वसन्त आगमनको नयाँ उत्साह
नेपाल वैदिक सनातनीको बाहुल्य भएको विश्वको एकमात्र देश हो। यो लेख तयार गरिरहँदा गण्डकी सरकारले पञ्चकोटमा बसेर मन्त्रिपरिषद्को बैठक गर्ने विषय सार्वजनिक भइरहेको थियो। जसको मूल कारण वैदिक भूमि नेपालको पञ्चकोटमा एक बाबाको सान्निध्य र उनको संकल्पमा विशेष महायज्ञ हुँदैछ, त्यसो त यी बाबाले देशैभरि चेला चपेटा हजारौं बनाइसकेको धेरै भयो। धर्मलाई व्यापकता दिन मन्त्रिपरिषद्को बैठक उता सरेको हुनुपर्छ। जस्तो कि केही वर्षअघि जलवायु परिवर्तनको संकट संसारलाई देखाउन सगरमाथाको कालापत्थरमा बसेर केन्द्र्रको संघीय सरकारको मन्त्रिपरिषद् बैठक बसेको थियो।
प्रसंग वसन्त पञ्चमी अर्थात् नयाँ उत्साहसहित वसन्त आगमनको संकेत दिने सरस्वती जयन्तीको। माघ शुक्ल पक्षको श्रीपञ्चमीमा अक्षरारम्भ गरे बालबालिकाले पछिल्लो जीवनसमेत ज्ञान र विज्ञानको असल प्रयोग गर्न सक्छन् भन्ने पूर्वीय धर्मशास्त्र र दर्शनले भन्छ। साथै, वैदिक सनातनीको धारणा छ। आज परेको वसन्त पञ्चमीमा माता सरस्वतीले आममानिसलाई कर्मशील हुन प्रेरित गर्छिन् भन्ने मान्यता छ। आज संसारमा ज्ञान र विज्ञानको धेरै दुरुपयोग भएको छ। कसैले अख्तियारको दुरुपयोग त कसैले वचनको अनि कसैले मन, धन वा तनको। खासमा दुरुपयोग विज्ञानको बढी भएको छ। आविष्कार र आक्रमण यसकै उदाहरण हुन्। जबकि वैदिक सनातनी शास्त्रहरूले सुदूर अतीतमै कराडौं सूर्य, चन्द्र र थरीथरीका ब्रह्माण्ड छन् भनेको थियो। आज नासालगायतले यसकै अनुसन्धानमा मनग्गे खर्च गर्छन्। रोबोर्ट अर्थात् यन्त्रमानवले समेत आफ्नो काम गरिसकेको धेरै समय भइसकेको छ।
तर अचम्म, वेदका मन्त्रहरू अमेरिकाको वासिङ्टन डीसीमा घन्किरहेको छ। जर्मनीमा मात्र होइन, वेदको खोजअनुसन्धान गर्न धेरै देश तल्लीन भेटिन्छन् यतिबेला। सरस्वतीको खुलेर प्रशंसा गरेको छ वेदले र यसको मन्त्रशक्ति विज्ञानको यन्त्रशक्तिभन्दा कैयन गुणाले बलियो छ। ॐ यसको प्रणव मन्त्र हो। जसबाट ध्वनि, स्वर, अक्षर, शब्द, व्याकरण, सिद्धान्त, दर्शन, तमाम शास्त्रहरू निर्माण भएका हुन्। २४ अक्षरको गायत्रीमन्त्र वेदको प्राण हो। सरस्वती पूजामा वेद पल्टाउनुपर्ने कारण पनि यही हो। वेद बिर्संदा ज्ञान बिर्सिन्छ र ज्ञानको अभावमा विज्ञान अधुरो हुन्छ। वसन्त पञ्चमीमा वसन्त राग घन्काउने, राष्ट्रिय रूपमै हनुमानढोकामा वेद वाचन गर्ने, सुन्ने हाम्रो परम्परा हो। घर घर, विद्यालय, शैक्षिक संस्थाहरूमा त हुन्छ नै। कतिपयले अहिले यसै दिनमा विद्यार्थी तान्ने अस्त्रको रूपमा पनि लिने गरेका छन्।
नयाँ उत्साहको संकेत, जीवनमा रंगीन क्षणहरू र उमंगका साथ नयाँ वसन्तको आगमन यतिबेलादेखि नै हुन्छ। वृक्षहरूमा पल्लवीहरू झुल्न थाल्छन्, नयाँ पालुवाको आगमन हुन्छ। सर्जकहरूका लागि यो दिन झन् बढी महŒवपूर्ण हुन्छ किनकि रतिको पूजा यतिबेलै हुन्छ। रतिरागमा रमाउने बा कामदेवका उपासकका लागि त यो दिन स्वर्गीय आनन्दकै दिन हो। सरस्वतीको अथाह ज्ञान भण्डार जति वितरण गरे पनि कम हुन्छ। त्यसो त हरेक बिहानी मानवको नयाँ युग हो। निकै धनी छौं, हामी पूर्वीय चिन्तनमा, साहित्यको सबै विधाकी स्रोत महामाया सरस्वतीलाई हरपल वन्दना। देवीका सामु विशाल ब्रह्माण्ड एउटा साकार रूप हो भने हरप्राणीका हृदयमा रहेको चैतन्य शक्ति उनको निराकार रूप हो। सिर्जनामा उनको रूप महासरस्वती, पालनामा महालक्ष्मी र संहारमा उनको रूप महाकालीको हुन्छ। श्रीशिवलगायत सबै देवता उनकै वन्दना गर्छन्। अनि कार्यकारी शक्तिको उपयोग र सदुपयोग गर्छन्।
महान् स्रष्टा, ग्रन्थकार, कवि, वकिल, कलाकर्मी, सञ्चारकर्मी, डाक्टर, बुद्धिजीवी, शिक्षक, नेता, अभिनेतादेखि वैज्ञानिकसम्मको साधना सरस्वतीका कृपादृष्टि हुन्। मानिस ऊर्जामा उत्कृष्ट हुन खोज्दैछ। मस्तिष्कको ऊर्जा मात्रै नभएर जल, वायु, सौर्य ऊर्जामा समेत धनी छ। तर सरस्वतीको कृपा दुरुपयोग हुन जाँदा ठूला समस्या भएका कैयौं उदाहरण छन्। तर सदुपयोग गर्ने हो भने परिवार, समाज र देशकै विकास निर्माण भएको छ। ज्ञान सधैं हाँस्छ, मुस्कान छर्छ, सदाचार र सहयोग दिन प्रयास गर्छ। सम्पूर्ण मानवजगत् भय र क्रोधरहित, हुन सके विज्ञान कलात्मक बन्न पुग्छ।
शुद्ध आचरण, नैतिकवान् र चरित्रवान् व्यक्तिहरूबाट सामाजिक पुनरुत्थान वा नवनिर्माण हुन सक्छ। सिर्जनाकी देवीले वसन्त ल्याउन प्रेरित गरिरहेकै हुन्छिन् हरमानव जीवनमा ! अरूमा सद्भाव जरुरी छ, मानव संस्कृति त्यहीँ जिउँदो हुन्छ। वसन्त पञ्चमीको प्रेरणा, मानव जीवनमा वसन्तको आगमन, नवीन ऊर्जाशैली, नयाँ किरण, नयाँ बिहानी नवीनतम् प्रयोग नै हो ! नवजीवन, स्वस्थ जीवन, सरल जीवन, सौन्दर्ययुक्त जीवन अनि सौन्दर्ययुक्त समाज निर्माणको पहल सबैले गर्नु आजको आवश्यकता हो।