कांग्रेस महासमिति बैठक
आगामी निर्वाचनमा विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गर्न कांग्रेसले निर्णायक पहल गर्ने
काठमाडौं :नेपाली कांग्रेसका उपसभापति एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले आगामी निर्वाचनमा विदेशमा रहेका नेपाली नागरिकहरूको मताधिकार सुनिश्चित गर्न कांग्रेसले निर्णायक पहल गर्ने दावी गरेका छन्। सोमबारदेखि सुरू भएको ललितपुरको गोदावरीमा महासमिति बैठकमा उपसभापति खड्काले पेश गरेको नीति-प्रस्तावमा उल्लेख छ।
उनले नेपालको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएका गैरआवासीय नेपाली समुदायको संविधानप्रदत्त हक,अधिकार र सुरक्षा प्रत्याभूत गरिने बताएका छन्। उपसभापति खड्काले विदेशमा आप्रवासी नेपालीहरूको दक्षता,कोशल र पूँजीलाई लोकतन्त्र र राष्ट्र निमार्णमा परिचालन गरिनुपर्नेमा जोड दिएका छन्।
'कामको सिलसिलामा विदेशमा रहेका आप्रवासी नेपालीहरूको दक्षता, कौशल र पूँजीलाई लोकतन्त्र र राष्ट्र निर्माणमा प्रभावकारी ढङ्गले परिचालन गरिने छ । साथै, सम्बन्धित मुलुकसँगको कुटनीतिक सम्बन्धका आधारमा उनीहरूको थप अधिकार र सुविधा वृद्धिका लागि पहल गरिने छ,'नीति प्रस्तावमा उल्लेख छ।
यसैगरी विभिन्न देशमा रहेका नेपालीहरूलाई संगठित गरी राष्ट्र निर्माणमा परिचालन गरिने नीति प्रस्तावमा भनिएको छ।
'नेपालीहरू विश्वभरि फैलिएका छन् । यस किसिमको फैलावट स्वदेशका लागि आर्थिक र बौद्धिक शक्तिको स्रोत हो । विश्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई संगठित गरी राष्ट्र निर्माणमा परिचालित गरिनेछ। कांग्रेसका समर्थक कार्यकर्ताहरूलाई संगठित गरी जनसम्पर्क समितिहरूको गठन गर्ने व्यवस्था छ । यो व्यवस्थालाई व्यावहारिक र पारदर्शी बनाउँदै संगठनका सदस्यहरूको क्षमता विकास गराउन तथा राजनीतिक चेतना अभिवृद्धि गराउन योग्य प्रशिक्षकहरू खटाई प्रशिक्षणको व्यवस्था गरिने छ,'नीति- प्रस्तावमा उल्लेख छ।