गजलको विकल्पमा अब चारु आइसकेको छ
पेसा एउटा, सोख अर्कै। महेन्द्र मोरङ बहुमुखी क्याम्पसबाट सेवानिवृत्त डा. देवी पन्थी साहित्यकार पनि हुन्। गजल र चारु विषयमा विद्यावारिधि गरेका उनका डेढ दर्जन कृति प्रकाशित छन्।
गजल संग्रह मनको वह, समालोचनाको कृति समकालीन साहित्य र राजनीति, इतिहास र समालोचनाको कृति डेडीसर, भारतीय नेपाली साहित्य संस्कृति आदि कृतिका धनी उनले हालै रामकृष्ण वान्तवाको ‘आमालाई चिठी’ नामक उपन्यास नेपालीबाट अंग्रेजीमा अनुवाद गरेका छन्। सँगै गजल र चारुको भिन्नता र चारु चर्चामा जुटेका उनै डा. पन्थीसँग गोपीकृष्ण ढुंगानाले गरेको साहित्यिक भलाकुसारी :
यतिबेला के लेखिरहनु भएको छ ?
गजल र चारूको जुन भिन्नता हो, त्यसको व्याख्या गरिरहेको छु। गजलको विकल्पमा चारू आइसकेपछि आखिर यी दुवैमा के भिन्नता छ त ? त्यसैमा खासगरी भारत र नेपालका गजलकारले यसलाई चासोको रूपमा लिएका छन्। भारतमा हुने राष्ट्रिय, अन्तर्राष्ट्रिय महोत्सवहरूमा गजल र चारूको भिन्नताबारे प्रवचन दिन बोलाइएको थियो। यस्तै, पुस्तकहरू प्रकाशन गर्ने, सम्पादन गर्ने, भूमिका लेख्ने र यसबारेका जिज्ञासा मेटाउने काममा छु।
गजलको विकल्पमा चारूको प्रयास किन ?
गजल भनेको बहरमा हुन्छ। यो सातौं शताब्दीदेखि अहिलेको सय वर्षसम्म बहरमा देखियो। मोतीराम भट्टले १९४२ सालमा गजल बनारसबाट यहाँ ल्याउँदा बहरमै ल्याए। त्यसपछि शम्भुप्रसाद ढुंगेल, भीमनिधि तिवारी आदिले बहरमै लेखे। १९८० सालपछि यो गजल चाहिँ अश्लील ढंगबाट पनि आयो। बहरको बाटो छोडेर आयो। वर्तमान २०८० सालसम्म आउँदा थुप्रै गैरबहरका गजलहरू पुस्तकका रूपमा निस्किए। धेरैलाई गजल अलि जटिल भएकाले सजिलो बाटो खोजेर बिनाबहरका गजलहरू लेखे। तिनलाई अन्तर्राष्ट्रिय स्तरको मानिँदैन। त्यसकारण यसलाई नेपाल प्रज्ञाप्रतिष्ठानसँग पनि कुरा राख्यौं। २०७६ भदौ १५ र १६ गते पहिलो राष्ट्रिय गजल गोष्ठी भयो। त्यहाँ अब उपरान्त बहरमै गजल लेख्ने निर्णय भयो। बहरबाहेकका गजललाई भिन्न नाम दिइनेछ भनेअनुसार हामीले गजलको विकल्पमा चारू ल्याएका हौं।
चारू नितान्त नेपाली व्याकरणअनुसार नेपाली शब्दहरू प्रयोग गरेर हाम्रा विभिन्न जातजातिको लोकलय र भाकाहरूमा हामी छन्दमा लेख्छौं। बहर चाहिँ हाम्रो लोकलय छन्दभन्दा फरक हो। अहिलेसम्म नेपाली साहित्यमा लेखिएका विधिवत् गजलहरूको संग्रहको सरक्षण र सम्मान गर्न हामीले यो चारू अगाडि ल्याएका हौं। अर्को महत्त्वपूर्ण कुरा के हो भने गजलमा नारीलाई विषय बनाएर प्रणयका कुरा लेखिन्छन्।
त्यतिबेला गजलको जन्म हुँदा नारीहरू पुरुषको अधिनत्वमा थिए। उनीहरूलाई पढ्ने, लेख्ने र बोल्ने अधिकार थिएन। त्यसकारण पुरुषले नारीलाई मनोरञ्जनको साधनको रूपमा त्यसरी प्रयोग गरे भने अहिलेका नारीहरू पुरुषसमान छन्। पुरुषसमान नारीहरूले पुरुषको बारेमा राम्रा नराम्रा कुराहरू व्याख्या गर्न सक्नेछन् सक्छन् भन्ने उद्देश्य राखेर नारीमैत्री विधाको रूपमा चारूलाई अगाडि ल्याइएको छ।
बहरबिनाको गजल चाहिँ गजल होइन र ?
बहरबिनाको गजल गजल हुनै सक्तैन। यसलाई फारसीहरूले अरू शास्त्रमा ढालेर बहरलाई अनिवार्य गरेर यसलाई ल्याए। बहरबिना नहुनुको कारण के भने गजल लेखिँदैन, गजल कहिन्छ, गाइन्छ त्यसैले लेख्ने विषय होइन। गजलको सम्बन्ध सीधै संगीतसँग छ। जबसम्म हामीले सूत्रमा लेख्तैनौं, बहरमा लेख्दैनौं, तबसम्म संगीतको झंकार, धून र लयसँग यो म्याच खाँदैन। त्यसैले बिनाबहर गजल लेख्नु भनेको बालुवामा ढुंगा हान्नु बराबर हुन्छ। अहिले नेपालमा लेखिएका सिर्जना सयमा ९० चारू हुन् भने १० गजल।
रामकृष्ण वान्तवाको ‘आमालाई चिठी’ भन्ने किताब अनुवाद गर्नुभयो। यसमा खास के छ ?
प्रवासमा बसेर विरहमा लेखिएको नेपाली साहित्यमा अहिलेसम्म थुप्रै उपन्यास लेखिए। जसमध्येमा यो नेपाली साहित्यको महाभारतभन्दा पनि हुन्छ। यसमा भिन्न विषय छन्। यसमा आमाप्रतिको माया र प्रगाढ रूपमा देखाइएको छ। दोस्रो, प्रवासमा रहेका कुनै पनि प्रवासीको मन मातृभूमिप्रति उसले के सोचिरहेको हुन्छ भन्ने देखाइएको छ। तेस्रो, रामकृष्ण वान्तवा राई समुदायको भएकाले राई संस्कृतिलाई गम्भीर तरिकाले अध्ययन गरेर यसमा प्रस्फुटित गर्नु भएको छ।
यसमा आफ्नो जीवनका घटनाहरू र उहाँलाई जीवनमा आफन्तहरूबाट पाएका धोकाहरू छन्। जीवनमा जहिले पनि प्रगति गर्न चाहँदा आफन्तहरूबाटै खुट्टा तान्ने गरेका सन्दर्भ यसमा छन् जुन सबैसँग मिल्न जान्छ। ती कुरा छन्।
खास सन्देश के छ ?
वास्तवमा, उहाँले देखाउन खोजेको कुरा जब मानिस जन्मिन्छ, त्यतिबेला उसँग श्वास त हुन्छ तर उसको नाम हुँदैन। नाम दिइसकेपछि उसँग श्वास र नाम दुवै हुन्छ। जब यो नाम पाएर मृत्यु हुन्छ, तब उसँग श्वास हुँदैन, नाम हुन्छ। अन्त्य र सुरुमा श्वास हुन्छ, नाम हुँदैन तर अन्त्यमा नाम हुन्छ श्वास हुँदैन। यसबीच कुनै राम्रो काम गर्यो भने मृत्युपछि पनि उसको नाम रहिरहन्छ।
वास्तवमा वान्तवाले आफूलाई अमर र जीवित राख्न आमालाई चिठी लेखेर साह्रै राम्रो काम गरेको पाएँ। यो एउटा नेपाली साहित्य अझ आख्यानको क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हो। यसलाई नेपालीबाट अंग्रेजीमा अनुवाद गरेको हँु जुन ११५४ पृष्ठको छ। कसैले साथ नदिएपछि मैले चार वर्षको समय लगाएर उहाँको सपना साकार पार्न त्यसलाई अनुवाद गरें। भर्खरमात्रै उहाँलाई हस्तान्तरण गरेको छु।
- बिनाबहर गजल लेख्नु भनेको बालुवामा ढुंगा हान्नु बराबर हुन्छ। अहिले नेपालमा लेखिएका सिर्जना सयमा ९० चारू हुन् भने १० गजल।
- पुरुषसमान नारीहरूले पुरुषको बारेमा राम्रा नराम्रा कुराहरू व्याख्या गर्न सक्नेछन् सक्छन् भन्ने उद्देश्य राखेर नारीमैत्री विधाको रूपमा चारूलाई अगाडि ल्याइएको छ।
- नेपाली साहित्य विश्वसाहित्यको पर्दामा हेर्दा सम्पन्न छ तर विश्वलाई देखाउन सकिरहेका छैनौं।
नेपाली साहित्यमा यस किसिमका कृति छैनन् र ?
छैनन्। एउटै मात्रै विषय प्रेम, धोका या विकृति, विसंगतिलाई लिएर लेखिएका थुप्रै कृति छन्। यसमा चाहिँ नेपालको सम्पूर्ण तस्बिरलाई यसभित्र खिचिएको छ। नेपालभित्रको तस्बिरमात्र हैन, विभिन्न जातजाति, संस्कृति र कलालाई पनि यहाँ देखाइएको छ। देश बाहिरको जनजीवनलाई पनि सुन्दर ढंगबाट प्रस्तुत गरिएको छ। एउटै किताबभित्र अनेक किताब छन् यहाँ।
नेपाली लेखकले वान्तवाको यो कृतिबाट के सिक्न जरुरी छ ?
सिक्नुपर्ने कुरा त पुस्तकमा लेखक स्वयंले के भन्नु भएको छ। म प्रवासमा छु र नेपाललाई माया गर्छु, नेपालीलाई माया गर्छु। तर प्रवासमा भएकाले माया गर्छु मात्र भनेर हुँदैन, माया गर्न सकिरहेको छैन। यस्तो भाव दिनुभएको छ।
जो नेपालभित्र रहेर नेपालकै विरुद्धमा नेपाली र नेपालकै विरोधमा, नेपाली कला संस्कृतिको विरोधमा जे काम गरिरहेका छन्, उनीहरूलाई तीरको रूपमा काम गर्छ यसले। कुनै पनि राम्रो काम गर्न देश र सीमाभित्र बस्नुपर्छ भन्ने छैन। सीमा बाहिर बसेर पनि राम्रो काम गर्न सक्छौं भन्ने सन्देश यो पुस्तकले दिएको छ।
नेपालभित्र बसेर पनि यही गुणस्तरको सिर्जना गर्न सकिन्छ ?
सकिन्छ तर त्यो मन हुनुपर्यो। प्रवासमा रहँदा जुन पीडा हुन्छ, त्यहाँको समाजसँग समायोजन हुन नसक्दाको पीडा अनि त्यहाँको खर्च धान्न नसकेको पीडा। त्यो पीडा हुँदा आफ्नो घरखेत, आफू जन्मेको गाउँ सबै सम्झन्छ मानिसले।
बारीमा फलेका काँक्रा फर्सी, साग र गुन्द्रुक सम्झन्छ। आफन्त सम्झिन्छ। त्यो सम्झना यसभित्र प्रगाढ रूपमा छ। नेपालभित्र रहेकाहरूले विदेश सम्झिरहेका छन्। अहिले नेपालीको के छ भने नेपालमा जन्मिने, हुर्किने अनि १२ कक्षासम्म पढेर विदेश जाने। प्रवासमा रहेका नेपालीहरू ‘छिटोभन्दा छिटो नेपाल फर्कन सकौं। नेपाल आमाको सेवा गर्न सकौं।’ भन्ने यथाथ विपरीत छ। यो कुरा यो उपन्यासले प्रस्ट पारेको छ।
नेपाली साहित्यलाई कसरी विश्लेषण गर्नु भएको छ ?
नेपाली साहित्य विश्वसाहित्यको पर्दामा लगेर प्रतिच्छायाँमा हेर्यौं भने नेपाली साहित्य आफैंमा धनाढ्य छ, सम्पन्न छ। तर सम्पन्न छ भन्ने कुरा हामीले विश्वलाई देखाउन सकिरहेका छैनौं। कारण के त भन्दा भाषा नै हो। हाम्रो नेपाली भाषा बोल्ने र पढ्ने हो।
नेपाली भाषाबाहेक थोरैले मात्र अन्य भाषामा रचना गर्न सकेका छौं। अरूले अन्य भाषामा कयौं अनुवाद गरिरहेका हुन्छन्। तर हाम्रो यहाँ अनुवाद व्यवस्थित पनि छैन। यहाँको सरकारले साहित्यकारलाई हेर्ने जुन दृष्टिकोण हो, त्यो नै स्पष्ट छैन। उनीहरूलाई मानसम्मानको कुरा पनि छैन। जसले गर्दा साहित्यकार इच्छाअनुसार लेख्छ, छाप्छ। यस प्रकारको प्रवृत्ति छ। नेपाली साहित्य कहाँ छ भनेर ठ्याक्कै मापन गर्न सकिँदैन।
नेपाल सरकारले नेपाली साहित्यलाई कसरी के गर्न सक्छ ?
नेपाल प्रज्ञा प्रतिष्ठानको स्थापना राजा महेन्द्रले जुन उद्देश्यले गरे त्यो अनुरूप नेपालमा प्राज्ञहरू नियुक्तिदेखि नै समस्या छ। त्यहाँ हुनुपर्ने विषयगत विशेषज्ञ हो। जस्तो गजलको एउटा विशेषज्ञ, आख्यानको एउटा विशेषज्ञ, छन्दको एउटा विशेषज्ञ। संस्कृतिको एउटा विशेषज्ञ।
नेपाली भाषा–संस्कृतिको एउटा विशेषज्ञ आदि हुनुपर्ने। त्यसो नगरेर राजनीतिक रूपमा नियुक्ति भइरहेको छ। यो नियुक्तिले ‘भिजन’ नै आउँदैन। सुरुमा शपथ लिँदा निकै ठूलो कुरा गर्छन् तर के गर्ने भिजन नभएपछि काम गर्नै सक्दैनन्। यसरी नेपाली साहित्य अघि बढ्न सक्तैन। सरकारले साहित्यकारहरूको सम्मान गर्नुपर्ने हुन्छ। निष्पक्ष रूपमा साहित्यकारलाई काम गर्न दिनुपर्छ। अनुसन्धान गराउनुपर्छ। सिर्जनाका निमित्त विभिन्न प्रकारका अवसरहरू दिनुपर्छ।
यत्तिले पुग्छ र ?
वृद्ध अवस्थामा पुगेका साहित्यकारहरूलाई भत्ताको व्यवस्था गर्नुपर्छ। यातायातमा सहुलियतको व्यवस्था गर्नुपर्छ। हामीले लेखेका किताबहरू विदेश पुर्याउने र नेपाल आउने विशिष्ट पाहुनालाई अंग्रेजी भाषाकै कृति उपहारको रूपमा दिनुपर्छ। त्यसले हाम्रो नेपाली साहित्य कहाँ छ भन्ने कुरा विदेशसम्म पुग्छ।
नेपाली साहित्यको बारेमा नेपाल सरकारले अहिलेसम्म केही गरेको छैन। एउटा राष्ट्रियस्तरको पुरस्कार स्थापना गरेको छ। जुन पार्टी सरकारमा छ, त्यसका मान्छेहरूलाई वितरण गरिरहेको छ। त्यसमा कुनै मानसम्मान पनि छैन। नेपालमा पुरस्कारको संख्या थुप्रै छ। तर लिने र दिनेको हिसाबमा त्यसबाट मान–सम्मान प्राप्त भएको छैन।
के विषयवस्तु लेखिनु पथ्र्यो ? के छुटिरहेको छ नेपाली साहित्यमा ? ता कि नेपाली साहित्यको उचाइ बढ्छ।
खासगरी नेपालमा रहने विभिन्न जातजातिका विभिन्न संस्कृति छन्। सभ्यताहरू छन्। भाषा छन्। यसमाथि सयौं वर्ष लेखेर पनि नसकिने अवस्था छ। यसलाई विदेशीहरूले अनुसन्धान गरेर गए। राईको वान्तवा भाषालाई विदेशीले आएर अध्ययन गरेर गए तर नेपालीले त्यो अध्ययन गर्न र लेख्न सकेका छैनन्। नेपालमा थुप्रै जातजाति, लिपिहरू छन्। लिपिहरू मृत अवस्थामा गइसके।
नेपाली भाषा स्वयं अंग्रेजी भाषाको ‘डोमिनेसन’ले बिग्रेको अवस्थामा छ। बचेका लिपि र भाषाहरूलाई संरक्षण गर्ने, लिपी नभएका भाषाहरूलाई लिपि निर्माणका निमित्त त्यसका विशेषज्ञहरूलाई आह्वान गर्ने, उनीहरूलाई
पुरस्कृत गर्ने र भत्ता–सम्मान दिने काम सरकारले गर्ने हो। २०–२५ वर्षपछि त नेपाली भाषा नै लोप होला कि ? भन्ने स्थितिमा गइसकेको छ। सबै समयमै सचेत नभए भन्न सकिन्न।