भगवान्ले मलाई गीत गाउनकै लागि जन्माए

भगवान्ले मलाई गीत गाउनकै लागि जन्माए

गीत–संगीत एक प्रकारको उपचार पद्धति नै हो। झन्डै डेढ दशकदेखि गीत गाउँदै आएकी रितु कँडेल भन्छिन्, ‘जो नाच्न जान्दैन, त्यो हाँस्न जान्दैन, जो हाँस्न जान्दैन त्यो बाँच्न जान्दैन।’ जीवनको यो यथार्थमा गीत–संगीतको ठूलो भूमिका रहन्छ। उनै कँडेलसँग अन्नपूर्णकर्मी राजकरण महतोले गरेको कुराकानी :

अचेल केमा व्यस्त हुनुहुन्छ ?

अहिले मेलामहोत्सवको समय छ। त्यसैमा व्यस्त छु। गीत–संगीतको काम भइरहेको छ। नयाँ गीतहरू आइरहेका छन्।

मेलामहोत्सव कलाकारका लागि बम्पर उपहार जस्तै हो ?

जीवन धान्न यसले सहयोग गर्छ। अहिलेको मेला महोत्सवमा कलाको नाममा पैसा कमाउने काम मात्रै भइरहेको छ। पहिला–पहिला महोत्सवमा कलाकारलाई ठाउँ थियो र इज्जत पनि दिइन्थ्यो। त्यो अहिले छैन। कलालाई व्यापार बनाइएको छ।

किन यस्तो भयो ?

कलाकार धेरै भएर हो कि ? सामाजिक सञ्जालबाट धेरै कलाकार जन्मिएका छन्।

लोकप्रिय हुनु ठीक हो कि भाइरल ?

लोकप्रिय हुनु ठीक हो नि !

किन ?

जसले कलालाई बुझेर यस क्षेत्रमा लाग्नुभएको छ। उनाले कलाको मर्म बुझ्नुभएको छ। भाइरल भएर आएकाहरू खहरे खोला जस्तै हुन्। नटिक्ने नै बढी हुन्छ।

भाइरल हुन किन रहर लाग्छ ?

अहिले मान्छेलाई ‘क्वालिटी’ भन्दा ‘क्वान्टीटी’ चाहिएको छ। मान्छेलाई रातारात हिट हुनु छ। टिकटक त बन्यो भयो। तर, त्यसमा भ्युअर्स बढाउने र पैसा कमाउने होडबाजी चल्यो।

त्यसले असर के भयो ?

ठूलो असर पर्‍यो। केही कलाकार जान्ने हुनुहुन्छ। उहाँहरूले पैसा कमाउँदा ठीकै पनि भयो। उहाँहरूको गति युटुवभन्दा टिकटकमा भेटिन्थ्यो। त्यसले गीत हिट पनि भएको थियो। जो दु:ख गरेर कलामा लाग्नुभयो, उहाँहरूलाई नै गाह्रो भएको छ।

कलाकारलाई राज्यले हेरेको छ त ?

राज्यले खासै हेरेको छैन। भारतमा जस्तो कलाकारलाई मानिन्छ, त्यो नेपालमा छैन। भर्खरै मेनुका पौडेल भारतमा पुगेर प्रतिस्पर्धामा सहभागी भएपछि चर्चित बनिन्। तर, नेपालले उनलाई चिन्नै सकेन। आज उनको कलाको भारतले कदर गर्दै छ। भारतको देहरादूनमा कार्यक्रम गरेको थिएँ। त्यहाँका मन्त्रीहरू सँगै नाच्नुभयो। मन्त्रालयमा बोलाएर कार्यक्रम गर्नुभयो।

अनि हाम्रो देशमा चाहिँ ?

जब चुनाव आउँछ तब कलाकारलाई प्रयोग गरिन्छ। अरू बेला कलाकारको सम्मान पनि हुँदैन।

किन यस्तो हुन्छ ?

खै ! कला नबुझेर हो कि ? नेताहरू राजनीतिमा बढी व्यस्त भएर पो हो कि ?

अरू नि कारण छन् कि ?

शिक्षाको पनि कमि हो कि ? पढेर कला क्षेत्रमा आउने कलाकार कमै छन्। कलाकारमा पनि एकता छैन। नेताहरूसँग कलाकार र कलाकारिताको छलफल पनि हुँदैन।

अहिले किन पहिले जस्तो गीतका शब्द पनि ओजनदार छैनन् ? यो नहुँदा के असर पर्छ ?

एकदमै नराम्रो असर पर्छ। छाडा शब्दले ससाना बालबालिकामा असर पर्छ। हामीले भन्न नहुने शब्दहरू बालबालिकाले सुनिरहेका हुन्छन्। तिनको मनस्थितिमा ठूलो असर पारेको छ। अभिभावकसँग अहिलेका गीत हेरेर र सुनेर बस्न सकिँदैन। गीतका शब्द र दृश्यहरूले समाजलाई प्रदूषित बनाइरहेको छ।

यसको नियन्त्रण कसरी हुन्छ ?

सबै नागरिक सचेत हुनुपर्छ। नराम्रा कुराहरूलाई अगाडि आउनै दिनुहुँदैन। सरकारले टिकटकमा प्रतिबन्ध लगाउनु एकातिरबाट राम्रै कुरो हो। यसका लागि सबै सचेत हुनुपर्छ।

१५ वर्षको अवधिमा कति गीत गाउनुभयो ?

पाँच दर्जन एल्बम निकाले। धेरै गीत अरूसँग मिलेर गाएको छु।

तपाईंको सबैभन्दा लोकप्रिय गीत ?

ललितकला क्याम्पस पढ्दै थिएँ। त्यो बेला साथीले लेखेको गीत गाएँ पप। त्यो नै मेरो पहिलो गीत हो। आफ्ना सन्तान सबै राम्रा। मलाई मेरा सबै गीत मन पर्छन्।

गायन क्षेत्रमा सहज असहज कत्तिको छ ?

यस क्षेत्रमा प्रवेश गर्न कठिन भएकै हो। हरेक मोडमा कठिनाइ त छँदैछ। गीत बनाउने बेलाको अप्ठ्यारो मलाई पर्‍यो। गीत–संगीत दुवै कार्यमा झमेलाको अवस्था आइपर्नु उचित होइन। पहिले पैसा लिने तर काम ढिला हुनेजस्ता कठिनाइ छन्। आफ्नै लगानीमा ऋतुका फूलहरू नामको एल्बम निकालेँ।

गीत–संगीतले के दियो जस्तो लाग्छ ?

सन्तुष्टि। दर्शक, स्रोता कमाएँ। धेरैले चिन्नुहुन्छ, माया गर्नुहुन्छ। जिल्ला र अन्य ठाउँमा जाँदा रितु कँडेल भनेर पहिचान बनेको छ। जब स्टेज चढ्छु, आमावुवाहरूले आशीर्वाद दिनुहुन्छ। यो नै मेरो सम्पत्ति हो।

तपार्इंले कस्ता गीत गाउनुभयो ?

मलाई ‘स्याड सङ’ गाउन मन लाग्ने तर रोमान्टिक गीत बढी गाएको छु। कार्यक्रमहरूमा जाँदा मान्छेहरू दु:खी भइरहेको देख्छु। उनीहरूलाई स्याड गीत गाएर झन् दु:खी किन बनाउनु ? दु:खी मान्छेलाई त हँसाउनुपर्छ, ऊर्जा थपेर पठाउँछु। मान्छेको मनै त हो नि, कहिले जीवनमा उमंग र वसन्त आइरहेको हुन्छ, कहिले शिशिर। कहिले वर्षाजस्तो जीवन रुझिदिन्छ। अब छिट्टै स्याड सङ गाउँछु तर सबैलाई रुवाउने गीत।

किन ?

जीवनमा रुवाइको छुट्टै महत्व छ।

भनिन्छ, गीत–संगीत उपचार पनि हो। के सही हो ?

जब २०७२ सालमा काठमाडौं भूकम्प गयो, त्यसबेला सबै ठाउँ त्रसित र ग्रसित थियो। कसैको घर भत्कियो। कसैको परिवार बिते। त्यतिबेला मैले म्युजिक थेरापीबाट गराएँ। भक्तपुरदेखि टुँडिखेलसम्म संगीतमार्फत नाचगान गराएँ। गीतसंगीत वास्तवमै एक प्रकारको उपचार पद्धति र ओखती हो जीवनलाई रमाइलो बनाउने। भनिन्छ नि ! जो नाच्न जान्दैन, त्यो हाँस्न जान्दैन, जो हाँस्न जान्दैन त्यो बाँच्न जान्दैन।

कुन समयमा बढी सधाना गर्नुहुन्छ ?

बिहानको समयमा। बिहान ऊर्जा प्राप्त गर्न सकिन्छ। रातमा सबै थकान मेटिन्छ, दिमागले पनि आराम पाएको हुन्छ। बिहानको माहोल नै फरक हुन्छ। यो शान्त वातावरणमा रियाज गर्दा दिमागले छिट्टै टिप्छ।

देशको ओकाली–ओराली चढ्दा र झर्दा के महसुस हुन्छ ?

नेपालको प्रकृतिमा सुन्दरता छ। विदेशमा जाँदा हिमाल, पहाड र तराई हेर्न पाइँदैन। यहाँ त एकै ठाउँबाट सबै दृश्य नियाल्न पाइन्छ। हाम्रो माटोमा जता पनि केही रोपिदिनुस्, फलिहाल्छ।

किन गीत–संगीतलाई रोज्नुभयो ?

सानैदेखि गीत–संगीतमा रुचि थियो। गीत बज्दा नाच्न मन लाग्थ्यो। गुनगुनाउन मन लाग्थ्यो। साथीभाइ गीत गाउँथे। मेरा गुरुहरू पनि प्रोत्साहन गर्नुहुन्थ्यो। रोज्नेभन्दा पनि मनबाटै आउँदोरहेछ।

परिवारको कस्तो सहयोग छ ?

पहिला गीत–संगीत भनेर हिँड्न पाइँदैनथ्यो। पढ्नु पथ्र्यो। अहिले रियालिटी सोबाट धेरै कलाकार जन्मिएका छन्। उहाँहरूलाई धेरै स्वतन्त्रता छ। तर, हाम्रो बेलामा यस्तो थिएन। मान्छेहरू निकै संघर्ष गरेर आउँथे। गुरुङ, मगरलगायत जातजातिमा पहिलेदेखि नै नाच्ने, गाउने गरिन्थ्यो। बाहुन, क्षेत्रीमा नाच्ने, गाउनेलाई खासै राम्रो मानिँदैन थियो। 

कडा नियम थियो।

कसरी तोड्नुभयो कडा नियम ?

सानो दाइ डाक्टर हुनुहुन्थ्यो। बुवाको इच्छाचाहिँ छोरीलाई पनि डाक्टर पढाउने थियो। तर, मलाई गीत–संगीतले तान्थ्यो। तर, बुवा भन्नुहुन्थ्यो, ‘गीत–संगीतमा लाग्नुहुँदैन छोरी, तिमी व्यापारी बन्नुपर्छ। त्यसमा पैसा छ। गीत–संगीतमा दु:ख हुन्छ तिमीलाई।’ त्यसैले कमर्स पढेँ। तर, पनि गीत–संगीतले छोडेन। पछि ‘एयरहोस्टेज’ पनि पढेँ। जागिर पनि पाएँ इन्डिएन एयरलाइन्समा। पाएको जागिर पनि छोडेँ। बिजनेस गर्ने कुरा आयो। त्यसैबेला रेडियो नेपालमा अधिकृतको जागिर पनि पाएँ। त्यो पनि गरिनँ। भगवान्ले मलाई गीत गाउनकै लागि जन्माएका रहेछन् भन्ने लागेको छ।

अन्त्यमा ?

गाइरहेको छु, कमाइरहेको छु र गीतमै रमाइरहेको छु। मेरो सबैथोक यही नै हो।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.