नुवाकोट: नुवाकोटमा राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता आयोजना गरिएको छ। यहि फागुन ५ गतेदेखि ७ गतेसम्म विदुरमा राष्ट्रियस्तरको ब्याडमिन्टन प्रतियोगिता आयोजना भएको हो।
विदुर नगरपालिका ९ कोलोनीमा आयोजित प्रतियोगिताको नाम नुवाकोट खुल्ला राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता रहेको छ। कोलोनी ब्याडमिन्टन ग्रुपको आयोजनामा सो प्रतियोगिता तय भएको हो।
प्रतियोगितामा देशैभर रहेका पुरुष ब्याडमिन्टन खेलाडीहरुले नाम दर्ता गराउन सक्ने छन्। कोलोनी ब्याडमिन्टन हलमा हुने प्रतियोगिता पुरुष डबल खुल्ला र जिल्लास्तरीय गरी दुई समूहमा संचालन गरिनेछ। प्रतियोगितामा खुल्ला पुरुष डबलतर्फको विजेताले ५० हजार रुपैयाँ पाउने छन् भने दोस्रो हुनेले नगद २५ हजार र तेस्रो हुनेले १० हजार रुपैयाँ हात पार्नेछन्।
जिल्लास्तरीय पुरुषतर्फ प्रथम हुनेले १० हजार रुपैयाँ प्राप्त गर्नेछन्। दोस्रो हुनेले ५ हजार रुपैयाँ र तेस्रो हुनेले ३ हजार हात पार्नेछन्। प्रतियोगिताको लागि नाम दर्ता भइरहेको नुवाकोट ब्याडमिन्टन संघका उपाध्यक्ष श्रीराम तामाङले बताए।
प्रतियोगितामा सहभागिता जनाउने खेलाडीहरुलाई आयोजकले जर्सीसमेत दिने बताइएको छ। प्रतियोगितामा कुल ५ लाख रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ।