४५ जना मुटुरोगीको निःशुल्क उपचार
स्याङ्जा (अन्नपूर्ण): पुतलीबजार नगरपालिका निवासी ४ वर्षीया एक बालिकाको मुटुको रोगको उपचार निःशुल्क हुने भएको छ । बालिकासहित उनका एक अभिभावकले काठमाडौंंमा उपचार गर्नका लागि आतेजाते, खानेबस्नेलगायत सम्पूर्ण उपचार निःशुल्क पाउने भएका हुन् ।
ती बालिकाको मुटुमा देखिएको समस्यालाई शल्यक्रियामार्फत उपचार गर्नका लागि सेभ द हर्ट नामक संस्थाले जिम्मेवारी लिएपछि परिवारले खुसी व्यक्त गरे । आर्थिक अभावकै कारण उपचार गर्न नसकेका त्यो परिवारले निःशुल्क उपचार पाउने भएपछि निकै खुसी देखिएका हुन् । यसैगरी, पुतलीबजारकै ७८ वर्षीया बृद्ध महिलालाई देखिएको मुटुको समस्या पनि शल्यक्रिया मार्फत उपचार हुने भएको छ । वर्षौंदेखि मुटुको समस्या झेल्दै आएका वृद्ध महिला पनि जीवनको उत्तराद्र्धमा उपचार गर्न पाउदा खुसी देखिइन् । पुतलीबजार नगरपालिका र सेभ द हर्टको आयोजना पुतलीबजारमा आयोजित २ दिने निःशुल्क मुटु परीक्षण स्वास्थ्य शिविरमा आएकामध्ये उनीहरू जस्तै भिन्दा भिन्दै उमेर समूहका ४५ जनाको निःशुल्क उपचार हुने भएको हो ।
शिविरमा मनमोहन कार्डियो थेरासिक, भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टर सहिद गंगालाल र नेपाल कार्डियो डायबेटिज एन्ड थाइराईड सेन्टरको प्राविधिक सहयोग तथा द हर्ट अफ चिल्ड्रेनको सपोर्ट रहेको छ । वर्षौंदेखि मुटुको समस्या झेल्दै आएका नगरबासीलाई लक्षित गर्दै विशेषज्ञसहितका ख्यातिप्राप्त प्राध्यापक डा.सहितको टिमसँग सहकार्य गर्दै निःशुल्क उपचार उपलब्ध गराइएको नगरप्रमुख तुलसीराम रेग्मीले जानकारी दिए ।उनले भने, ‘नगरबासीको स्वास्थ्यको ध्यान दिँदै आगामी दिनमा पनि यस्ता उपकारी सेवालाई निरन्तरता दिनेछौं ।’
शिविरमा मुटुरोगसम्बन्धी निःशुल्क परामर्श, इको कार्डियोग्राफी, ईसीजीका साथै निःशुल्क औषधिसमेत उपलब्ध गराइएको छ । शिविरमा ३ वटा इको मेसिन र २ वटा ईसीजी मेसिनद्वारा परीक्षण गरिएको थियो ।