वितरण गर्न २०७८ साल पुस २७ गते सुन्दर निर्माण सेवासँग १ करोड १३ लाख ४९ हजार २५ रुपैयाँँमा ठेक्का सम्झौता भएको थियो।
हालसम्म ३३ लाख ५३ हजार रुपैयाँँ खर्च भएको योजनाको म्याद आगामी २०८१ असार २५ गतेसम्म थपिएको छ। हालसम्म ७२ वटा धारा निर्माण सकिएको छ। बेंसी, कुम्री र ठूलोगाउँमा पानी संकलन गर्ने टंकी निर्माण भएको छ। राम्चेमा ट्यांकी निर्माणाधीन छ।
यहाँका बासिन्दाले पञ्चायतकालमा निर्माण भएको संरचनाबाट खानेपानी उपभोग गरिरहेका छन्। धारामा पर्याप्त र नियमित पानी नआउँदा मुहान र खोल्साको पानी उपभोग गर्नुपर्ने बाध्यता छ। पुरानो आयोजना जीर्ण भएपछि नयाँ योजना निर्माण गर्न थालिएको थियो।