भारतमा गाँजा तस्करी गर्ने एक जना पक्राउ
वीरगन्ज : वीरगन्जको एकीकृत जाँच चौकी (आइसीपी) नाका हुँदै भारत पुर्याइएको ठूलो परिमाणमा लागुऔषध गाँजासहित एक नेपाली पक्राउ परेका छन्।
वीरगन्जको आइसीपीसँग जोडिएको रक्सौलस्थित भारतीय आइसीपीको ४ नम्बर गेटबाट भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले ३ क्वीन्टल ७५ किलोग्राम गाँजासहित मकवानपुरका अम्बर बहादुरलाई बुधबार बिहान पक्राउ गरेको हो।
वीरगन्जको आइसीपी नाका हुँदै भारत रक्सौलको आइसीपीमा पुगेको ना४च ८९७९ नम्बरको पिकअप गाडीलाई एसएसबीले शंका लागेर चेकजाँच गरेको थियो। त्यसक्रममा उक्त पिकअप गाडीको पछाडि पट्टीको भागमा फल्स बटम बनाएर राखिएको अवस्थामा २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा भेटिएको एसएसबीका ४७ नम्बर कमाण्डेण्ट विकास कुमारले जानकारी दिए।
प्लाष्टिकको टेपले बेरेर २५ वटा पोकामा रहेको ३ क्वीन्टल गाँजा बरामद भएपछि गाडीका चालक अम्बरबहादुर र गाँजासहितको गाडी नियन्त्रणमा लिइएको उनले बताए।
यसअघि एक हप्ता पहिले पनि अर्थात् गत माघ २५ गतेपनि रक्सौल आइसीपीको त्यही गेटबाट एसएसबीले नेपालबाट भारत भित्र्याउन लागिएको अवस्थामा २ क्वीन्टल ६ किलोग्राम गाँजा बरामद गरेको थियो।