लुम्बिनी प्रादेशिक अस्पतालमा ‘क्याथ ल्याब’ सुरु
बुटवल : लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा क्याथ ल्याब सेवा सुरु गरिएको छ। मुटुको परीक्षण गरिने उक्त ल्याब सेवा बिहीबारदेखि सुरु गरिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.सुदर्शन थापाले जानकारी दिए।
सेवा सुरु भएको पहिलो दिन गुल्मीका ७५ र ७२ वर्षीय एक/एक जना महिला पुरुषलाई सेवा दिइएको छ। विशेषज्ञ चिकित्सक नहुँदा उक्त सेवा विगत डेढ वर्षदेखि सञ्चालनमा आउन सकेको थिएन।
मेसु थापाका अनुसार करिब ६ करोड मूल्य बराबरका मेशिन र अन्य उपकरणहरू जडान गरिएको छ। क्याथ ल्याब सेवा सञ्चालनका लागि डा.अर्जुन बुढाथोकी र डा.रोशन घिमिरे करारमा आएका छन्। शल्यक्रियाविना नै मुटुका समस्याहरू क्याथ ल्याबबाट हेर्न सकिने चिकित्सकले बताएका छन्। खुम्चिँदै जान थालेको मुटुको भल्भ पनि घटाउन सकिने छ।