वीरगन्जमा दोस्रो दिन पनि कर्फ्यु जारी
वीरगन्ज : कर्फ्यु जारी रहेकै अवस्थामा वीरगन्जको अवस्था तनावग्रस्त रहेको छ। सोमबार दुई फरक धर्म समुदायकाबीच विवाद भएपछि स्थानीय प्रशासनले वीरगन्ज महानगरपालिकामा सोमबार साँझ ५ देखि नै अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको थियो।
मंगलबार बिहान ६ बजेदेखि १० बजेसम्म सर्वसाधारणका किनमेलका लागि खुकुलो गरिएको कर्फ्यु बिहान १० बजेपछि पुन लागू गरिएको छ।
कर्फ्यु लागेपनि वीरगन्जका ठाउँठाउँमा हिन्दुवादीहरूले टायर बालेर प्रदर्शन गरेपछि अवस्था तनावग्रस्त बनेको हो। घडिअर्वा र गहवामा टायर बालेर प्रदर्शन गरेकाहरूलाई प्रहरीले लखेटेको छ। त्यसक्रममा घडिअर्वामा प्रदर्शनकारी र प्रहरीबीच सामान्य झडप भएको छ। त्यहाँबाट प्रहरीले चारजना युवालाई नियन्त्रणमा पनि लिएको छ।
बिहानैदेखि वीरगन्जका चोकचोकमा ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ।
रौतहटको ईशनाथ नगरपालिकाको मोतीपुरमा सरस्वतीको मूर्ति सेलाउने विषयलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच भएको विवादलाई लिएर वीरगन्जमा पनि सोमबारदेखि दुई फरक धर्म समुदायबीच तानाव सृजना भएको हो। सोमबार वीरगन्जको इदगाह चोकमा भएको झडपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका गरी ११ जना सुरक्षाकर्मी घाइते भएका थिए ।
यसअघि सोमबार दिउँसोदेखि केहि हिन्दुवादीहरूले प्रदर्शन गर्दै बजार बन्द गराउने क्रममा हिन्दुवादी र प्रहरीबीच झडप भएको थियो । यस्तै हिन्दुवादीहररूले बजार बन्द गराउने क्रममा केहि पसलमा तोडफोड गरेपछि मुस्लिम समुदायका एक समूहले अवरोध गर्न खोज्दा प्रहरीले हस्तक्षप गरेको थियो ।
त्यस्तै हिन्दुवादीहरूले जुलुश निकालेर बजार बन्द गराउँदै हिँडेपछि समूह बनाएर मुख्य सडकमा आएका मुस्लिम समुदायको एक समूहले आदर्शनगर र महावीरस्थानमा हिन्दु धर्मको झण्डा च्यात्न थालेपछि स्थिति तनावपूर्ण बनेको भएपनि प्रहरीले हस्तक्षप गरेर स्थिति नियन्त्रणमा लिएको थियो ।
तर त्यसपछि वीरगन्जकै इदगाह चोकमा मुस्लिम समुदायका केहि युवाहरूले सडकमा टायर बालेर प्रदर्शन गरिरहेका बेला प्रहरीले हस्तक्षप गर्दै लाठीचार्ज गरपछि स्थिति फेरि बिग्रिएको थियो । त्यसक्रममा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गरेको र प्रहरीले भिड तितरवितर पार्न १० राउन्ड बढी अश्रुग्यास प्रहार गरेको थियो ।
यसअघि हिन्दु समाज नामक समूहको अगुवाइमा हिन्दुवादीहरूले रौतहट,महोतरीलगायतका जिल्लामा हिन्दुमाथि अत्याचार भएको भन्दै त्यसमा संलग्नहरूलाई कारबाहीको माग गर्दै जिल्ला प्रशासन कार्यालय पर्सामा ज्ञापनपत्र बुझाएका थिए ।