नारायणी अस्पतालमा पीएनसी वार्ड सञ्चालन
वीरगन्ज : वीरगन्जस्थित नारायणी अस्पतालमा रहेको प्रसूति विभागमा २० शय्याको सुविधासम्पन्न पोष्ट नेटल केयर(पीएनसी) वार्ड सञ्चालनमा आएको छ। आइतबार उपराष्ट्रपति रामसहाय यादवले वार्डको उद्घाटन गरे।
केएनपी जापान प्रालिले करिब ४५ लाख रुपयाँको लागतमा जापानी प्रविधिमार्फत निर्माण गरी अस्पताललाई हस्तान्तरण गरेको उक्त वार्ड आइतबार उपराष्ट्रपति यादवले उद्घाटन गरेसँगै सञ्चालनमा आएको अस्पतालका मेडिकल सुपरिडेन्टेण्ड डा. चित्तरत्तजन साहले बताए।
उनका अनुसार यसअघि अस्पतालमा ६९ शय्याको प्रसूति विभाग सञ्चालनमा थियो। प्रसूति गराएपछि आमा र शिशुलाई कम्तिमा २४ घण्टा अस्पतालमै राख्नुपर्ने नियम भए पनि पीएनसी वार्ड नहुदाँ तत्कालै डिस्चार्ज गर्नुपर्ने बाध्यता थियो। तर अब पीनएसी वार्ड सञ्चालनमा आएपछि आमा र शिशुलाई उक्त सेवा दिन सहज हुने मेसु साहले बताए।
अस्पतालमा पीएनसी वार्ड सञ्चालनमा आएपछि उक्त वार्डबाट महिनामा ६ सय र वर्षमा सात हजार दुई सय सुत्केरीले सेवा पाउने अस्पताल विकास समितिका अध्यक्ष धिरजकुमार गुप्ताले बताए।
अस्पतालको प्रसूति विभागमा पीएनसी वार्डको अभावमा सुत्केरीको उपचारमा समस्या भएको जानकारी आएपछि केएनसी जापान प्रालिले सामाजिक उत्तरदायित्वअन्तर्गत ४५ लाख रुपैयाँको लागतमा उक्त वार्ड निर्माण गरिदिएको प्रालिका सञ्चालक अशोक बैद्यले बताए।
सम्झौता भएको दुई महिनाभित्रै उक्त वार्ड निर्माण गरी अस्पताललाई हस्तान्तरण गरिएको पनि उनले जानकारी गराए।