त्यो कालो दिन !

त्यो कालो दिन !
सुन्नुहोस्

हिजो जस्तै लाग्छ तर २० वर्ष बितेको पत्तै भएन। आजकै दिन, कसैले त यसलाई महान् दिन भनेर सम्झिन चाहन्छन् तर म यो दिनलाई हाम्रो परिवारको कालो दिन भनेर सम्झन्छु ! सुरुमा ठूलो आवाजमा नारा जुलुस ! ‘महान् जनयुद्ध सफल पारौं ! वीर सहिद लालसलाम !’ जस्ता अनेकौं नारासहित महान् जनयुद्धका हिमायतीहरू अगाडि बढे ! लाग्थ्यो आज जिल्ला हान्न सुरु गरे। अब हामीलाई नि लिएर जान्छन्।

सुरुमा सेना अगाडि बढ्यो। अब पछि–पछि हामी नि जाने त होलाजस्ता खुल्दुली भयो किनभने मावोबादी आन्दोलनमा हाम्रो ठूलो सहयोग थियो ! तर, कुरो जिल्ला कब्जाको रहेनछ ! एकाएक ठुल्दाइ (कमान खड्का, हाल नेकपा एकीकृत समाजवादी जाजरकोटका अध्यक्ष)को आवाज आयो– ऐया मरें।’ मलाई मारेजस्तो आवाज अनि पैसा कता छ भन्जस्ता आवाजसहित पल्लो घरबाट बोल्यो भन्ने लाग्यो। बाहिर निस्किन खोजेँ तर घरको बाहिरबाट ‘लक’ गरेको रहेछ ! कमान्डर हुनुपर्छ फेरि निर्देशन आयो– सम्पूर्ण घरमा एम्बुस फिट गरिस् ? जवाफ पनि आयो– ‘फिट गरेँ सर !’

मन झन् तर्सित हुँदै खाटमुनि पसे बाँचिन्छ कि भनेर विकल्प समाएँ ! लामो समयपछि दाइलाई पनि म लुकेको कोठामै ल्याइयो र चारैतिरबाट भकुन्डो खेले झैं गरी कुटपिट गरे। टाउकोमा पिस्तोल राखेर फेरि सोधे– पैसा कता छ ? दाइले जवाफ दिनु भयो– मेरो जति सम्पत्ति छ, पूरै त्यही पल्लो घरमा छ। अनि जनयुद्धका हिमायतीहरू पैसा भएको घरतिर लागे र दाइलाई अरू सदस्य भएको ठाउँमा लगेर छोडे।

मचाहिँ उमेरले १३ वर्ष पुगेको कक्षा ८ मा अध्यनरत विद्यार्थी तर अलि चलाक थिएँ। बाँच्ने आसले खाटमुनि पसेको हुनुपर्छ ! म लुकेको कोठामैं धानको भकारी भरिएको थियो। उनीहरूको गिद्दे नजर तेता प¥यो। धान निकालेर बोरामा भर्दै थिए। ल्याएका बोरा सकिए। बोराको खोजी गरे, म फेला परें ! दुईचार झापड हाने। तँ को होस् ? भनी प्रश्न सोधे। भनें– यही घरमा बसेर पढ्ने विद्यार्थी हुँ। बाँकी कुटपिटबाट बच्न सफल भएँ। तर मलाई नि दाइ, भाउजू, छोरा सन्तोष र छोरी हिमानी भएको कोठामै लिएर हुलियो।

सबैको मनमा लाग्यो कि सबैलाई एउटै घरको एउटै कोठामा मार्ने भए। दाइले सम्झाउँदै भन्नुभयो– ‘सायद मलाई मार्छन् होला। नमारे पनि उपचारको अभावले मर्छु होला। घरको राम्रो ख्याल गर्नू। बाबुनानी सानै छन्।’ अचानक दाइ भक्कानिनु भयो। रुनु भयो। रक्ताम्य भएको अनुहार पुछ्दै भावविह्ल भयौं। लाग्यो– सायद यो नै परिवारबीचको अन्तिम संवाद हुने भयो। घरमा भएको सबै सम्पत्ति अन्न, लत्ताकपडा आदि सबै सामग्री लगेको हिसाबले कोही सदस्य बाँच्ने संकेत थिएन !

बुबाआमा जिउलाको घरमा हुनुहुन्थ्यो। छोरा प्रेम पनि पल्लो घर जाँदा त्यो हुलमा कता हरायो। उहाँहरूबाहेक हामी जीवित रहने कल्पना नै भएन ! सम्पूर्ण सम्पत्ति लैजान साँझको ७ बजेदेखि बिहान को ४ बजेसम्म लागेछ। बिहानपख पूर्ण भएका हामी रहेको ठाउँमा कमान्डर आए। सोधे– अरू केही भन्नु छ ! ‘भन्नुपर्ने त धेरै थियो तर केही छैन’ भन्दै दाइले जवाफ फर्काउनुभयो ! अनि फेरि आदेश आयो– ‘यो ठाउँ छोडेर अन्तै भागिस् भने बाँकी जग्गा–जमिन नि कब्जा हुन्छ।’ अनि, घरको छानामा भएको सोलारसमेत निकाले। झलमल्ल बत्ती बाल्दै पुस्तौंदेखि कमाएको लाखौंको सम्पत्ति लुट्दै नाराबाजीसहित आनो बाटो लागे।

बिहान हुँदासम्म छरछिमेकी किन आएनन् भनेको त सम्पूर्ण छिमेकीका घरमा बाहिरबाट कब्जा लगाइदिएछन्। बिहानपख एकले अर्काको ढोका खोलिहेर्दा पो ती घरहरूको अगाडि आगो दन्किएको पाइयो। सम्पूर्ण घरहरू रित्तिएको सिंगो गाउँ नै भावविह्ल भएको अवस्थामा थियोे। सम्पत्ति रित्तिए पनि बाँकी जीवन जिउनुको विकल्प थिएन। उपचारका लागि दाइलाई तलतिर लिनुपर्ने आफन्तको सल्लाहबमोजिम सदरमुकाममा लगेर सोही दिन हेलिकप्टरमार्फत राजधानी लग्यौं। उपचारपछि त्यतिबेलाको जनअदालतमै मुद्दा लड्ने निर्णयसहित ‘मलाई के कति कारणले कारबाही गरियो ?’ भनी मुद्दा दर्ता ग¥यौं। मुद्दा पनि जित्यौं। अन्ततः हामीलाई गरिएको कारबाही पार्टीले गलत ग¥यो भनी कारबाही फुकुवा गर्ने निर्णय भयो। जसले हामीलाइ गाउँ जान निषेध गरिएन जब कि त्यतिबेलाका कारबाहीमा परेकाहरू गाउँ जानसम्म पाएका थिएनन्।

घटना घटनुपूर्व पार्टीले नेपाल बन्दको आह्वान गरेको थियो। त्यसको पूर्वसन्ध्यामा एक वृद्ध नेपाली सेनाबाट छोरी गुमाएका वृद्धबुवा घरमा खानेकुरा सकिएर चामल किन्न स्थानीय पसलमा गए। बन्दको बेला पसल खोल्ने क्रममा बन्दकर्ता आए। बन्दको अवज्ञा गर्ने ? भनी निज वृद्धलाई स्कुलको चौरमा लगेर गोरुचुटाइ गरे। स्थानीय गए पनि छुटाउन सकेनन्। तर दाइ गएर ती वृद्धको ज्यान जोगाउनु भो। त्यही गरेबापत धनसम्पत्तिसहित शरीर अंगभंग हुने गरी कारबाही भोग्नुपर्यो‍ दाइले। 

जुन घटना सधैं ताजै लाग्छ !

हामीसँग व्यक्तिगत स्वार्थ हुँदो हो त यो ठाउँसम्म पुग्ने अवस्था हुँदैनथियो सायद ! नेपाली जनताको साथ समर्थन अनि त्याग र बलिदानले ब्यवस्था त बदलियो तर उनीहरूको अवस्था भने जहाँको तहीँ छ। व्यवस्था बदल्न १७००० ले ज्यान गुमाउनुको अर्थ के ? श्रमिकहरूले हामीजसरी सम्पत्ति गुमाउनुको अर्थ के ? वृद्धआमाले छोराछोरी गुमाउनुको अर्थ के ? 

पति गुमाउनुको अर्थ के ? यी सारा सवालको जवाफ कसले कहिले दिने ?

खड्का हाल एकीकृत समाजवादीका युवा नेता हुन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.