देश परिवर्तनका लागि जनक्रान्तिका योद्धाहरूको ठूलो भूमिका छ : सभामुख घिमिरे

देश परिवर्तनका लागि जनक्रान्तिका योद्धाहरूको ठूलो भूमिका छ : सभामुख घिमिरे
सुन्नुहोस्

उदयपुर : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मुलुक परिवर्तनका लागि जनक्रान्तिका योद्धाहरूको ठूलो भूमिका रहेको बताएका छन्। २००७ सालका जनक्रान्तिका योद्धा जनकवि स्वर्गीय गम्भीरबहादुर थापाको शतवार्षिकीका अवसरमा उदयपुरको त्रियुगा नगरपालिका ६ जलजलेमा निर्माण गरिएको शालिक बिहीबार अनावरण गर्दै उनले ऐतिहासिक योद्धा नेपालका गहना भएकाले सधैं सम्मान गर्नुपर्ने बताए। 

उनले राणाशासन अन्त्यका लागि स्वर्गीय थापाले गरेको योगदान, त्याग, तपस्या सबै हाम्रा लागि प्रेरणाका स्रोत भएकाले स्वामित्व ग्रहण गर्नुपर्ने धारणा व्यक्त गरे। उनले भने, ‘योद्धाहरू आफ्नो ज्यानको वाजी थापेर यदि लडाइँ नलडिदिएको भए हामी अहिलेको व्यवस्था र अवस्थाको अनुभूति नै गर्न पाउने थिएनौं, त्यसैले उहाँहरू हाम्रा लागि सधैं सम्मानित र प्रेरणाका स्रोत हुनुहुन्छ।’ 

नेपालमा उत्पादन नभएसम्म नुन नखाने, लुगा नलगाई विराटनगरस्थित जुटिमलबाट उत्पादित बोरा लगाएर हिँड्ने साधकी जीवन व्यतीत गर्दै आएका स्वर्गीय थापाको चर्चा गर्दै उनले देशलाई धनी र आत्मनिर्भर बनाउन उनको योगदान अविस्मरणीय रहेको बताए। 

घिमिरेले पछिल्लो समय व्यवस्था विरुद्ध वितृष्णाको वातावरण बनाउन प्रतिगामीहरू चलखेल गरिरहेकाले राजनीतिक दलहरू एकताबद्ध हुन जरुरी रहेको बताए। उनले मुलुकलाई समृद्धिको बाटोमा अग्रसर गराउन राजनीतिक दलहरूबीच एकता आवश्यक रहेको बताए। ‘राष्ट्रिय समृद्धिका लागि राष्ट्रिय सहमति हुन जरुरी छ,’ उनले भने, ‘अर्थतन्त्र बलियो बनाउने, गतिका साथ राष्ट्र निर्माणका कार्यमा अघि बढ्न, साझा सवालमा सहमति गरेर नै अघि बढ्नुपर्छ।’

सभामुख घिमिरेले देशकै प्रतिष्ठित उदयपुर सिमेन्ट उद्योग धरासय बन्दै गएको प्रति दुःख व्यक्त गर्दै उद्योग बचाउन सदनमा भूमिका निर्वाह गर्ने बताए। थापा नेपालको एक ऐतिहासिक योद्धा भएकाले उनका नाममा जलजलेमा स्मृति पार्क बनाई शालिक राखिएको गम्भीर प्रतिष्ठानका सदस्य भागवत राउतले बताए। 

पार्कभित्र उनका दैनिकी र सम्झनायोग्य सामग्री, बोटबिरुवाहरू लगाइएको उनले बताए। शालिक अनावरण मुल समारोह समितिका संयोजक शंकरबहादुर थापाले जनक्रान्तिका नायक स्वर्गीय थापा उदयपुरको मात्र नभई देशकै गहना भएकाले राज्यले नै सम्मान गर्नु पर्ने माग गरे। 

जनक्रान्तिका योद्धा थापाका नाममा हुलाक टिकट

२००७ सालको ऐतिहासिक जनक्रान्तिका योद्धा गम्भीरबहादुर थापाका नाममा नेपाल सरकारले हुलाक टिकट प्रचलनमा ल्याएको छ। स्वर्गीय थापाको शतवार्षिकीका अवसरमा हुलाक सेवा विभागको अनुमतिमा प्रकाशन गरिएको टिकट बिहीबार प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले उदयपुरमा आयोजित कार्यक्रममा संस्मरणात्मक आवरणको टाँचा लगाउँदै प्रचलनमा ल्याएका हुन्। 

सभामुख घिमिरेले टाँचा लगाएसँगै टिकट प्रचलनमा आएको जिल्ला हुलाक कार्यालयका प्रमुख हरिलाल खत्रीले बताए। उनको तस्बिरसहितको टिकट स्वदेश तथा विदेशका विभिन्न निकायहरूबाट प्रचलनमा ल्याइने उनले बताए।

 
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.