उनले भनें, ‘विषयको ज्ञान नै नभएको मान्छे किन जान लागेको बेकारमा। अरू सांसद होलान् त्यसो भए त्यस विषयमा ज्ञान भएका ?’ प्रष्ट्याउँदै भनें, ‘त्यसो हैन। जे भए पनि घुम्न पाइन्छ, डलरमा भत्ताा पाइन्छ। उपलब्धि नै हुन्छ।’
मलाई सुपर्णखासँग मित्रता तोडेर नयाँ आफू सुहाउँदो मित्र बनाउँदा फाइदा नै भएको हो। उनीजस्तो सिद्धान्तनिष्ठ, इमान्दार मानिस मेरा लागि के काम ? त्यसमाथि सधैं मेरै आलोचना गर्छन्। त्यसैले उनी अचेल न मकहाँ आउँछन्, न म उनीकहाँ जान्छु।
त्यति हुँदाहुँदै पनि अचम्म यस्तो भयो कि मलाई मनको कुनामा कता कता उनको याद आउन थाल्यो। शायद बालसखा भएर होला। उनको सम्झना मार्न खोज्दा पनि सकिएन। अति भएर राति नै भेट्न गएँ। अघिपछि त उनीलाई भेट्नै गाह्रो। उनले प्रसन्नता देखाएरै मेरो स्वागत गरे। उनको मनमा कुनै विषादको त्यान्द्रो देखिएन। स्वागत गर्दै कोठामा लगेर भने, ‘खुसी लाग्यो तिमी आयौ।’
मैले मुस्कुराउँदै भनें, ‘हेर, आज एउटा खुसीको कुरा तिमीलाई सुनाउँछु। त्यसै भएर म आएको।’ उनले भने, ‘के कुरा हो भनन।’
मैले हौसिँदै भनें, ‘हेर, नेपालका केही ठाउँमा बाँदरले किसानलाई बाली खाएर र तहसनहस गरेर अत्यन्त दुःख दिइरहेको त तिमीले पनि थाहा पाएकै छौ। बिचरा किसान कति दुःख, कष्ट भोगिरहेका छन्। अब तिनका दुःख, कष्ट तथा वेदना हामीबाहेक अरू को छ र बुझ्ने ? त्यसैले हामी केही सांसद तिनका पिर दूर गर्न विदेश भ्रमणमा जाँदै छौं।’
कुरा नसकिँदै सुपर्णखाले सोधे, ‘हैन, बाँदरले दुःख दिएको ठाउँमा सम्बन्धित विशेषज्ञ लिएर गै त्यसको समाधान दिनुपर्नेमा विदेश गएर के गर्ने त ? ती बाँदरलाई विदेश निर्यात गर्ने हो ? फेरि निर्यात नै गर्ने हो भने पनि सांसद किन जानुपर्यो र ? एक दुईजना कर्मचारी गए हुन्न ?’
उनको अबुझपन बुझेर मलाई हाँसो उठ्यो। तैपनि आफूलाई सम्हालेर नहाँसी भनें, ‘कस्तो कुरा नबुझेको ? बाँदर निर्यात गर्न पनि कहीं हामी जान्छौं त !’
‘कुरो बुझाउन त’, उनले भने।
गमक्क पर्दै भनें, ‘बाँदरको बन्ध्याकरण गर्ने विषयमा अध्ययन गर्न जान लागेको पो त। कत्रो गहन जिम्मेवारी लिएर जान परेको छ। चानचुने हो र !’
उनले खिसी गर्दै भने, ‘ए, बन्ध्याकरण विषयमा अध्ययन गर्ने ? तिमीले त्यो विषय अध्ययन गरेका थियौ र ? मैले त कहिले थाहा पाइनँ। तिमीले पशुचिकित्सा पनि पढ्या थियौ ? बालशखाले त सबै कुरा भन्छन् भन्ठान्या त तिमीले यस्तो राम्रो कुरा पनि मलाई थाहा दिएका रहेनछौ। कस्तो गोप्य राख्न सकेको। विद्या हासिल गरेको कुरा पनि गोप्य राख्नुपर्छ र ?’
‘हत्तेरी, कस्तो कुरा नबुझेको ! मेरो कुन कुरा तिमीसँग गोप्य राखेको छु, ल भन त ? पढेको कुरा त झन् के गोप्य राख्थें ?’, मैले भनें।
‘ल, भैगो। स्वअध्ययन त अवश्य गरेका होलाऊ !’
उनले अझै जिज्ञासा राखे।
‘केको स्वअध्ययन ! मलाई चाख नलाग्ने त्यस्तो विषय म किन अध्ययन गर्थें। चाख लाग्नेले पढ्ने बेग्लै कुरा हो।’, मैले प्रस्ट्याएँ।
उनले भनें, ‘विषयको ज्ञान नै नभएको मान्छे किन जान लागेको बेकारमा। अरू सांसद होलान् त्यसो भए त्यस विषयमा ज्ञान भएका ?’
मैले अझ प्रष्ट्याउँदै भनें, ‘त्यसो हैन। जे भए पनि घुम्न पाइन्छ, डलरमा भत्ता पाइन्छ। एउटा उपलब्धि नै हुन्छ नि।’
‘तिमीलाई कि देशलाई ?’, छोटकरीमा उनले व्यंग्य कसे।
मैले पनि जवाफ दिहालें, ‘एउटा सांसदलाई उपलब्धि भएपछि देशलाई उपलब्धि भएन र ?’
मेरो कुराले उनी सनक्क सन्किए। रौद्र रूप धारण गरे। उनको अनुहार देखेर डर पनि लाग्यो। सम्झाउने चेष्टा गर्दै भनें, ‘आवेशमा नआउन।’
उनी सम्हालिए। एकछिन चुप्प लागे। अनि सम्हालिएरै भने, ‘हेर, त्यो विषय अति आवश्यक त हुँदै हो। पहिलो कुरा त्यो विषयको ज्ञाता यहाँ छन् कि छैनन् खोज्नु पथ्र्यो। त्यो नभए सम्बन्धित कर्मचारी दुई–तीनजना पठाए पुग्थ्यो। उनीहरूले राम्ररी सिकेर आउँथे। देशलाई ज्ञान र खर्च दुवै कुराले फाइदा हुन्थ्यो। दोस्रो कुरा सांसदले त नीति निर्माण गर्ने हो। बन्ध्याकरण हेर्न जाने हैन। मलाई तिम्रो कुरा चित्त बुझेन यो त ‘अत्तो न पत्तो गोविन्द गाई आँखाको औषधि नाइटामा लाई भन्ने उखान जस्तो भो।’
अब म सम्हालिन सकिनँ। भनें, ‘तिमीलाई मेरो हरेक कुराको विरोध गर्नुपर्छ ? यसो घुम्न पाउँछ साथीले अलिकति भए पनि रकम पाउँछ भनेर खुसी हुनु त परै जावस्, खाली विरोध गर्ने। तिमी पनि मित्र ?’
उनले पनि रिसाएरै भने, ‘खाऊ, खाऊ। यो देश तिमीहरूको लागि दुहुनो गाई हो, सकेसम्म दोहन गर। रगत रहुञ्जेल दोहन गर। नमरुञ्जेल दोहन गर। यत्तिकै लागि रहेछ तिमीहरूले राजनीति गरेको।’
मेरो पनि धैर्यको बाँध टुट्ला जस्तो भयो। यसपालि जुरुक्क उठेर बोल्दै नबोली हिँड्ने पालो मेरो भयो।