जनवरी अहिलेसम्मकै तातो
काठमाडौं : गत जनवरी विश्वव्यापी रूपमै सबैभन्दा तातो महिना बनेको छ। युरोपियन युनियन (ईयू) को ‘क्लाइमेट चेन्ज मोनिटरिङ सर्भिस’ले जनवरीले सबैभन्दा तातो महिनाका रूपमा कीर्तिमान बनाएको उल्लेख गरेको छ।
जनवरी मात्रै नभएर सन् २०२३ को बाह्रै महिना १.५ डिग्री सेल्सियसभन्दा बढी तापक्रम मापन भएको जनाएको छ। विश्वव्यापी तापक्रमले पेरिस सहमति २०१५ अनुसार १.५ डिग्री तापक्रम वृद्धिको थ्रेसहोल्ड नाघिसकेको भन्दै क्लाइमेट चेन्ज मोनिटरिङ सर्भिसले सचेत गराएको छ।
ईयूका वैज्ञानिकहरूले सन् २०२० अत्यधिक तातो वर्ष भए पनि सन् २०२३ लाई सन् १८५० पछि सबैभन्दा गर्मी वर्ष भएको जनाएका छन्। पूर्वी प्रशान्त महासागरको पानीलाई तातो बनाउने मौसमी प्रणाली एलनिनो, मानवीय गतिविधिलगायतका कारण सन् २०२३ सबैभन्दा तातो वर्ष भएको जनाएको छ ।
कार्बन उत्सर्जन तीव्र रूपमा न्यूनीकरण गर्नुपर्नेमा उनले जोड दिइन्। अमेरिकी वैज्ञानिकहरूले गत वर्षभन्दा सन् २०२४ झनै तातो हुने सम्भावना तीनमध्ये एक प्रतिशत रहेको जनाएका छन्।
सन् २०२४ अत्यधिक तातो वर्ष हुने ९९ प्रतिशत सम्भावना रहेको जनाउँदै पाँच अत्याधिक गर्मी वर्षको सूचीमा सूचीकृत हुनसक्ने पनि बताएका छन्।
वैज्ञानिकहरूले विश्वव्यापी तापक्रम वृद्धिको गम्भीर असर मानिस, अर्थतन्त्र र पारिस्थितिक प्रणालीमा परिसकेको जनाएका छन्। तापक्रमवृद्धिका कारण विनाशकारी मौसमी विपद् आइरहेका छन्। सन् २०२३ मा चीन र युरोपले ‘हिट वेभ’ र क्यानडाले नराम्रो डढेलोको सामना गर्नुपरेको थियो। आगामी दिनमा यस्ता घटनाले विश्वको अर्थतन्त्रमा नराम्रो धक्का दिने भन्दै वैज्ञानिकहरूले सचेत पनि गराएका छन्।
गत वर्ष पनि अत्याधिक तातो
जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ तातो वर्ष बन्यो। सन् २०१०, २०१६, २०१७ मा पनि गत वर्षकै हाराहारीमा तापक्रम थियो। विभागका मौसमविद् सुदर्शन हुमागाईंका अनुसार नेपालका विभिन्न स्टेसनहरूको आँकडाअनुसार सन् १९८१ देखि २०२३ सम्मको तथ्यांक हेर्दा वार्षिक रूपमा न्यूनतम तथा अधिकतम तापक्रम बढिरहेको देखाउँछ। न्यूनतम तापक्रमको हकमा सन् २०२२ धेरै तातो थियो ।
‘प्रवृत्ति हेर्दा न्यूनतम र अधिकतम तापक्रम बढिरहेको छ। विश्वव्यापी सूचक हेर्ने हो भने पनि यस्तै छ। यसले आगामी वर्ष पनि तातो हुने संकेत देखाउँछ’, हुमागाईंले भने, ‘तापक्रम वृद्धि हुनुका विभिन्न कारण छन्। पानी नपर्नु पनि एउटा प्रत्यक्ष कारण हुनसक्छ। नेपालको तापक्रम वृद्धि विश्वको मौसमसँग सम्बन्धित हुन्छ। समुद्री सतहको तापक्रम, हिन्दु कुश हिमालयन क्षेत्रमा बरफले ढाकेको क्षेत्र, महासागरहरूमा आपेक्षित आद्रतालगायतले पनि नेपालको तापक्रममा प्रभाव पार्छ।’
एलनिनोले प्रशान्त महासागरको पूर्वीतटमा तापक्रम वृद्धि गराउँछ। एननिनोको प्रभावका कारण नेपालको वर्षा तथा तापक्रममा प्रभाव हुन्छ। त्यसको असर ऋतुअनुसार फरक हुन्छ। हिउँदमा एक प्रकारको र वर्षामा अर्को प्रकारको प्रभाव हुन्छ। ‘एलनिनो हुँदा वर्षामा कम पानी पर्छ भने हिउँदमा पानी बढी पर्छ। यो वर्ष पनि एलनिनो थियो। सामान्यतया यसले हिउँदमा पानी पार्नु पर्ने हो, तर पानी परेन। यसले नयाँ ‘टे«न्ड’ भित्रिन थालेको देखाउँछ’, हुमागाईंले भने। जलवायु परिवर्तनकै कारण यस्तो अवस्था आएको र विभिन्न क्षेत्रमा असर पार्ने गरेको उनले बताए।
विभागका अनुसार नेपालको दक्षिणी भेगतिर औसत अधिकतम तापक्रम ३० डिग्रीभन्दा माथि थियो। उतरतिर १८ डिग्री थियो। नेपालमा पछिल्लो दुई महिनाको अवधिमा अधिकतम तापक्रम बढेको देखिन्छ।